१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उद्योग र व्यापारमा लगानी बढ्दो

हरि गौतम

(रुकुम पूर्व) — रुकुम पूर्व छुट्टै जिल्ला बनेको झन्डै साढे दुई वर्ष भयो । यस अवधिमा सरकारी र अन्य संरचना निर्माणका क्रममा छन् । भौतिक पूर्वाधार अपुग छन् । यस्तो अवस्थामा पनि जिल्लाको उद्योग व्यापारमा सवा अर्ब रुपैयाँ लगानी पुगेको छ । घरेलु तथा साना उद्योग र व्यापारमा लगानी बढ्दो छ ।

उद्योग र व्यापारमा लगानी बढ्दो

रुकुमकोट उद्योग वाणिज्य संघका अनुसार यहाँ विभिन्न क्षेत्रमा १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँभन्दा बढी लगानी भएको हो । संघका अध्यक्ष यज्ञप्रकाश मल्लका अनुसार ६ सय २२ घरेलु तथा साना उद्योग संघमा दर्ता भएका छन् । यसबाहेक अन्य व्यापार व्यवसायमा पनि लगानी भएको छ । सुरुमा दर्ता भएका उद्योग र व्यापारको लगानीबारे तीन महिनाअघि तथ्यांक संकलन गरिएको थियो । त्यसबेला सवा अर्बभन्दा बढी लगानी भएको पाइएको थियो ।


त्यसयता सञ्चालन भएका उद्योग र व्यवसायको लगानी यसमा नजोडिएको मल्लले बताए । संघका अनुसार सबैभन्दा बढी वाणिज्यतर्फ लगानी भएको छ । ५ सय १२ वटा विभिन्न व्यवसायमा १ अर्ब २४ करोड रुपैयाँ लगानी रहेको छ । त्यस्तै, ८९ वटा होटल सञ्चालनमा आएका छन् । तिनमा ४ करोड ४५ लाख र २१ वटा साना तथा घरेलु उद्योगमा ४ करोड २० लाख रुपैयाँ लगानी रहेको अध्यक्ष मल्लले बताए । घरेलु तथा साना उद्योग, व्यापार र व्यवसाय बढ्दो क्रममा रहेकाले लगानी बढ्दै गएको उनको भनाइ छ ।


छुट्टै जिल्ला बनेपछि रुकुमकोट आसपास क्षेत्रमा व्यवसाय र घरजग्गा कारोबार बढेको छ । पछिल्लो समय रुकुमकोटमा दुई दर्जनभन्दा बढी ठूला होटल सञ्चालन भएका छन् । यसले रुकुमकोटमा चहलपहल बाक्लिएको छ । ‘छुट्टै जिल्ला त बन्यो नै, यससँगै मध्यपहाडी लोकमार्ग जोडिएपछि यस क्षेत्रमा विभिन्न विषयका उद्योग र व्यापारमा लगानी बढ्दै गएको छ,’ होटल व्यवसायी विनोद केसीले भने, ‘रुकुमकोट तथा अरू क्षेत्रका बजारमा लगानी गर्नेहरू बढेका छन् ।’

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?