१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वर्षाले काँचो इँटा नष्ट

कान्तिपुर संवाददाता

बर्दिया — काँचो इँटा बनाउने र सुकाउने क्रम एकसाथ भइरहेका बेला भएको वर्षात्ले यहाँका इँटा उद्योगमा क्षति पुगेको छ । सुकाउन राखिएका इँटा शनिबार बिहान परेको पानीले गलेर नष्ट भएका हुन् । यस वर्ष पटक–पटक भएको वर्षात्ले इँटाको उत्पादनर कारोबारमा कमी आएको तथा आगामी दिनमा इँटाको अभाव हुन सक्ने व्यवसायीहरू बताउँछन् ।

बर्दियामा १९ इँटा उद्योग छन् । यस वर्ष पटक–पटक भएको वर्षात्ले उत्पादन घटेपछि अहिले इँटाको मूल्य अकासिएको छ । इँटा व्यवसायी केशव पाण्डेले काँचो इँटामा पुगेको क्षतिले उत्पादन घटेपछि मूल्य बढेको बताए । उनका अनुसार यसअघि प्रतिहजार इँटा आठ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले एक हजार इँटाको किनबेच १३ हजारसम्म भएको छ । बर्दियामा इँटा खरिद मूल्यदर ११ हजार ५ सय रुपैयाँ तोकिएको छ । ‘सकेसम्म जिल्लाले तोकेको दरभन्दा बढीमा बिक्री गरेका छैनौं । तर, उत्पादन घटेपछि माग निकै बढेको छ,’ उनले भने, ‘यहाँ उत्पादित इँटा जिल्ला बाहिरबाट पनि माग भइरहेको छ ।’


उनका अनुसार नयाँ इँटा तयार पार्न करिब एक महिना समय लाग्छ । ‘वर्षात्ले क्षति नगरेको भए पाकेको इँटाको न्यूनतम मूल्य १० रुपैयाँ गोटा पर्थ्यो,’ पाण्डेले भने । इँटाको मूल्य बढेपछि विकास निर्माणका काममा समेत प्रभाव परेको छ । सरकारी आयोजनाका लागि एक नम्बरको इँटाको लागत अनुमानमा ११ हजार रुपैयाँ तोकिएको छ । तर, उपभोक्ता समितिले महँगोमा इँटा किन्नु पर्दा समस्या भएको जनाएका छन् ।


जिल्ला दररेट मूल्यांकन समितिका संयोजकसमेत रहेका बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले इँटाको मूल्यबारे आफूलाई जानकारी नभएको बताए । बढी मूल्यमा किनबेच भएको भए बुझ्ने र व्यवसायीहरूसँग छलफल गरी मूल्य समायोजन गर्न सकिने उनको भनाइ छ । ‘मूल्यमा तलमाथि भएको हुन सक्छ । बुझेर छलफल गर्न आवश्यक छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?