असिना थुप्रिएपछि सडक अवरुद्ध- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिना थुप्रिएपछि सडक अवरुद्ध

वीरेन्द्र केसी

अर्घाखाँची — असिना थुप्रिएपछि सन्धिखर्क–गोरुसिंगे सड्क अवरुद्ध भएको छ । आइतबार बिहान सन्धिखर्कबाट बुटवल र काठमाडौ छुटेका गाडी नरपानी दहखोलामै रोकिएका छन् ।

शनिबार राति परेको असिना पानीको सन्धिखर्कको फुदवाङमा सडक माथिबाट आएको पहिरो बिहानै हटाएर बाटो खुल्ला गरे पनि रातामाटा र नरपानी क्षेत्रमा असिना थुप्रिएकाले गाडी चल्न नसकेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

असिनाका कारण नरपानीदेखि ठाडासम्म बाटो अवरुद्ध छ । घाम लागेर पग्लेपछि मात्रै गाडी चल्न सक्‍ने उनले बताए ।


'लामो दूरीसम्म असिना भएकाले हटाउन संभव छैन,' उनले भने । असिनाले जिल्लाका धेरै ठाउँका तरकारी फार्म, अन्नबाली नोक्सान गरेको छ ।





प्रकाशित : चैत्र २, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

चिटिक्क बल्कोट पौवा

वीरेन्द्र केसी

अर्घाखाँची —  छत्रदेव गाउँपालिका–२ स्थित ऐतिहासिक बल्कोट पौवा चिटिक्क पारिएको छ । सातवटा ठूला भवन सिँगारिएका छन् । चर्किएर जीर्ण बनेका भवन मर्मत गरिएको छ । पौवामा रंगरोगन, भत्किन आँटेका कोठा टालटुल, पर्खाल निर्माण, भुँइमा दूबोसहितको चौर निर्माण गरिएको छ । बहुमूल्य धातु जडित पौवा हेर्नलायक बनाएपछि पर्यटक आउने क्रम बढेको स्थानीयले बताए । 

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले शासनसत्ता हातमा लिएपछि उनका जेठान सनकसिंह कर्नेलले विसं १९०९ मा बल्कोट पौवा निर्माण गरेका थिए । मथुरामा जन्मेका जंगबहादुरको यहाँ न्वारन गरिएको बूढापाका बताउँछन् । मथुरामा लामपाटी पौवा र न्वारन भएको ठाउँमा बल्कोट पौवा निर्माण गरिएको हो । अहिले दुवै पर्यटकीय स्थलका रूपमा परिचित छन् । संरक्षण अभावमा यहाँका भवन जीर्ण बनेका थिए । केही वर्ष पहिले पौवा संरक्षण गर्न भन्दै महायज्ञ लगाइए पनि कसैले चासो दिएका थिएनन् । पुरातत्त्व विभागद्वारा पाँच लाख, प्रदेश सरकारबाट २५ लाख र छत्रदेव गाउँपालिकाद्वारा दुई लाख रुपैयाँ सहयोग दिएपछि पौवालाई मर्मत गरी नयाँ रूप दिइएको छत्रदेव गाउँपालिका–२ का वडाध्यक्ष राजेशकुमार पन्थीले बताए ।

पौवाभित्र अन्य नयाँ संरचना बनाइँदै छ । बगैंचा, पानीका फोहोरा, भजन गाउने, नाचगान गर्ने स्थल लगायत संरचना बन्दै छन् । माओवादी द्वन्द्वका बेला यहाँका घण्ट र मूर्ति चोरी भएका थिए । ढोकामा सजाइएका कलाकृति मेटाइएका थिए । पौवाको अर्को भवनमा वडा कार्यालय छ । जनप्रतिनिधिले दैनिक रेखदेख गरेर छिट्टै मर्मत गर्न सम्भव भएको हो । ‘ऐतिहासिक कलाकृतिसहितको पुरानो संरचना नै यही पौवा हो,’ वडाध्यक्ष पन्थीले भने, ‘यसलाई अब जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै छौं ।’

पौवाभित्र बैठक कक्षसमेत छ । जिल्लाको पूर्वी क्षेत्रको गहनाका रूपमा रहेको बल्कोट पौवालाई थप व्यवस्थित बनाउन आउँदो वर्ष पनि बजेट छुट्याएर नमुना बनाइने छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । ‘रंगरोगनपछि पौवा टाढैबाट पनि चिटिक्क देखिएको छ,’ उनले भने, ‘पछिल्लो समय पौवा हेर्न आउने पर्यटक बढेका छन् । पौवा नमुना बनेपछि भीडभाड अझ बढ्नेछ ।’

प्रकाशित : फाल्गुन २६, २०७६ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×