क्‍वारेन्टाइनबाट 'भागे' भारतबाट आएका नेपाली

मधु शाही

नेपालगञ्ज — सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्‍वारेन्टाइनबाट 'भागेका' छन् ।



जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए।

निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन्। 'कोही खेतमा पुगेर लुके कोही टेम्पु चढेर हिँडे, हामीले रोक्‍न सकेनौं,' एक प्रहरीले भने।

बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो। क्‍वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए। ठूलो संख्यामा आइपुग्दा क्‍वारेन्टाइनस्थलमा रहेका सबैजना निस्किइसकेका थिए।

क्‍वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको बताइन्। 'सीमामा अलपत्र परेका ५ सय ४० जनालाई ल्याएर राखेका थियौं। हामीले व्यवस्था मिलाउँदै थियौं, उहाँहरु भागिसक्‍नुभएछ,' थापाले भनिन्।


सिडिओ भन्छन्- 'हाम्रो रेकर्डमा भएका सबै छन्, को भाग्यो मलाई थाहा छैन'

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख कुमारबहादुर खड्काले भने भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको अस्वीकार गरे । 'हामीले क्‍वारेन्टाइनमा राखेका नेपाली हाम्रो रेकर्डमा छन् । बसै सुरक्षित छन् । को भाग्यो मलाई थाहा छैन,' उनले भने । उनले यस्तो बताए पनि बिहान दस बजे रुपैडियाँ-जमुनाहाबाट ल्याइएका नेपाली दिउसो तीन बजे भागेका थिए । यसको भिडियोसमेत कान्तिपुरले प्राप्त गरिसकेको छ ।


प्रकाशित : चैत्र १०, २०७६ १६:०९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रोकिएन गड्डा चौकी नाकामा भारतबाट फर्किने क्रम 

भवानी भट्ट

कञ्चनपुर — कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि नाकामा आवागमन बन्द गर्ने भनेपनि कञ्चनपुरको गड्डा चौकी नाकामा भने भारतबाट घर फर्किने क्रम भने जारी रहेको छ । सोमबार पनि नेपाली कामदारको आउने क्रम चलिरहेको छ । 

बिहानको समयमा नेपाल भित्रिनेको संख्या कम भएपनि दिउँसो भने भीडभाड बढेको छ । भारततर्फ उत्तराखण्डमा ‘लकडाउन’ गरिएको छ । तर पनि नेपाल भित्रिने क्रम भने रोकिएको छैन । ‘अहिले पनि भीडभाड नै छ, हामी जाँचमै छौं’ हेल्थ डेस्ककी इन्चार्ज अनमी निर्मला जोशीले भनिन्, ‘बिहान भन्दा दिउँसोको समयमा भीड बढी छ ।’

दिउँसो पुगेका यात्रुहरुलाई भने सीमा क्षेत्रमै रोकिएको छ । उनीहरुको नाम, ठेगाना संकलनदेखि जाँच गरेर राखिएको छ । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गृह मन्त्रालयको अनुमतिपछि मात्रै भित्रिन दिइने बताए ।

आइतबार रातिदेखि स्थानीय प्रशासनले अत्यावश्यक उपचारको काम बाहेक बाहिर ननिस्कन भने पनि प्रशासनको निर्णय अटेरी गर्दै सर्वसाधारण भने घर बाहिर निस्केकै छन् । बजार बन्द भएपनि ओहोरदोहोर भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले भीड नियन्त्रणका लागि उक्त निर्णय गरिएको बताए । यसले बजार क्षेत्रमा भीडभाड नियन्त्रण भएको र आगामी दिनमा थप कडाइ गर्दै लगिने उनले बताए । ‘हामीले भीड नियन्त्रणका लागि यो निर्णय गरेका हौं’ उनले भने, ‘बजारमा भीड घटेको छ, व्यापार व्यवसाय बन्द भएको छ ।’

प्रकाशित : चैत्र १०, २०७६ १६:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×