१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

घोषणामै सीमित स्मार्ट कृषि गाउँ

हरि गौतम

(रुकुम पूर्व — प्रदेश ५ सरकारले गत वर्ष जिल्लाका विभिन्न क्षेत्रमा स्मार्ट गाउँ घोषणा गरेको थियो । भूमे गाउँपालिका–१, लुकुमलाई स्मार्ट भेडा पालन र सिस्ने–८ को पाटागाउँ र झिमखोलालाई सुन्तला स्मार्ट कृषि गाउँ घोषणा गरियो ।

घोषणामै सीमित स्मार्ट कृषि गाउँ

गाउँको विकास र प्रवर्द्धनका लागि ५० लाख रुपैयाँ बजेट आएको थियो । पाटा र झिमखोलामा सिस्ने गाउँपालिकाले थप १० लाख रुपैयाँ विनियोजन गरेको थियो । अहिलेसम्म यी गाउँमा ६० लाख रुपैयाँ खर्च गरिए पनि किसानले फाइदा लिन सकेका छैनन् । पाटामा सानो भण्डारघर बनाइएको छ । एउटा गेट निर्माण गरिएको छ । नयाँ बिरुवा लगाउने, सुन्तला उत्पादन बढाउन, बजारीकरणका लागि घोषणाले समेटेको छैन । पछिल्लो समय सुन्तलामा नौलो रोग लागेको छ । रोगका कारण सुन्तलाका बोट धमाधम सुक्दैछन् ।


स्मार्ट कृषि गाउँ कार्यक्रमले यसलाई सम्बोधन गरेन । स्थानीय कर्णबहादुर पुनको ठूलो बगानमा सुन्तलाका बोट सुकेका छन् । सुन्तलाका साना दाना लाग्ने र कुहिने समस्या रहेको उनले बताए । ‘यो रोग धेरैमा फैलिंदै गएको छ,’ उनले भने, ‘तर यसको निदानका लागि कसैले सहयोग गरेन ।’

सुन्तला सजिलै बजार पुग्लान् भन्ने सोचेका किसान अहिले निराश छन् । ‘स्मार्ट कृषि गाउँ भएपछि सुन्तला फलाउने, व्यावसायिकता बढाउने काम हुन्छ कि भन्ने लागेको थियो,’ स्थानीय राजु पुनले भने, ‘तर, हामी किसानले खासै महसुस गर्न पाउने गरी केही भएन ।’


बगैंचासम्मै सडक पुगे पनि सुन्तला बोकेरै बजार पुर्‍याउनु पर्ने अवस्था कायमै रहेको उनले बताए । बजार अभावमा किसान आफैंले डोकोमा बोकेर सुन्तला बेच्छन् । घरघर तथा बजारमा सुन्तलाका डोको डुलाएर गरिने व्यापार नछुटेको राजुको भनाइ छ । रोग लागेपछि उपचार, सुन्तला फलेपछि बजार नभएपछि स्मार्ट कृषि गाउँको महसुस किसानले गर्न नपाएको उनले बताए ।


उक्त वडाका पाटा र झिमखोलासहित लम्पाकोट, सान्चौर, नाथिगाड, भुरुंगालगायत गाउँमा पनि सुन्तला फल्ने गर्छन् । व्यवस्थित भण्डारण र सजिलै बजार पुर्‍याउन नसकेपछि फलेका सबै सुन्तला बिक्री नहुने किसानले बताएका छन् । स्मार्ट कृषि गाउँ सञ्चालक समितिमा किसान नपरेको गुनासो छ । स्मार्ट कृषि गाउँ सञ्चालक समितिका अध्यक्ष कर्णबहादुर खत्रीले भने स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत सुन्तला, कागतीका बिरुवा वितरणदेखि प्रविधि र तालिम दिइएको दाबी गरे । गत आर्थिक वर्षमा आएको जति सबै बजेट खर्च हुन नसकेको भन्दै उनले सकेसम्म किसानको सजिलोका लागि काम भइरहेको बताए ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?