पाल्पाका तानसेन, रामपुर र तिनाउमा ४५ बेडको क्वारेन्टाइन तयार 

माधव अर्याल

पाल्पा — कोभिड–१९ का शंकास्पद बिरामीको उपचारका लागि पाल्पाका १० मध्ये तीन स्थानीय तहमा क्वारेन्टाइन कक्ष (बेड) तयारी भएको छ । बुधबार ४५ बेडको क्वारेन्टाइन बेड तयार भएको उनीहरुले जनाएका हुन् । 

पाल्पाका तानसेन, रामपुर र तिनाउमा ४५ बेडको क्वारेन्टाइन तयार 

जिल्लास्तरीय कोरोना संक्रमण तथा उपचार कार्यमा सहजीकरण गर्न गठित कार्य टोलीको आग्रहमा स्थानीय तहले बेड तयार गरेका हुन् । तानसेन नगरपालिकाले जनप्रिय माविमा ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । बुधबार १५ बेड मात्र तयार भएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए । पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालबाट सिफारिस भइ आएका बिरामी यहाँ राखिने स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

तानसेन

रामपुरमा २०, तिनाउमा १० र तानसेनमा १५ बेडको क्वारेन्टाइन तयार भएको उनीहरुले जनाएका छन् । रामपुर नगरपालिकाले २० बेडको क्वारेन्टाइन निर्माण सुरु गरेको बताइएको छ । रामपुर नगरपालिकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र अन्य सरोकारवालाको भेलाले रामपुर अस्पताल नजिक रहेको बालकल्याण प्रावि क्वारेन्टाइन बनाउन सुरु गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । बुधबार नै २० बेड तयार भएको छ ।


स्थानीय तहलाई जिल्ला प्रशासनले कम्तिमा मेट्रेस, बेडसिट र सिरानी साथै कम्बल खरिद गरेर राख्न आग्रह गरेको छ । ‘सबै स्थानीय तहमा कम्तिमा ५० बेडको क्वारेन्टाइन बनाउन आग्रह गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भने, ‘यसबाट भोलि के कसो गर्ने भन्ने हुन्न ।’ अधिकांश स्थानीय तहको स्वास्थ्य शाखामा थर्मोगन(ज्वरोमापन यन्त्र) छैन । बगनासकाली गाउँपालिकाले क्वारेन्टाइनका लागि चापपानीको चन्द्रमावि र चिर्तुङधाराको ग्राम्य माविको भवन प्रयोग गर्ने योजना बनाएको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।


रिब्दिकोट गाउँपालिकाले सरस्वती माविमा क्वारेनटाइन बनाउने तयारी गरेको छ । अध्यक्ष नारायणबहादुर जीसीका अनुसार पुरानो स्वास्थ्य चौकीमा तीन र सरस्वती माविमा तत्कालका लागि १० बेडको तयारी गरेको । तिनाउ गाउँपालिकाको दोभान माविमा १० बेडको क्वारेन्टाइन तयार गरेको प्रवक्ता राजेश श्रेष्ठले बताए । रैनादेवी छहरा गाउँपालिकाले पालिका नजिकै भवनमा ६ वटा तयारी र थप १० को तयारी गर्दै गरेको अध्यक्ष रामबहादुर कार्कीले बताए ।

माथागढी गाउँपालिकाले क्वारेन्टाइनका लागि किसान माविको पुरानो भवनमा ३० बेड राख्ने तयारी गरेको अध्यक्ष सन्तोष थापाले बताए । उनका अनुसार सामाग्री खरिद गर्ने तयारीमा छ । उनले हेल्थ डेस्क राख्न खोज्दा थर्मोगन नपाएर समस्या परेको बताए ।


तिनाउ

आइसोलेसनका लागि रुप्से स्वास्थ्य चौकीमा तयारी गर्ने निर्णय गरेको छ । पूूर्वखोला गाउँपालिकाले पनि अहिलेसम्म तयारी नभएको र उद्वुद्ध कलेजसँग भवनका लागि छलफल भइरहेको अध्यक्ष नुनबहादुर थापाले बताए । रम्भा गाउँपालिकाले ताहुँको जनता प्राविमा ३५ बेडको बनाउने तयारी गरेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रसँगको सल्लाह अनुसार तयार गरिने उनले बताए ।


निस्दी गाउँपालिकाले क्वारेनटाइनका लागि तयारी गरेको छैन । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार गौरीशंकर माविका भवन प्रयोग गर्ने तयारी भएको बताए । स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाका तराईबाट आउनेहरुका लागि हेल्थ डेस्क बनाएको छ । मिसन अस्पतालमा तीन, लुम्विनी मेडिकल कलेजमा १० र पाल्पा अस्पतालमा १० बेड तयारी अवस्थामा छन् ।

प्रकाशित : चैत्र १२, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?