खेतबारी जोत्‍न हाक

हरि गौतम

रुकुम पर्व — तकबासीले खेतबारीमा खनजोत सुरु गरेका छन् । चार महिनादेखि बन्द गाउँको खनजोत गएको बुधबारबाट सुरु भएको हो । त्यसका लागि आवश्यक विधि र वाचा यसअघि नै पूरा भइसकेको छ । 

खेतबारी जोत्‍न हाक

पुथाउत्तरगंगा गाउँपालिका–१०, तकमा हरेक वर्ष मंसिर, पुस, माघ र फागुनमा खनजोत गर्न पाइँदैन । वडा कार्यालय, गाउँपालिका वा अरु कुनै सरकारी निकायको नियमले खनजोत गर्न बन्देज गरिएको होइन । परम्परादेखि नै तक गाउँमा हरेक मंसिरको अन्तिमदेखि फागुन महिनाको पहिलो सातासम्म खनजोत गर्न नपाइने चलन चल्दै आएको हो । चार महिना विशेष गरी यस क्षेत्रमा हलो प्रयोग पूर्णतः बन्द रहन्छ । सकेसम्म कुटो–कोदालो पनि नचलाउने चलन छ ।


खनजोत गर्न बन्द गर्ने र फुकाउने विधि घर्तीमगर थरका एक जना व्यक्तिले मात्रै गर्छन् । उनले पूजाआजा र विधिवाचा पूरा गरेपछि सबै गाउँलेले जोत्न तथा खन्न सुरु गर्छन् । यस वर्षको विधि वाचा पूरा भइसक्यो । विधि वाचाका लागि गएको बुधबार राम्रो र बलियो दिन मानिएकाले सोही दिनबाट तकमा जोत्न तथा खन्न सुरु गरिएको हो । यस वर्ष सुर्जे घर्तीमगरले विधिवाचा गरेर हल्सार अर्थात् भूमि र हलोको पूजा गरी जोत्ने र खन्ने कार्य फुकुवा गरिदिनुपर्ने हो । तर, सुर्जे देशबाहिर रहेकाले उनका बुबाले भूमि र हलो पूजा गरेर खनजोत फुकुवा गरेका हुन् । गाउँका कटवालले खनजोत कार्य सुरु हुने भनेर गाउँमा हाक हालेका थिए । आइतबार भूमि पूजा भएको थियो भने आइतबारपछिको राम्रो बार बुध हुने भएकाले धामीले बुधबारदेखि जोत्न/खन्न सकिने गरी साइत मिलाइदिएका हुन् ।


तक गाउँमा खनजोत गर्न पनि त्यसरी नै हाक हालेर बन्द हुन्छ । मंसिर मसान्तको दिन घरका छतछतमा गएर गाउँका कटवालले खनजोत कार्य बन्द भएको हाक हाल्छन् र गाउँलेले त्यसैलाई आधिकारिक सूचना मानेर गाउँमा खनजोत बन्द गर्छन् । फेरि घर्तीमगरमध्येका एक जनाले हल्सार अर्थात् भूमि र हलोको पूजा गरेपछि उनै कटवालले त्यसबारेमा गाउँलेलाई जानकारी दिएर खनजोत गर्न लगाउने गरेको स्थानीय युवा मैत्या घर्तीमगरले बताए । हरेक वर्ष घर्तीमगरका छोराहरूको पालैपालो हल्सार गर्ने जिम्मेवारी आउने गरेको उनले बताए ।


त्यस क्षेत्रमा व्यापक हिउँ पर्ने भएकाले त्यस समयमा खनजोत गर्न हुन्न भनेर चलन चलाएको बताइन्छ । त्यो समयमा खनजोत गर्दा भूमिको श्राप लाग्ने जनविश्वास छ । तकमा हाल २६ घरधुरी छन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?