कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रविधि चिनाउँदै विद्यार्थी

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको भलवारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा स्नातक सिभिल इन्जिनियरिङतर्फ सातौं सेमेस्टरका विद्यार्थी पवन भुसाल फलामे छडको साटो बाँस प्रयोग गरेर ठूला भवन निर्माण गर्न सकिने दाबी गर्छन् ।

कलेजमा सोमबार र मंगलबार आयोजित एक्स्पोमा साथीसित मिलेर उनले छडको सट्टा बाँसले निर्माण गरिएका भवनका नमुना प्रदर्शनसमेत गरे । ‘नेपाल टावर’ नामक नमुना भवनमा बाँसको बिम राखिएको उनले बताए । ‘भक्तपुर र पाटन दरबार स्क्वायरको तल्लो बिम बाँसकै छ,’ उनले भने, ‘अमेरिका र बेलायतमा पनि प्रयोग भइरहेको छ ।’


पुर्खाले बाँस प्रयोग गरेर बनाएका भवन अहिलेसम्म ज्यूँका त्यूँ रहेको उनले बताए । निर्माणका क्रममा भार थपिंदा बाँसलाई बंग्याउन सकिने भएकाले प्रयोगमा ल्याउन मिल्ने उनको भनाइ थियो । धूवाँले सेकाएर कीरा नलाग्ने र नकुहिने बनाएर पाँच सय वर्षसम्म टिकाउन सकिने उनले दाबी गरे ।


एक्स्पोमा इलेक्ट्रोनिकतर्फ तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले थ्रीडी प्रिन्टरबाट विभिन्न बस्तु बनाएर अवलोकनकर्तालाई देखाइरहेका थिए । प्रिन्टरबाट चाहेको वस्तु निकाल्न सकिने ओसियन कुँवरले बताए । अवलोकनकर्ताले पहिलोपटक यस्तो अभ्यास हेरेको र रमाइलो मानेको उनले सुनाए । कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका चार विद्यार्थीले स्मार्ट ट्राफिक लाइट निर्माण गरेका छन् । यसबाट सडकमा चालकले ट्राफिक बत्ती नदेखेका बेला समयमै ढाँट झर्ने र सवारी साधन रोकिन्छ । यसले दुर्घटना कम गर्ने छात्रा स्वस्तिका श्रेष्ठले बताइन् । एक्स्पोमा राइजिङ नेपाल स्मार्ट सिटी प्रोजेक्टले अवलोकनकर्ताको ध्यान खिचेको थियो । इलेक्ट्रिकल इन्जिनियरिङतर्फका विद्यार्थीले बनाएको उक्त सिटीमा जमिनमुनिबाट तारको प्रयोग गरी सडक, मानिस तथा पूर्वाधारमा पर्न सक्ने असर निवारण गर्न सकिने छात्र शिवम् श्रीवास्तवले बताए । ‘चिस्यानले लाग्ने करेन्टबाट जोगिन यो प्रविधि उपयुक्त छ,’ उनले भने, ‘जमिनमुनिबाट तार विस्तार गर्दा करेन्ट जमिनमुनि जान्छ र त्यसले दुर्घटनाबाट जोगाउँछ ।’


विद्यार्थीले निर्माण गरेका विभिन्न प्रविधिमध्ये वेबसाइट पनि एक थियो । त्यसमा भौतिक पूर्वाधारको सम्पूर्ण जानकारी उपलब्ध थियो । ड्रिम सिभिल डटकम नामको वेबसाइटमा २० हजारभन्दा बढी भौतिक पूर्वाधार निर्माणसम्बन्धी लेख, ल्याबमा गरिने परीक्षणको जानकारी, विद्यार्थीले नजानेका प्रश्नको उत्तर दिने सुविधा रहेको डिजाइनर मधुकृष्ण पौडेलले बताए । ‘वेबसाइटमा आस्क बटन रहेको छ,’ उनले भने, ‘त्यसले कुनै पनि जानकारी २४ घण्टामा उपलब्ध गराउँछ ।’ कलेज गेटबाट प्रवेश गर्दा रोबोटले स्वागत र आरती उतार्ने दृश्य मनमोहक थियो । उक्त रोबोटलाई रिमोर्टले चलाउने व्यवस्था मिलाइएको थियो ।


भोटिङ मेसिन, मादक पदार्थ सेवनको मात्रा पत्ता लाउने उपकरण, विद्युतीय लिफ्ट, टर्निङ लाइट, हाइड्रोपावर, कस्टमर कलिङ सिस्टम, हाइड्रोलिक ब्रिजलगायत प्रदर्शनीमा राखिएका थिए । कलेजका तीन संकायमा अध्ययनरत विद्यार्थीले तयार गरेका उपकरण प्रदर्शनीमा राखिएको थियो । कलेजले प्रत्येक दुई/दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताए । एक्स्पोमा ५० भन्दा बढी स्टल रहेका थिए । प्रकाशित : फाल्गुन १४, २०७६ ०९:२३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश एक्स्पोमा सरकारका स्टल

कान्तिपुर संवाददाता

दाङ — प्रदेशका विशेषता र स्थानीय सरकारले गरेका कामको जानकारी दिने उद्देश्यले बेलझुण्डीमा आयोजित तीनदिने प्रदर्शनी (प्रदेश एक्स्पो) सोमबार सम्पन्न भएको छ ।

स्थानीय सरकारले आफ्नो क्षेत्रका कला, संस्कृति, सीप, उत्पादन र नयाँ प्रयोग प्रदर्शनीमा राखेका थिए । आफ्ना कामको प्रचार गर्ने महत्त्वपूर्ण अवसर प्रदर्शनी बनेको बुटवल उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत विवेक भुसालले बताए । तीन दिनमा १ सय २१ जनालाई कामबारे सुनाएको उनले बताए । ‘मानिसका सरकारप्रति धेरै जिज्ञासा थिए । आलोचना बढी हुन्थ्यो,’ उनले भने, ‘यहाँ ती कुरा बुझाउने अवसर मिल्यो ।’

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका निकायले गरेका काम देखाउन पायो । कृषि, पशुपन्छी र उत्पादनसम्बन्धी ६० वटा स्टल राखेर प्रचार गरेको मन्त्रालयका कृषि महाशाखा प्रमुख श्रीधर ज्ञवालीले बताए । माटो, गोबर र बाली परीक्षण, माटोबिनाको खेती प्रविधि, यान्त्रिक खेतीलगायत विषयमा डकुमेन्ट्रीमार्फत जानकारी दिएको ज्ञवालीले बताए । ‘केही परीक्षण गरेर सेवा दियौं । जिल्लामा रहेका सेवा केन्द्रमार्फत हुने कामको जानकारी गरायौं,’ उनले भने, ‘किसान उत्साहित छन् ।’ मन्त्रालयले बीउ, मल र विषादी छर्ने ड्रोन पनि प्रदर्शनीमा राखेका थिए । ६ लाख रुपैयाँ खर्चमा तयार हुने ड्रोन ठूला व्यावसायिक खेतीमा प्रयोग गर्न सकिने ड्रोन निर्माणकर्ता इलेक्ट्रिक इन्जिनियर इजहार खानले बताए ।

मुख्यमन्त्री कार्यालयले ६ मन्त्रालय र विभिन्न आयोगका काम प्रदर्शनमा राखेको थियो । अहिलेसम्म ६२ पटक मन्त्रिपरिषद् बैठक बसेर ३ सय २४ निर्णय गरिएको जानकारी दिए । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबारे धेरैले जानकारी लिएको मुख्यमन्त्री कार्यालयका अधिकृत कृष्णप्रसाद पराजुलीले बताए । उक्त कार्यक्रममार्फत प्रत्येक पालिकामा ५२ लाख रुपैयाँका दरले बजेट वितरण गरिएको छ । सरकारबाहेक विभिन्न निकायले आफ्ना कामबारे जानकारी दिए । यसबाट एक स्थानीय तहले अर्को तहका कला संस्कृति बुझ्न पाएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । प्रदेशभरिका कला संस्कृतिबारे जानकारी होस् भनेर सोमबार उपमहानगरले सबै बिद्यालय बिदा गरेर प्रदर्शनीमा सहभागी हुन अनुरोध गरेको उनले बताए । प्रदेशलाई एक ठाउँमा ल्याउन प्रदर्शनी उपलब्धिपूर्ण बनेको मुख्यमन्त्री शंकर पोखरेलले बताए । ‘प्रदेशका विविधता एक ठाउँमा आएका छन् । सबैलाई प्रदेश के हो भन्ने जानकारी भएको छ,’ उनले भने, ‘प्रदेशका प्रमुख विशेषताबारे सबै जानकार भएका छन् । यसले प्रदेशभित्र एकता र आत्मीयताको भावना विकास हुनेछ ।’

प्रदेश ५ का १२ जिल्लामा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १ सय ९ स्थानीय तह छन् । प्रदेशमा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या छ । जसमा ४८ प्रतिशत ग्रामीण र ५२ प्रतिशत सहरी जनसंख्या छ । प्रदेश सरकारले सार्वजनिक गरेको स्थितिपत्र अनुसार यहाँको प्रतिव्यक्ति आय ८ सय ३ अमेरिकी डलर छ । १८ दशमलव २ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि र ११ दशमलव २ प्रतिशत जनसंख्या बेरोजगार छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×