कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश एक्स्पोमा सरकारका स्टल

कान्तिपुर संवाददाता

दाङ — प्रदेशका विशेषता र स्थानीय सरकारले गरेका कामको जानकारी दिने उद्देश्यले बेलझुण्डीमा आयोजित तीनदिने प्रदर्शनी (प्रदेश एक्स्पो) सोमबार सम्पन्न भएको छ ।

प्रदेश एक्स्पोमा सरकारका स्टल

स्थानीय सरकारले आफ्नो क्षेत्रका कला, संस्कृति, सीप, उत्पादन र नयाँ प्रयोग प्रदर्शनीमा राखेका थिए । आफ्ना कामको प्रचार गर्ने महत्त्वपूर्ण अवसर प्रदर्शनी बनेको बुटवल उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत विवेक भुसालले बताए । तीन दिनमा १ सय २१ जनालाई कामबारे सुनाएको उनले बताए । ‘मानिसका सरकारप्रति धेरै जिज्ञासा थिए । आलोचना बढी हुन्थ्यो,’ उनले भने, ‘यहाँ ती कुरा बुझाउने अवसर मिल्यो ।’


प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका निकायले गरेका काम देखाउन पायो । कृषि, पशुपन्छी र उत्पादनसम्बन्धी ६० वटा स्टल राखेर प्रचार गरेको मन्त्रालयका कृषि महाशाखा प्रमुख श्रीधर ज्ञवालीले बताए । माटो, गोबर र बाली परीक्षण, माटोबिनाको खेती प्रविधि, यान्त्रिक खेतीलगायत विषयमा डकुमेन्ट्रीमार्फत जानकारी दिएको ज्ञवालीले बताए । ‘केही परीक्षण गरेर सेवा दियौं । जिल्लामा रहेका सेवा केन्द्रमार्फत हुने कामको जानकारी गरायौं,’ उनले भने, ‘किसान उत्साहित छन् ।’ मन्त्रालयले बीउ, मल र विषादी छर्ने ड्रोन पनि प्रदर्शनीमा राखेका थिए । ६ लाख रुपैयाँ खर्चमा तयार हुने ड्रोन ठूला व्यावसायिक खेतीमा प्रयोग गर्न सकिने ड्रोन निर्माणकर्ता इलेक्ट्रिक इन्जिनियर इजहार खानले बताए ।


मुख्यमन्त्री कार्यालयले ६ मन्त्रालय र विभिन्न आयोगका काम प्रदर्शनमा राखेको थियो । अहिलेसम्म ६२ पटक मन्त्रिपरिषद् बैठक बसेर ३ सय २४ निर्णय गरिएको जानकारी दिए । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबारे धेरैले जानकारी लिएको मुख्यमन्त्री कार्यालयका अधिकृत कृष्णप्रसाद पराजुलीले बताए । उक्त कार्यक्रममार्फत प्रत्येक पालिकामा ५२ लाख रुपैयाँका दरले बजेट वितरण गरिएको छ । सरकारबाहेक विभिन्न निकायले आफ्ना कामबारे जानकारी दिए । यसबाट एक स्थानीय तहले अर्को तहका कला संस्कृति बुझ्न पाएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । प्रदेशभरिका कला संस्कृतिबारे जानकारी होस् भनेर सोमबार उपमहानगरले सबै बिद्यालय बिदा गरेर प्रदर्शनीमा सहभागी हुन अनुरोध गरेको उनले बताए । प्रदेशलाई एक ठाउँमा ल्याउन प्रदर्शनी उपलब्धिपूर्ण बनेको मुख्यमन्त्री शंकर पोखरेलले बताए । ‘प्रदेशका विविधता एक ठाउँमा आएका छन् । सबैलाई प्रदेश के हो भन्ने जानकारी भएको छ,’ उनले भने, ‘प्रदेशका प्रमुख विशेषताबारे सबै जानकार भएका छन् । यसले प्रदेशभित्र एकता र आत्मीयताको भावना विकास हुनेछ ।’


प्रदेश ५ का १२ जिल्लामा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १ सय ९ स्थानीय तह छन् । प्रदेशमा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या छ । जसमा ४८ प्रतिशत ग्रामीण र ५२ प्रतिशत सहरी जनसंख्या छ । प्रदेश सरकारले सार्वजनिक गरेको स्थितिपत्र अनुसार यहाँको प्रतिव्यक्ति आय ८ सय ३ अमेरिकी डलर छ । १८ दशमलव २ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि र ११ दशमलव २ प्रतिशत जनसंख्या बेरोजगार छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?