१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोनाको जोखिम: अस्पतालमै हेलचेक्य्राइँ

मूल गेटदेखि नै भीड, न सेनिटाइजर न त साबुनपानीले हात धुने व्यवस्था

तिलोत्तमा, कपिलवस्तु — सरकारी तथा निजी अस्पताल स्वास्थ्यका हिसाबले अति संवेदनशील क्षेत्र हुन् । तर, यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासमा देखिन्छन् ।

कोरोनाको जोखिम: अस्पतालमै हेलचेक्य्राइँ

अस्पतालले बिरामी आउँदा होस् वा कुरुवा बस्दा, सेनिटाइजर प्रयोग र हात धुने व्यवस्था गरेका छैनन् । मास्क लगाउने गरिएको छैन । यहाँका निजी तथा प्रादेशिक अस्पतालले सेनिटाइजर प्रयोगको सुविधा दिएका छैनन् । अस्पतालमै कार्यरत चिकित्सक तथा सहयोगी यस्तो बेला बिरामीको उपचार गर्न पनि डराइरहेको बताउँछन् ।

डाक्टरलाई रिपोर्ट देखाउन नयाँगाउँबाट बुटवल आएका नारायण बन्जाडेले क्याबिनमा छिर्दासमेत डाक्टरले सेनिटाइजर र मास्क प्रयोग गर्न नभनेको बताए । ‘अस्पतालमा त्यो सुविधा अत्यावश्यक हो,’ उनले भने, ‘नाफा कमाउन खुलेका अस्पताललाई के मतलब !’

रुद्रपुर, हरैयाकी लीलादेवी ढुंगानाले समेत अस्पतालमा सेनिटाइजर र हात धुने व्यवस्था नभएको बताइन् । ‘सानी नातिनी बिरामी भएर उपचार गर्न ल्याइयो,’ उनले कान्तिपुरसित भनिन्, ‘उल्टै झन् रोग थपिने डर भो ।’ सरकारले भनेको कुरा लागू गर्न नसक्दा नागरिक मारमा परेको उनले सुनाइन् । तीन दिनदेखि बिरामी कुरुवा बसेका नत्थुराम क्षत्रीले अस्पतालमा बस्नै डर लागेको बताए ।

‘कुर्न बस्दा आफैंलाई असर गर्छ कि जस्तो भइसक्यो,’ उनले भने, ‘छिटो डिस्चार्ज गरेर घर लैजान पाए हुन्थ्यो ।’ अस्पताल परिसर सफाइ गर्दा हाइजनिक स्प्रिट प्रयोग गरिने भएकाले सेनिटाइजर प्रयोग नगरिएको हुन सक्ने नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाका महासचिव सन्तोष पोखरेलले बताए । ‘केही अस्पतालले सेनिटाइजर उपलब्ध गराएका छन्,’ उनले भने, ‘सबैले राखे राम्रो हो ।’

कपिलवस्तुका विभिन्न अस्पतालको अवस्था पनि उस्तै छ । यहाँको जिल्ला अस्पतालमै सतर्कता अपनाइएको छैन । सदरमुकाम तौलिहवामा रहेको जिल्ला अस्पताल प्रवेश गर्न कुनै रोकतोक छैन । सहज प्रवेश छ । सेनिटाइजर तथा साबुन पानीले हात सफा गर्ने र ज्वरो नाप्ने गरिंदैन । अस्पताल प्रवेश गर्ने मूल गेटदेखि नै भीड छ । त्यहाँ जाने एक/दुई जना बिरामीबाहेक कसैले मास्क लगाएको देखिंदैन । अस्पतालका कर्मचारी पनि मास्क लगाउँदैनन् ।

शंकास्पद बिरामी भेटिए थप स्क्रिनिङका लागि चिकित्सकको टोली बनाइएको छैन । अस्पताल पुग्ने बिरामीको सुरुमै स्क्रिनिङ नहुँदा संक्रमणको ठूलो त्रास छ यहाँ । कपिलवस्तु नगरपालिका–६, बर्मेली टोलका अनिल क्षत्रीले जिल्ला अस्पतालमा सबै बिरामी एकै ठाउँमा बस्नु पर्ने अवस्था रहेको बताए । ‘लाइन लागेर ठेलमठेल गरी ओपीडीको टिकट काट्नु पर्छ,’ उनले भने, बाहिरको के कुरा अस्पताल स्वयं उच्च जोखिममा छन् ।’

डाक्टरले सामान्य किसिमका मास्क लगाएका छन् । अस्पतालले २ हजार ५ सय पिस मास्क खरिद गर्न चाहे पनि बजारमा नपाइएको अस्पताल प्रशासक रत्नाकर शुक्लाले बताए । ‘बल्लतल्ल २ सय ५० पिस पाइयो,’ उनले भने, ‘तिनै मास्क डाक्टरलाई बाँडेका हौं ।’ साधनस्रोतले भ्याएसम्म सुरक्षा सतर्कता अपनाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । अस्पतालले आफ्ना ३ वटा कोठामा ६ बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ । बिरामी आउनासाथ व्यवस्थित बनाउने प्रशासक शुक्लाले बताए ।

संक्रमितको नजिक बस्दा र उसले प्रयोग गरेको सामान छुदा पनि कोभिङ–१९ सर्ने चिकित्सकको भनाइ छ । त्यसबाट बच्न चिकित्सकलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) चाहिन्छ । पीपीईमा गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा, बुटलगायत हुन्छन् । यी सामग्री एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन । तर, यहाँ मास्क, पन्जा, एप्रोन र चस्माजस्ता न्यूनतम सामग्री नै छैनन् । ‘प्रदेशको आपूर्ति महाशाखासँग माग गर्दा गर्दै थाकिसक्यौं,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘माग गरेकै महिना दिन हुन लाग्यो, अझै आएको छैन ।’

सरकारी कार्यालय अपवाद

बुटवल–११ की लक्ष्मी राई बिहीबार विद्युत् महसुल बुझाउन प्राधिकरणको कार्यालय पुगिन् । मुख्य द्वारबाट छिर्नेबित्तिकै सेनिटाइजरले हात सफा गरिन् । प्रवेशद्वारमा उभिएका कर्मचारी टकबहादुर गुरुङले उनलाई सेनिटाइजर प्रयोग गर्न र साबुन पानीले हात धुन सुझाएका थिए ।

कोभिड–१९ को संक्रमणबाट जोगाउन कार्यालयले सेवाग्राहीलाई हात सफा गर्ने सुविधा उपलब्ध गराएकामा खुसी लागेको राईले बताइन् । ‘हात नधोए कोरोना लाग्ने प्रचार छ,’ उनले भनिन्, ‘यस्तो सुविधा मन पर्‍यो ।’ उनीजस्तै महसुल बुझाएर फर्किएका रमेश हरिजनले कार्यालयले प्रदान गरेको सुविधाले ग्राहकमा थप चेतना जगाउने बताए ।

दिनमै चार सयभन्दा बढी ग्राहक आउने उक्त कार्यालयमा गुरुङले हरेक ग्राहकलाई सेनिटाइजर प्रयोग गरेर मात्र काउन्टर या अन्य शाखामा प्रवेश गर्न दिन्छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको कार्यालयमा प्रवेश गर्नुअघि ज्वरो नाप्ने र सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अटो सेनिटाइजेसन मेसिनबाट हात सफा गर्नेर् व्यवस्था मिलाइएको छ ।


बुटवलमा ३४ बेड

बुटवल उपमहानगरले कोभिड–१९ विरुद्ध क्वारेन्टाइनका लागि चार सामुदायिक विद्यालयका ४० कोठा व्यवस्थापन गरेको छ । बुधबार विशेषज्ञहरूको टोलीले यसको निरीक्षणसमेत गरिसकेको छ । आइसोलेसन सञ्चालन गर्नुपर्ने अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालसहित निजी अस्पतालमा ३४ वटा बेड तयार राखिएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

‘स्थायी आइसोलेसनका लागि बन्द अवस्थामा रहेको बुटवलको धागो कारखानाका उपयुक्त भवन प्रयोग गर्ने गरी प्रदेश सरकारलाई काम गर्न सिफारिस गरेका छौं,’ उनले भने । लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर भई वा सिफारिस भई आएका बिरामीलाई मात्र निजी तथा सामुदायिकमा भर्ना गरिनेछ ।

प्रकाशित : चैत्र ७, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?