१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुनौली नाकाबाट आएकालाई नेपाल प्रवेश अनुमति

माधव ढुंगाना

(भैरहवा) — सुनौली नाका हुँदै नेपाल आएका ३१ जना नेपालीलाई क्‍वारेन्टाइनमा रहने गरी बिहीबार नेपाल प्रवेश अनुमति दिइएको छ ।

सुनौली नाकाबाट आएकालाई नेपाल प्रवेश अनुमति

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि भारत र नेपालमा लकडाउन गरिसकेपछि पनि सुनौली नाकामा आइपुगेका ती नेपालीले नेपाल आउने अनुमति पाएका थिएनन् । नेपाल आउने अनुमति नपाउने र भारततर्फ नै फर्काउने कुनै व्यवस्था नहुँदा ती सबैजना बुधबार बिहानदेखि अलपत्रमा परेका थिए ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नेपालीको क्‍वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई नेपाल आउने अनुमति बिहीबार १० बजेतिर दिइएको बताए । उनका अनुसार सिरयारी गाउँपालिकाको क्‍वारेन्टाइनमा १० जना, तिलोत्तमा नगरपालिकाको क्‍वारेन्टाइनमा ११ र शुद्धोधन गाउँपालिकाको क्‍वारेन्टाइनमा १० जना रहने गरी उनीहरुको उद्धार गरिएको हो ।


उद्धार गरिएकामध्ये झापा, लुम्बिनी, रुपन्देहीको मणिग्राम, नवलपरासीको कावासोती र पाल्पाका हुन् । उनीहरु भारतको बैंग्लोर, गुजरात र बनारसलगायत स्थानबाट आएका थिए । आउनेमध्ये ६ जना महिला थिए । जसमध्ये ४ जना विद्यार्थी र अन्य रोजगारीका लागि भारत गएका थिए ।


बुधबार बिहानदेखि भारततर्फको सुनौली सीमा नाकामै अलपत्रमा परेका ती नेपाली सुनौली बजार पनि पूर्णरुपमा बन्द रहेकाले भोकै र पानीसमेत पिउन नपाएर समस्यामा परेका थिए । उनीहरुलाई सिमावर्ती रुपन्देहीको बेलहियाका स्थानीय युवाले राति ११ बजेतिर बेलहियाको पसल खुलाएर २ कार्टुन जुस, ३ कार्टुन पानी, १ कार्टुन चाउचाउ र ६ पोका बिस्कुट उपलब्ध गराइएको स्थानीय रमेश थापाले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?