२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दूधबाट स्वरोजगार

माधव अर्याल

(पाल्पा) — तानसेन नगरपालिका–१३, बौघागुम्हा छेलुङ्की मीना पाण्डेय व्यावसायिक गाईपालक हुन् । उनका गोठमा आठवटा जर्सी गाई छन् । वर्षाको समयमा तानसेनसम्म दूध पठाउन उनलाई हम्मेहम्मे पर्छ । त्यसैले अब गाउँमै दूधका परिकार बनाउने योजना बनाएको उनले बताइन् । ‘पानी पर्नासाथ कच्ची बाटोमा दूध पठाउन सकिँदैन,’ उनले भनिन्, ‘बजारसम्म पुर्‍याउने समस्या समाधान गर्न अब घरमै दूधका परिकार बनाउन थालेकी छु ।’ 

दूधबाट स्वरोजगार

अब गाउँमा व्यावसायिक किसान मात्र होइन, उद्यमी पनि बन्न थालेको उनले बताइन् । ‘गाउँले अब दूध र दूधजन्य परिकार बनाउन सक्ने भएका छन्,’ उनले भनिन्, ‘गाउँमै बसेर उद्यमी बन्ने अवसर मिलेको छ ।’ तानसेन नगरपालिका–११, बन्दीपोखराका केशव भाट पनि ६ वटा गाई र एउटा भैंसी पाल्छन् । दूध बजारमा पठाउनेभन्दा गाउँमै परिकार बनाउन थालेका छन् । ‘सहयोगी संस्थासँग ऋण र केही आफ्नै लगानी गरेर व्यवसायी बन्ने सोचलाई अगाडि बढाएको छु,’ उनले भने । गाउँगाउँमा दूधजन्य परिकार बनाउन पाण्डेय र भाटमात्र होइन, १६ जना किसान अघि बढेका छन् ।


तानसेन नगरपालिकाले व्यावसायिक बन्न चाहने युवालाई गाई, भैंसीपालन गर्नेलाई सीप हस्तान्तरण गरेको छ । तानसेन नगरपालिकाभित्रका १६ जना ग्रामीण भेगका किसान उद्यमी बन्न सक्षम भएको जय किसन डेरीका सञ्चालक टीकाराम खरालले बताए । ‘गाउँले किसान दूध र दूधजन्य परिकार बनाउन अहिले सक्षम भएका छन्,’ उनले भने, ‘सिकेको सीपलाई व्यवहारमा उतार्न अहिले किसान मरिमेटेर लागेको पाएको छु ।’ गाउँमै दही, घिउ, छुर्पी, पनिर, बटर, कुल्फीलगायत सामग्री तयार हुन थालेका छन् । गाउँमा बिकेन भने त्यसलाई बिक्री गर्नसमेत सघाउने खरालले बताए । सुरुमा व्यावसायिक बन्न समस्या भए पनि बिस्तारै यसमा बानी पर्ने उनले बताए ।


तानसेन नगर क्षेत्रका किसानका लागि नगरपालिका, ग्रामीण आर्थिक विकास संघ (रेडा) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले युवा उद्यमी बनाउन सीप सिकाएको हो । उनीहरूले दूध र दूधजन्य परिकारलाई व्यावसायीकरण गर्दै गाउँमै उद्यमी बन्ने उपाय सिकेका हुन् । तालिमपछि उनीहरूलाई सहुलियत ऋण दिएर गाउँमै व्यावसायिक बनाउने योजना नगरपालिकाको रहेको नगर प्रमुख अशोककुमार शाहीले बताए । ‘अहिलेको जाँगरलाई जोगाइराख्न सकियो भने गाउँमा समृद्धि आउनेछ,’ उनले भने, ‘सिकेको सीपलाई अहिले जुन तवरबाट काममा लगाइएको छ, त्यसलाई जोगाइराख्न फलोअप गरिनेछ ।’


प्रमाणपत्रका आधारमा नगरपालिकाले सहुलियत दरमा बैंकमार्फत ऋण दिने गरेको नगर प्रमुख शाहीले बताए । यसबाट नगरपालिकाभित्रका उद्यमी बन्न चाहने किसान र युवाले फाइदा उठाएका छन् । महिलाका लागि वार्षिक चार र पुरुषका लागि पाँच प्रतिशत ब्याजदरमा नगरपालिकाले नेपाल बैंकबाट ऋण प्रवाह गरिरहेको छ ।


प्रकाशित : फाल्गुन २५, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?