३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राममणी क्याम्पसका ४ जना सञ्चालकले दिए सामूहिक राजीनामा

अध्यक्षले एकलौटी गर्न खोजेको आरोप
सन्जु पौडेल

तिलोत्तमा — क्याम्पस सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै राममणी बहुमुखी क्याम्पस मणिग्रामका चारजना सञ्चालक समिति सदस्यले बिहीबार सामूहिक राजीनामा दिएका छन् । 

योग्यता, क्षमता र सामाजिक ण्व्यक्तिको सट्टा क्याम्पस सञ्चालक समिति बनाउादा राजनीतिकरण गर्न खोजेको, सहमति विपरित वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरी जुनियरलाई क्याम्पस प्रमुख बनाइएको र अन्य प्रशासनिक काम कारबाही पनि एकलौटी ढंगले चलाउन खोजेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।


यसरी सामूहिक राजीनामा दिने सञ्चालकहरुमा गोपाल भट्टराई, यज्ञ गैरे, नारायण रेग्मी र मिनाक्षी न्यौपाने छन् । उनीहरुले क्याम्पस परिसरमै बिहीबार पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् ।


मंसिर ७ गतेको क्याम्पस सभाले रोमणीप्रसाद पाठकलाई सञ्चालक समितिको अध्यक्ष चुनेको थियो । पूर्व सहमति अनुसार पाठकलाई सञ्चालक समिति अध्यक्ष बनाइएको तर अध्यक्ष बनिसकेपछि सहमति विपरित अघि बढेकाले राजीनामा दिएको गोपाल भट्टराईले बताए । अध्यक्ष पाठकले नेपाली कांग्रेस र नेकपाको कोटाबाट चार–चार जना सदस्य मनोनित गरेका थिए ।


राजीनामा दिएका सञ्चालक समिति सदस्य भट्टराईले क्याम्पस प्रमुख मोहन शर्माले राजीनामा दिएपछि वरिष्ठताका आधारमा डा. खगराज शर्मालाई क्याम्पस प्रमुख बनाउनुपर्नेमा ताराप्रसाद पराजुलीलाई बनाएर राजनीतिक रंग दिन खोजेको बताए । ‘हामी पार्टीगत भन्दा पनि सामाजिक रुपमा क्याम्पसलाई अघि बढाउनुपर्छ भन्यौं, तर अध्यक्ष राजनीतिक ढंगले अघि बढ्न खोज्दा राजीनामा दिन बाध्य भयौं ।’, उनले भने ।


क्याम्पसका हरेक निर्णय विधि र प्रक्रिया अनुसार गर्नुपर्नेमा अध्यक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा समस्या आएको राजीनामा दिएका अर्का सञ्चालक सदस्य यज्ञ गैरेले बताए । सञ्चालक समिति गठनमा एक पक्षलाई बेवास्ता गर्दै अघि बढ्न खोजिएको भन्दै उनले क्याम्पसलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताए ।


पत्रकार सम्मेलनमा अर्का सञ्चालक नारायण रेग्मीले क्याम्पसलाई अहिलेको अवस्थासम्म ल्याइ पुर्‍याउन आफूहरुले पनि ठूलो योगदान पुर्‍याएको भन्दै शैक्षिक केन्द्रमा राजनीतिक रंग दिन नहुने बताए ।


तर क्याम्पस सञ्चालक समितिका अध्यक्ष पाठकले भने सहमतिका लागि पटकपटक छलफलमा बोलाउँदा नआएकाले सञ्चालक समिति गठन गरिएको र क्याम्पस प्रमुख नियुक्तिमा सिनियर र जुनियर भन्ने नहुने बताए । ‘पटकपटक छलफलमा बोलाउँदा उहाँहरु आउनुभएन, लामो समय सञ्चालक समिति सदस्य मनोनयन नगरी बस्ने कुरा भएन ।’, उनले भने, ‘क्याम्पस प्रमुख नियुक्तीमा सिनियर र जुनियर भन्ने कुनै नियम छैन, आवश्यकता अनुसार जसलाई पनि बनाउन सकिन्छ ।’

प्रकाशित : फाल्गुन ८, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?