प्रदेश प्रदर्शनी : १०९ स्थानीय सरकारका कला, संस्कृति र सीप एकै ठाउँमा

दुर्गालाल केसी

(दाङ) — संघीय संरचनापछि पुराना अञ्चल गाभिएर प्रदेश बन्यो । पहिले अञ्चल अनुसारका विशेषता थिए । एक अञ्चलभि।त्रका जिल्लाले आफ्नो क्षेत्रको कला, संस्कृति र विशेषता बुझेका थिए । अहिले प्रदेश बनेपछि पुराना अञ्चल हराए, नयाँ संरचनाअनुसार सिंगो प्रदेशलाई आफ्नो विशेषता चिन्ने अवसर भएन । यसको सुरुवात भएको छ प्रदेश एक्स्पो अर्थात् प्रदेश प्रदर्शनीमार्फत ।

प्रदेश प्रदर्शनी : १०९ स्थानीय सरकारका कला, संस्कृति र सीप एकै ठाउँमा

बेलझुण्डीस्थित रंगाशाला छेउमा शनिबार भव्य कार्यक्रमका बीच यसको उद्घाटन भएको छ । प्रदेशका विभिन्न सरकारले आफ्नो क्षेत्रका कला, संस्कृति, सीप, उत्पादन र नयाँ प्रयोग एक्स्पोमा प्रदर्शन गरेका छन् । एक स्थानीय तहले अर्को तहका कामकाज र कला संस्कृति बुझ्न पाएका छन् । कतिले अर्को ठाउँका अनौठा कला र नाच देखेर आश्चर्य व्यक्त गरे ।


प्रायःजसो औपचारिक कार्यक्रममा जस्तो भाषण गर्ने वक्ताको लामो सूची थिएन । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले मात्रै एक्स्पोबारे केही कुरा राखे । अन्य सबै कार्यक्रम कला प्रदर्शनी अवलोकनमा केन्द्रित भयो । पानीले हिलाम्य भएको चौरमा दर्शक खचाखच थिए । पानीको बीचमा पनि नाचगान र विभिन्न कला कौशलको प्रदर्शनी रोकिएन ।


तीन दिनसम्म चल्ने प्रदर्शनीमा प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग र प्रतिष्ठानका साथै १२ जिल्लाका १ सय ९ स्थानीय तहका बारेमा विस्तृत जानकारी प्राप्त हुने कानुन मन्त्री केसीले बताए । ‘सबै सरकारले आजसम्म गरेका रचनात्मक कामको प्रगति देखाउन पाएका छन् । अर्को ठाउँमा भएका नयाँ प्रयोगलाई अनुसरण गर्न सकिन्छ,’ उनले भने, ‘अझ प्रभावकारी काम गर्न उत्साह लिएर जान सकिन्छ । जनतालाई आफ्ना कामबारे सार्वजनिक जानकारी दिने अवसर पनि हो ।’


प्रदर्शनीमा विभिन्न सरकारका साथै सरोकारवाला निकाय, कृषि, उद्यम, शिक्षा, व्यवसायसँग सम्बन्धित स्टल पनि राखिएका छन् । प्रदेशभित्रका उत्पादन, पहिचान, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रमा भएका उत्कृष्ट काम चिन्न यसले सघाउने मन्त्री केसीले बताए । प्रदेश सरकार र स्थानीय तहबीचको सम्बन्ध सुदृढीकरण गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।


प्रदर्शनीमा दाङको थारु समुदायका परम्परागत नाच, बदिया भाले, तिल्की र सिम्ठारो धान पहिचानका रूपमा प्रदर्शन गरिएका छन् । प्यूठान र अर्घाखाँचीको सराय नाच, रूपन्देहीको नेवार समुदायको नाच, पाल्पाको लाखे, बर्दियाको थारू नाच, रुकुम पूर्वको लोपोन्मुख ढोंगे नाच र रोल्पाको थबाङी नाच आकर्षणका केन्द्र थिए । यसैगरी दाङका विभिन्न गाउँबाट आएका बालबालिकाले प्रदर्शन गरेको मयूर नाच र नेपाली सेनाको कला कौशलले पनि सबैलाई लोभ्याएको थियो । विभिन्न संघसंस्थाले पनि आ–आफ्नो जिल्ला र स्थानीय तहको प्रतिनिधित्व गर्ने विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।


यसैगरी, युनिसेफले बालबालिकाका अधिकारसम्बन्धी बिभिन्न रचनात्मक कुरा चित्रको माध्यमबाट सिकाइरहेको छ । यस स्टलमा बालबालिकाको भीड लाग्ने गरेको छ । अल्लोका कपडा, सल्यानी खुकुरी, बाँसका हस्तकला, कृषिका बिभिन्न उत्पादन पनि एक्स्पोका आकर्षण बनेका छन् ।


प्रदेश चिन्न एक्स्पो

शंकर पोखरेल, मुख्यमन्त्री

हामीले संघीय संरचनाअनुसार प्रदेश त बनायौं तर अझै पनि प्रदेशलाई चिन्न सकेका छैनौं । हाम्रो प्रदेश कस्तो छ, के कस्ता मौलिक विशेषता छन्, कुन प्रदेशमा के नयाँ कुरा छ, कहाँ कस्ता कला संस्कृति छन् भन्ने कुरा पहिलोपटक एक ठाउँबाट जान्ने अवसर मिलेको छ । खासमा प्रदेश चिनाउन नै एक्स्पो आयोजना गरिएको हो । यो नयाँखालको प्रयोग हो । पहिलोपटक प्रदेश चिन्न थालेका छौं । हाम्रा महत्त्वपूर्ण विशेषताहरू अब हामीलाई थाहा हुनेछन् ।


एक्स्पोबाट सरकारहरूको मूल्यांकन पनि हुनेछ । कुन सरकारले कसरी काम गरेको छ, के कस्ता प्रगति भएका छन्, नयाँ अभ्यास के छन् भन्ने बिषयमा पनि जान्न पाइनेछ । एकले अर्कोबाट सिक्न पनि पाउनेछन् । यो सिकाइको महत्वपूर्ण थलो हुनेछ । एउटाको राम्रो अभ्यासबाट अरूलाई सिकाइ हुनेछ ।


उद्योग, घरेलु सीप, सञ्चार, संस्कृति झल्किने नृत्य, वैज्ञानिक आविष्कार र नवप्रवर्द्धनमा आधारित कामको अडियो, भिडियो र प्रकाशित सामग्री राखिएका छन् । बालबालिकाका खेल, स्वास्थ्य परिक्षण, जैविक मल, माटो जाँच, वैकल्पिक सिचाइलगायत विषयमा सेवा प्रवाह भइरहेको छ । प्रदेशभित्रका मौलिक ज्ञान, सीप, कला, खानाका परिकार, विद्यार्थीले गरेका नवीन प्रविधिको विकाससम्बन्धी सामग्री पनि प्रस्तुत भएका छन् । यसले बालबालिकलाई नयाँ आविष्कार गर्न सहयोग मिल्नेछ । यसैगरी प्रदेश सरकारको आवधिक योजना, विधेयक र प्रदेशसभामा भएका कामको विवरण डिजिटल प्रविधिबाट प्रदर्शन गरिएको छ । यसबाट सबै तहका सरकार र सर्वसाधारणले प्रदेश सरकारका कामबारे जान्न पाउनेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?