गाउँमा सिटामोल छैन

माधव अर्याल

पाल्पा — रैनादेवी छहरा–७, बल्ढेङगढीका इन्द्रबहादुर खड्काले गहते स्वास्थ्य चौकीमा सिटामोल र टिन्‍कर आयोडिन नपाएर फर्किनु पर्‍यो । टाउको दुख्ने, ज्वरो आउने भएपछि स्वास्थ्य चौकी जाँदा सिटामोल नपाएको उनले गुनासो गरे । छिमेकीको हात काटेपछि स्वास्थ्य चौकी लैजाँदा टिन्चर नपाएपछि सालझण्डी पुर्‍याउनु परेको उनले बताए । ‘गाउँमा स्वास्थ्य चौकी छ तर गाउँलेले सुविधा पाइएको छैन,’ उनले दुःखेसो गरे, ‘हामीलाई जहिले पनि स्वास्थ्यकै समस्या रहेको छ । कसैले ध्यान नदिएजस्तै भयो ।’ 

घरनजिकैको स्वास्थ्यचौकीबाट सेवा नपाएपछि उनीहरू दिनभर लगाएर रूपन्देहीको सालझण्डी, रामापुर, बुटवल पुग्नुपर्ने बाध्यता छ । बल्ढेङगढीका कतिपय गाउँका गर्भवती रूपन्देहीका स्वास्थ्यचौकीमा पुगेर सुत्केरी गराउन बाध्य छन् । ‘आफ्नै जिल्लाका स्वास्थ्य संस्था राम्रो भएनन्,’ गहतेकी दीपा खड्काले भनिन्, ‘हिउँदमा गाडी चढेर जान पाइन्छ । वर्षायाममा औषधि उपचार नपाएर मरिने हो कि भन्ने चिन्ता लाग्छ ।’ गाउँपालिकाले समयमा औषधि खरिदको टेण्डर नगर्दा दुर्गम गाउँका बासिन्दाले सास्ती पाएका हुन् । उनीहरूले स्वास्थ्य चौकीबाट पाउने सामान्य सुविधासमेत पाउन नसक्दा उपचार गर्न रूपन्देहीका मुर्गिया, रामापुर, सालझण्डी नपुगी सुःख छैन ।


रैनादेवी छहराको बल्ढेङगढी, जुठापौवा, सत्यवती, कचललगायत स्थानका बासिन्दाले बढी सास्ती खेप्नु परेको छ । ‘गाउँकै सरकारी स्वास्थ्यमै पर्याप्त औषधि नभएपछि हामी दुर्गममा बस्नेलाई सिटामोल पनि पाउन मुस्किल छ,’ काउलेका रामबहादुर सापकोटाले भने । गाउँमा सिटामोलसमेत नपाउने समस्या छ । स्वास्थ्यचौकीले दिने ३५ प्रकारका औषधि नपाएको महिनौं भइसक्यो । अब हजार खर्चेर रूपन्देहीका विभिन्न निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । ‘सरकारले स्वास्थ्य चौकीमा सबै औषधि दिए कति राम्रो हुन्थ्यो,’ उनले भने, ‘दुर्गम भएर होला, कहिल्यै पर्याप्त औषधि पाइएन ।’ सदरमुकामबाट झण्डै ६५ किलोमिटर टाढा यो स्वास्थ्य चौकी पर्छ ।


स्थानीय सरकार गठन नहुँदै पनि यहाँ औषधि नपाएर स्थानीयले हैरानी खेप्नु पर्ने बाध्यता थियो । अहिले पनि अवस्था उस्तै छ । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका कर्मचारी नबस्ने अर्को समस्या छ । अहिले दरबन्दी मिलानले झन् समस्या निम्तिएको छ । वडाध्यक्ष देवेन्द्र पुन मगरका अनुसार अब करारमा भए पनि कर्मचारी राख्ने योजना अघि बढेको छ । ‘औषधि खरिद गर्ने टेण्डरमा ढिलाइ भएको थियो,’ उनले भने, ‘त्यसको असर परेको हो । अब तत्काल औषधि आउने व्यवस्था मिलाउँछौं ।’


निजी मेडिकलबाट औषधि खानसमेत कम्तीमा पाँच सय भाडा खर्चेर छिमेकी जिल्ला रूपन्देहीको सालझण्डी जानु पर्छ । १४ किलोमिटरको बाटोमा २ सय ५० भाडा तिरेर औषधि उपचार गर्न जान बाध्य भएको स्थानीय मोहनीलाल खड्काले बताए । गाउँमा निजी औषधि पसलसमेत छैन । औषधि पर्याप्त भए सुविधा पुग्ने खड्काले बताए । यहाँको गहते, काउले, चिदीपानी, लौधापानी, सुकादमारलगायत गाउँका बासिन्दालाई थप समस्या छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?