कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चिटिक्क बल्कोट पौवा

वीरेन्द्र केसी

अर्घाखाँची —  छत्रदेव गाउँपालिका–२ स्थित ऐतिहासिक बल्कोट पौवा चिटिक्क पारिएको छ । सातवटा ठूला भवन सिँगारिएका छन् । चर्किएर जीर्ण बनेका भवन मर्मत गरिएको छ । पौवामा रंगरोगन, भत्किन आँटेका कोठा टालटुल, पर्खाल निर्माण, भुँइमा दूबोसहितको चौर निर्माण गरिएको छ । बहुमूल्य धातु जडित पौवा हेर्नलायक बनाएपछि पर्यटक आउने क्रम बढेको स्थानीयले बताए । 

चिटिक्क बल्कोट पौवा

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले शासनसत्ता हातमा लिएपछि उनका जेठान सनकसिंह कर्नेलले विसं १९०९ मा बल्कोट पौवा निर्माण गरेका थिए । मथुरामा जन्मेका जंगबहादुरको यहाँ न्वारन गरिएको बूढापाका बताउँछन् । मथुरामा लामपाटी पौवा र न्वारन भएको ठाउँमा बल्कोट पौवा निर्माण गरिएको हो । अहिले दुवै पर्यटकीय स्थलका रूपमा परिचित छन् । संरक्षण अभावमा यहाँका भवन जीर्ण बनेका थिए । केही वर्ष पहिले पौवा संरक्षण गर्न भन्दै महायज्ञ लगाइए पनि कसैले चासो दिएका थिएनन् । पुरातत्त्व विभागद्वारा पाँच लाख, प्रदेश सरकारबाट २५ लाख र छत्रदेव गाउँपालिकाद्वारा दुई लाख रुपैयाँ सहयोग दिएपछि पौवालाई मर्मत गरी नयाँ रूप दिइएको छत्रदेव गाउँपालिका–२ का वडाध्यक्ष राजेशकुमार पन्थीले बताए ।


पौवाभित्र अन्य नयाँ संरचना बनाइँदै छ । बगैंचा, पानीका फोहोरा, भजन गाउने, नाचगान गर्ने स्थल लगायत संरचना बन्दै छन् । माओवादी द्वन्द्वका बेला यहाँका घण्ट र मूर्ति चोरी भएका थिए । ढोकामा सजाइएका कलाकृति मेटाइएका थिए । पौवाको अर्को भवनमा वडा कार्यालय छ । जनप्रतिनिधिले दैनिक रेखदेख गरेर छिट्टै मर्मत गर्न सम्भव भएको हो । ‘ऐतिहासिक कलाकृतिसहितको पुरानो संरचना नै यही पौवा हो,’ वडाध्यक्ष पन्थीले भने, ‘यसलाई अब जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै छौं ।’


पौवाभित्र बैठक कक्षसमेत छ । जिल्लाको पूर्वी क्षेत्रको गहनाका रूपमा रहेको बल्कोट पौवालाई थप व्यवस्थित बनाउन आउँदो वर्ष पनि बजेट छुट्याएर नमुना बनाइने छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । ‘रंगरोगनपछि पौवा टाढैबाट पनि चिटिक्क देखिएको छ,’ उनले भने, ‘पछिल्लो समय पौवा हेर्न आउने पर्यटक बढेका छन् । पौवा नमुना बनेपछि भीडभाड अझ बढ्नेछ ।’

प्रकाशित : फाल्गुन २६, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?