तालतलैया पुर्दै भवन

नेपालगन्ज उपमहानगरका विभिन्न वडाद्वारा प्राचीन पोखरी मासेर कार्यालय 
मधु शाही, रुपा गहतराज

नेपालगन्ज — सार्वजनिक जग्गा, प्राचीन तालतलैया र प्राकृतिक स्रोत संरक्षणको दायित्व स्थानीय सरकारको हो । नेपालगन्ज उपमहानगरपालिकाले यहाँका केही प्राचीन तलाउ संरक्षण गरेको छ । वर्षौं अलपत्र रानी तलाउ संरक्षण गरेर आकर्षक पर्यटकीय केन्द्र बनाएको छ । उपमहानगरपालिकाका केही वडाले त्यसविपरीत काम गरेको पाइएको छ । 

तालतलैया पुर्दै भवन

उपमहानगरका विभिन्न वडाले प्राचीन तालतलैया मिचेर धमाधम कार्यालय भवन निर्माण गरिरहेका छन् । नेपालगन्ज–७ स्थित प्राचीन सभ्यता बोकेको ‘भवानी तलाउ’ अलपत्र थियो । त्यहाँ फोहोर फाल्ने गरिएको थियो । वडा कार्यालयले

त्यसको संरक्षणको साटो माटो पटान गरेर कार्यालय र स्वास्थ्य चौकी भवन बनाउन लागेको हो ।


तीन कट्ठा जमिन रहेको तलाउको केही भाग स्थानीयले मिचेका छन् । स्थानीयले विरोध जनाएपछि वडाले ठेक्का लगाइसकेको काम रोक्न बाध्य भएको अध्यक्ष जुम्मन खाँले बताए । ‘सार्वजनिक जग्गाको अभाव छ, वडा कार्यालय बनाउन तलाउ मिच्न बाध्य भयौं,’ उनले भने, ‘तैपनि, स्थानीयले जग्गा हड्पेका छन् । निर्माण कार्य ठप्प छ । अर्को वर्ष बनाउने सोचमा छौं ।’ उनका अनुसार ०३५ सालदेखि ताल रहेको छ । स्थानीय भगवानप्रसादका नाममा राखिएको थियो । तालसँगै प्राचीन सभ्यता मेटिने चिन्ता स्थानीयले गरेका छन् । स्थानीय अन्जु शर्माले मास्नुभन्दा जोगाउन ध्यान दिनुपर्ने बताइन् ।


नेपालगन्ज–११, नारायण स्कुलको छेउमा रहेको ‘भवानी बाग’ ताल अहिले पुरिएको छ । वडा कार्यालयले माटो पटाएको हो । आठ कट्ठामा रहेको ताल व्यक्तिले मिच्दै आएका छन् । तालकै छेउमा बसोबास गर्दै आएका ३५ वर्षे राजेन्द्र राडले पुरानो तलाउको संरक्षण नहुँदा अलपत्र परेको बताए । यही ताल पुरेर वडाले कार्यालय निर्माण गर्न लागेको छ । आफ्नो बाल्यकाल तलाउवरिपरि खेलेर बितेको उनले सम्झिए । केही तलाउको जमिन व्यक्तिले हड्पेका छन् भने बाँकी रहेको तलाउमा वडाले माटो पुरेर कार्यालय भवन बनाउन लागेको छ । वडा सदस्य मुबारक अलि सिद्दिकीका अनुसार तालकै जग्गा मिचेर स्थानीयले घर बनाउँदा जमिन विवादमा छ । ‘यहाँ तालको आवश्यकता नै छैन,’ उनले भने, ‘त्यसैले माटो पटान गरेर कार्यालय भवन बनाउने योजनामा छौं ।’ अहिले वडा कार्यालय भाडाको घरमा छ ।


नेपालगन्ज–९ मा गुमना ताल छ । फराकिलो ताल स्थानीयले अतिक्रमण गरेपछि साँघुरो भइसकेको छ । त्यहाँ एउटा विद्यालय सञ्चालनमा आएको स्थानीयले बताए । उक्त वडाकै बीचमा धरपटुवा तलाउ छ । जुन अहिले व्यक्तिका नाममा गरिएको छ । प्राचीन तलाउ अहिले फोहोर फ्याँक्ने स्थान बनेको छ । संस्कृतिविद् ८६ वर्षीय सच्चिदानन्द चौवेका अनुसार नेपालगन्जमा प्राचीन सातवटा ताल र १२ वटा कुवा थिए । जनसख्यां वृद्धिले तलाउ, कुवा मास्दै व्यक्तिको नाममा बनाउन थालेको उनले सुनाए । ‘बाँकी केही तलाउ जोगाउन सकिए पनि ठूलै उपलब्धि हुन्थ्यो,’ उनले भने ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाका अनुसार नगरभित्रका तालतलैया संरक्षण गर्ने मुख्य एजेन्डा बनाए पनि वडाले यसको पालना नगरेको बताए । ‘प्राचीन सभ्यता बोकेको रानी तलाउ हामीले मर्मत गर्‍यौं,’ उनले भने, ‘फलस्वरूप अहिले यहाँ आन्तरिक पर्यटक बढेका छन् ।’ यस्ता कुरामा वडाहरू गम्भीर बन्न नसकेको उनको दाबी छ ।


धोबी ताल आकर्षक

नेपालगन्ज–६, रामनगरमा रहेको धोबी तालको भने संरक्षण हुँदै छ । ६ कट्ठामा रहेको ताल अवलोकन गर्न लायक बनेको छ । वडाध्यक्ष समिरप्रताप सिंहले ऐतिहासिक ताल जोगाउन गत वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । ताल गहिरो भएकाले व्यवस्थित गर्न बजेट अपुग भएपछि प्रदेश सरकारसँग सहयोग मागेको उनले बताए । संरक्षण अभियन्ता हेमन्तराज काफ्लेले स्थानीय तहले तालको महत्त्व बुझ्न नसकेको बताए । आकासे पानीको भर पर्ने किसानका लागि पनि ताल संरक्षणले निकै मद्दत गर्ने उनले सुनाए ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?