बाल विवाहमा संलग्‍न तीन पक्राउ

दुर्गालाल केसी

दाङ — बबई गाउँपालिकामा प्रहरीले बाल विवाहमा संलग्‍न ३ जनालाई पक्राउ गरेको छ । वडा नम्बर ६ चिसापानीस्थित कालिका मन्दिरमा बाल विवाह भइरहेको बेला प्रहरीले शुक्रबार बेलुका दुलाहा, पण्डित र मध्यस्थकर्तालाई पक्राउ गरेको हो ।

बाल विवाहमा संलग्‍न तीन पक्राउ

तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाकी १५ वर्षीया बालिकासँग विवाह गर्न लागेका दुलाहा तुलसीपुर १३ ढकनाका ३० वर्षीय घनश्याम बस्नेत, केटी फकाउने शान्तिनगर–७ बुराडाबरकी २६ वर्षीया माया भण्डारी र पुजारी बबई गाउँपालिका ६ पञ्चकुलेका ४९ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् ।


पक्राउ परेका तीनै जनाविरुद्ध बाल विवाह ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालले बताए ।


केही दिनअघि घोराही उपमहानगरपालिका १४ ढोडेनीमा भएको बाल विवाहमा संलग्नलाई पनि मुद्दा चलाइएको छ । घोराही १३ सेवार निवासी ३० वर्षीय कृष्णबहादुर केसीले ढोडेनी निवासी १८ वर्षीया बालिकासँग विवाह गर्दै गरेको बेला प्रहरीले दुलाहा केसी र दुलहीका बुवा ४६ वर्षीय वसन्त भण्डारीलाई पक्राउ गरेको थियो ।


उनीहरुविरुद्ध मुलुकी (अपराध संहिता) ऐन २०७४ को दफा १७३ बमोजिम बाल विवाह गर्न नहुने कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?