कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोल गाड्न नदिइँदा विद्युत् पुगेन

कान्तिपुर संवाददाता

बुटवल — बुटवल–गोरुसिंगे–लुम्बिनी १ सय ३२ केभी प्रसारण लाइन विस्तारमा समस्या देखिएको छ । विद्युत् विस्तारका लागि जग्गा प्राप्ति र रुट विवादले काम हुन सकेको छैन । निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि चार वर्षअघि आयोजना सुरु भएको थियो । १ अर्ब २० करोड लागतको आयोजना तीन वर्षमा सक्ने लक्ष्य हो । 

पोल गाड्न नदिइँदा विद्युत् पुगेन

रुट विवाद टुंगिए पनि विद्युत् विस्तारका लागि जग्गा प्राप्तिको विवाद कायमै छ । यसले गर्दा आयोजना कहिले सकिने भन्ने टुंगो छैन । औद्योगिक र पर्यटकीय क्षेत्रमै ३२ केभी विद्युत् लाइन नहुँदा उद्योगीले समस्या भोगेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद लामिछानेले बताए । ‘अघोषित लोडसेडिङ, कम भोल्टेज र ट्रिपिङले उद्योगी व्यवसायी हैरान छौं,’ उनले भने, ‘यसले मुख्य आर्थिक सहर भैरहवा र लुम्बिनीको विकासको गति नै रोकिएको छ ।’ यसबाट राज्यले समेत ठूलो क्षति बेहोर्नु परेको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजान आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो । तिलोत्तमावासीले सडक छेउबाट विद्युत् लैजाँदा खतरा हुने भन्दै मोनोपोल विस्तार गर्न दिएनन् । यसले दुई वर्ष आयोजनाको काम रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर गत वर्षदेखि विद्युत् विस्तार थालिएको हो ।


विद्युत् विस्तार हुने तिनाउ नदीकिनार बस्तीले भरिएको छ । धेरैले छुट कित्ताका नाममा लालपुर्जा निकालेका छन् । उनीहरू आफ्नो जग्गामा पोल गाड्न नदिने भन्दै विरोधमा छन् । यस रुटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिंदा समस्या झेल्नु परेको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । ‘व्यक्तिगत जग्गामात्र होइन, सरकारी जग्गामा समेत सामुदायिक वनका नाममा पाइला–पाइलामा विस्तार रोकिएको छ,’ उनले भने, ‘फरक–फरक चाहना र रुचिले अवरोध सिर्जना गरिएको छ ।’

योगीकुटीबाट सब स्टेसन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५७ वटा विद्युत् पोल गाड्नुपर्छ । जग्गा विवादले अहिलेसम्म २२ वटा पोलका लागि फाउन्डेसन मात्रै बनेको छ । जग्गा टुंगो नलाग्दा अन्य ३५ वटाको फाउन्डेशन पनि कहिले बन्ने भन्ने टुंगो छैन ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?