कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सबै पालिकामा १५ शय्याका अस्पताल

पुथाऊत्तरगंगामा गत वर्ष नै काम सुर, सिस्ने र भूमेमा यही वर्ष थालिने 
हरि गौतम

(रुकुम पूर्व) — यहाँका तीनवटै स्थानीय तहमा अस्पताल बन्ने भएका छन् । अहिले सञ्चालनमा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याका अस्पताल बनाउन संघीय सरकारले प्रक्रिया अघि बढाएको हो । 

सबै पालिकामा १५ शय्याका अस्पताल

सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामध्ये पुथाउत्तरगंगामा गत वर्ष नै निर्णय भएर काम अघि बढेको छ । सिस्ने र भूमे गाउँपालिकामा चालु वर्षमै काम अघि बढाउने गरी निर्णय भएको छ । सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी, भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकी र पुथाउत्तरगंगा गाउँपालिका–१२ को कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा विकास गर्न लागिएको छ ।


सिस्ने गाउँपालिकाको रुकुमकोट स्वास्थ्य चौकी र भूमे गाउँपालिकाको चुनबाङ स्वास्थ्य चौकीलाई चालु आवमा अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको प्रदेश ५ का प्रदेश सभा सदस्य तेजबहादुर वलीले बताए । पुथाउत्तरगंगा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णय अघिल्लो वर्ष नै भएको थियो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आवमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । मन्त्रालयले प्राथमिक अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य संस्थामा सूचीकृत गरेपछि स्थानीय खुसी भएका छन् । अस्पताल बन्ने सूचीमा परेपछि जिल्लामै उपचार सेवा पाइने आशा पलाएको चुनबाङ गैरीगाउँकी मनकुमारी पुनले बताइन् । स्वास्थ्य चौकीमै डाक्टरसहितको सेवा सुरु हुने उनको विश्वास छ । अस्पताल अभावमा अहिले सर्वसाधारण सामान्य उपचारका लागि पनि रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् ।


चुनबाङ अहिले एउटा वडा भए पनि पहिलाको सिंगो गाविस हो । चुनबाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । ‘यसैले चुनबाङमा अस्पताल बन्नु भनेको रुकुम पूर्व र रोल्पाका सर्वसाधारणका लागि पनि सुविधा मिल्नु हो,’ गैरीगाउँका प्रेमबहादुर पुन मगरले भने, ‘अब ससाना रोगका लागि दाङ, नेपालगन्ज झर्नुपर्ने बाध्यता हट्छ कि भन्ने आशा पलाएको छ ।’ निर्णय कार्यान्वयनका लागि वडा तथा गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने

उनले बताए ।


यस वर्ष सूचीकृत भएका रुकुमकोट र चुनबाङ स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि आगामी वर्ष बजेट आउनेछ । अघिल्लो वर्ष सूचीकृत भएको कोल प्राथमिक स्वास्थ्य केन्द्रमा यही वर्षदेखि अस्पताल बन्ने प्रक्रिया सुरु हुने सदस्य वलीले बताए ।


चालु आवमा अस्पतालको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारिनेछ । अस्पतालमा सम्बन्धित गाउँपालिका र संघीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ । अस्पताल निर्माणका लागि केही प्रतिशत सम्बन्धित गाउँपालिकाले बजेट विनियोजन गर्नुपर्नेछ भने बाँकी संघीय सरकारले विनियोजन गर्नेछ । अस्पताल बन्ने सूचीमा सूचीकृत भएको रुकुमकोट स्वास्थ्य चौकी भने अन्यत्रै सारिएको छ । यसअघि स्वास्थ्य चौकीको भवनमा जिल्ला अस्पताल उद्घाटन गरेर सञ्चालन गरिएको छ भने वडा ५ को उक्त स्वास्थ्य चौकीलाई वडा ६ मा लगिएको छ ।


सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले संघीय सरकारको निर्णय प्राप्त भएपछि यस विषयमा छलफल हुने र अस्पताल निर्माणका लागि गाउँपालिकाबाट आवश्यक पहल गर्ने बताइन् । ‘संघीय सरकारले अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य चौकी सुचीकृत गरेको खबर आएको छ,’ अध्यक्ष बरालले भनिन्, ‘अब औपचारिक रूपमा गाउँपालिकामा जानकारी आएपछि गाउँ कार्यपालिकाका तर्फबाट पनि आवश्यक निर्णय तथा सिफारिसको काम हुनेछ ।’

प्रकाशित : फाल्गुन २१, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?