कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बुटवलमा ४८ बेडको कोरोना विशेष अस्पताल

अमृता अनमोल

(बुटवल) — बुटवलमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको छ । कोरोना संक्रमण भएका र आशंका गरिएका बिरामीलाई निगरानीमा राखेर उपचार गर्न अस्थायी अस्पताल स्थापना गरिएको हो ।

बुटवलमा ४८ बेडको कोरोना विशेष अस्पताल

लुम्बिनी प्रादेशिक अस्पतालको सहयोगमा बुटवल उपमहानगरपालिकाले अस्पताल बनाएको हो । रामनगरस्थित बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका दुई हलमा अस्पतालको संरचना छ । त्यसमा ४८ बेड छन् । सुरुमा १ सय बेड राख्ने तयारी गरिएको थियो । बेडको दूरी कम्तीमा ३ फिट टाढा राख्नुपर्ने भएपछि ४८ बेडमात्र राखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्ट डा. राजेन्द्र खनालले बताए ।


अस्पतालको आइतबार दिउँसो विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले अनुगमन गरेका छन् । अनुगमनपछि लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी खटिएका छन् । जसमा एक बिरामी २ स्वास्थयकर्मी खट्नेछन् । प्रादेशिक अस्पतालले रिफर गरेका बिरामी मात्र यहाँ राख्ने मेसु खनालले बताए । प्रादेशिक अस्पतालमा अहिलेसम्म शंकास्पद ८ बिरामी आएका छन् । त्यसमध्ये ५ जनामा नेगेटिभ रिपोर्ट आएको छ । बाँकी ३ जनालाई आइतबार राति वा सोमबार बिहानदेखि यही अस्पतालमा ल्याउने मेसु खनालले बताए ।


अस्पतालको बाहिर निगरानी कक्ष छ । त्यसबाहिर एक्कासी धेरै बिरामी आए राख्न मिल्नेगरी बेड राखिएको छ । छेउमा कार्यालय बनाइएको छ । अस्पताल अगाडि बिरामीले प्रयोग गर्नुपर्ने टवेल, सावुन, भाँडाकुँडा ल्याइएका छन् । उनीहरुलाई खुवाउन चमेना गृह बनाइँदै छ । पानी महिला पुरुषका लागि छुट्टाछुट्टै वाथरुम छन् । केही पर २० वटा अस्थायी शौचालय बनाइएको छ । शौचालय लुम्बिनी निर्माण व्यवसायी संघले बनाइदिएको हो ।



अस्पतालमा बेड निजी अस्पतालले सहयोग गरेका हुन् । अस्पतालभित्र र बाहिरका संरचना बनाउन विभिन्न सामाजिक संघसंस्थाले सहयोग गरेको नगरप्रमुख शिवराज सुवेदीले बताए । अस्पतालमा एउटा भेन्टिलेटर छ । सोमबारसम्म निजी अस्पतालसँग समन्वय गरेर ७ वटा भेन्टिलेटर राखिने छ । अस्पताल बाहिर छुट्टै कोरोना विशेष एम्बुलेन्स राखिने छ । अस्पतालबाट बिरामी ल्याउन तथा यहाँ उपचार हुन नसक्ने र आईसीयुमा राख्नुपर्ने बिरामीलाई भैरहवाको भीम अस्पतालमा लैजान एम्बुलेन्स प्रयोग हुने मेसु सुवेदीले जनाए ।


प्रदेश ५ मा आइतबारसम्म कोरोना आशंका गरिएका १३ बिरामी अस्पताल आएका छन् । त्यसमध्ये ९ जनामा नेगेटिभ भेटिएको छ । कोरोना आशंकाका बिरामीलाई उपचार गर्न प्रदेश सरकारले यसबाहेक ५ स्थानमा कोरोना आइसोलेसन विशेष अस्पताल बनाउने निर्णय गरेको छ । त्यसमध्ये भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पताल र बाकेको अर्बुद रोग अस्पतालमा ३० बेडका आईसीयुसहितका अस्पतालका प्रारम्भिक संरचना बनाउन सुरु गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । उनका अनुसार मंगलबारदेखि त्यहाँ पनि सेवा सुरु हुनेछ ।


प्रदेशका १८ स्थानमा स्वास्थ्य हेल्थडेक्स छन् । तिनमा आइतबार बिहानसम्म १ लाख २१ हजारको स्क्रीनिङ गरिएको छ । तिनमा शंकास्पद भने भेटिएका छैनन् । सीमा बन्द गरिए पनि लुकीछिपी संक्रमण फैलिएको भारतीय सहरबाट नेपालीहरु आउन छोडेका छैनन् । ‘यस्तोमा एक्कासी संक्रमण देखिइहाले त्यसलाई फैलन नदिन र बिरामीको आत्मबल बढाउन कोरोना विशेष अस्थायी अस्पताल सहयोगी बन्नेछन्,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले भने,‘यद्यपि कोरोनाबाट बच्ने सबैभन्दा राम्रो उपाय अत्यावश्यक कामबाहेकमा घरबाहिर ननिस्कनु नै हो ।’


प्रकाशित : चैत्र ९, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?