३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तीन महिना भूमरीमा परें : महरा

दुर्गालाल केसी

दाङ — पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार गृहजिल्ला आएका छन् । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास मुद्दामा अदालतबाट सफाई पाएपछि पहिलोपटक घर आएका हुन् । उक्त मुद्दाका कारण मतदातामा रहेको अन्योल मेट्न र आफ्नो समस्या सुनाउन जिल्ला आएको उनले बताए ।

तीन महिना भूमरीमा परें : महरा

उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो । भालुबाङ, लमही, गोग्ली र घोराहीमा सडकमा लामबद्ध कार्यकर्ता र शुभेच्छुकहरुले माला र अबिरसहित महराको स्वागत गरेका थिए । महराले शुभेच्छुकहरुलाई सम्बोधन गर्दै आफू तीन महिना भूमरीमा परेको बताए । ‘म तीन महिरा भूमरीमा परें । अहिले छुट्कारा पाएको छु । कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उनले भने, ‘अन्तमा मैले न्याय पाएको छु । यो मेरो जीत होइन, तपाईं जनताहरुको हो ।’

आफू दाङ आउँदा यति धेरै स्वागत र सम्मान होला भन्ने नसोचेको बताउँदै उनी भावुक भए । ‘बाटैभरी मलाई यति धेरै स्वागत भयो । मैले यस्तो हुन्छ भन्ने सोचेको थिइनँ । म जनताको साथमै छु । दाङको विकासका लागि कटिबद्ध छु,’ उनले भने, ‘म नेपाली हुँ, राष्ट्रवादी हुँ । राष्ट्रिय स्वाधिनताका लागि मेरो शिर सधैं ठाडो हुन्छ ।’

अहिले आफू धेरै बोल्ने पक्षमा नरहेको उनले बताए । ‘म अहिले धेरै बोल्दिनँ । म जनताको साथमा आएको छु,’ उनले भने, ‘जनताको तागतको अगाडि कसैको केही लाग्दैन । मलाई जनताको साथ छ । यही नै ठूलो कुरा हो ।’ उनी सडकमा कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही–१७ पनौरास्थित घर गए ।

प्रकाशित : फाल्गुन १२, २०७६ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?