कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बुटवल उपमहानगरले कक्षा ८ सम्म ल्यापटपमा पढाउने 

अमृता अनमोल

बुटवल — प्रारम्भिक बालविकास केन्द्रलाई मन्टेसोरी मोडलमा सञ्चालन गर्ने गरी बुटवल उपमहानगरले पाँचवर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ । बालबालिकालाई खेल्दै सिक्दै शैक्षिक अभ्यासमा लाग्ने बानी पार्न भन्दै नगरभित्रका सबै विद्यालयका बालविकास केन्द्रलाई मन्टेसोरी मोडलमा लैजान लागेको हो ।

बुटवल उपमहानगरले कक्षा ८ सम्म ल्यापटपमा पढाउने 

उपमहानगरले कक्षा १ देखि ८ सम्मको आधारभूत तहलाई अनिवार्य बनाएको छ । यस तहलाई सूचनाप्रविधियुक्त बनाउन ल्यापटप र प्रोजेक्टरबाट मात्र पढाउन सुरु गरिनेछ । ९ देखि १२ सम्मको माध्यमिक तहलाई प्रविधियुक्त बनाउने पञ्चवर्षीय योजना छ । जसमा कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर, बाली विज्ञान, पशु विज्ञान र रसायन विज्ञान एवं भौतिक विज्ञान पढाउन विद्यालयलाई प्रोत्साहित गरिनेछ । ‘सिक्दै जान्दै गर्ने वातावरण मिलोस् । पढेको जनशक्ति बेरोजगार बस्न नपरोस् भन्ने अवधारणलाई आधार बनाएर नगर शैक्षिक योजना बनाएका हौं,’ सोमबार शिक्षा योजना सार्वजनिक गर्दै नगरप्रमुख शिवराज सुवेदीले भने, ‘यसले पाँच वर्षभित्र नगरको शिक्षामा कायापलट ल्याउनेछ ।’


स्थानीय सरकार सञ्चालन ऐनले विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । यही अधिकारअनुसार उपमहानगरले शैक्षिक वर्ष ०७६/०७७ देखि ०८०/०८१ सम्मको योजना बनाइएको हो । त्यसमा विद्यालयलाई सूचना र प्रविधिमैत्री बनाउने उपमहानगरको पहिलो योजना छ । यसका लागि कक्षा कोठामा चक–डस्टरलाई विस्थापित गरी प्रोजेक्टर र ल्यापटपको प्रयोग गरिनेछ ।


नगरका हरेक विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला, वाइफाई र इन्टरनेटसहितको पुस्तकालय निर्माण गरिनेछ । चालु आर्थिक वर्षमै उपमहानगरभित्रका १२ विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला र पुस्तकालय बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । ‘छात्रछात्राबीच समान सिकाइको वातावरण बनाउन विद्यालयमा लैंगिकमैत्री भौतिक संरचना र वातावरण तयार गरिदने छ,’ उपमहानगरले सार्वजनिक गरेको नगर शिक्षा योजनामा भनिएको छ, ‘जसले विद्यालयभित्र हुने लैंगिक हिंसा तथा दुर्व्यवहार रोक्न सहयोग गर्ने र लैंगिक समानतामूलक शिक्षा दिन सहयोग पुग्नेछ ।’


उपमहानगरले स्थानीय परिचय, राष्ट्रप्रतिको प्रेम, नैतिकता र अनुशासनलाई केन्द्र भागमा राखेर स्थानीय पाठ्यक्रम तयार पारेको छ । बालबालिकाको सिकाइको उमेर, क्षमता, आवश्यकता र चाखअनुसार ज्ञान र सीप दिने गरी हाम्रो बुटवल नामक पाठयक्रम तयार पारिएको हो । उक्त पुस्तक आउदो शैक्षिक सत्रदेखि लागू गरिनेछ । जुन एक सय पूर्णाङ्कको छ । ‘बालबालिकालाई जन्मभूमिप्रतिको माया, अनुशासन र नैतिकता सिकाउन सकेमात्रै देशका लागि काम लाग्ने असल नागरिक बनाउन सकिनेछ’ उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले भने, ‘त्यसैले स्थानीय आवश्यकताका विषयवस्तु, ज्ञान, सीप र प्रविधिलाई समेटेका छौं ।’

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?