१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हाकिम फेरिएको फेरियै

गिरुप्रसाद भण्डारी

(प्यूठान) — गत फागुनमा प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर रायमाझी भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेपछि केही समय नगरपालिका कार्यालय प्रमुखविहीन भयो । पछि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर काँशीराम गैरे आए । 

उनी चैतमा आएर असार मसान्तको काम नसकिंदै हिंडिहाले । असारदेखि भदौसम्म केशवराज गौतम कार्यालय प्रमुख बने । भदौपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आएका टोपेन्द्रबहादुर केसी फागुन नलाग्दै सरुवा भए । अहिले नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । प्रमुखबिना काम नहुने भन्दै लेखा अधिकृत अमरबहादुर जीसीले पनि लामो समयदेखि कार्यालय छोडेका छन् । ‘हिजोआज नगरपालिका रानो हराएको मौरीजस्तो भएको छ,’ एक कर्मचारीले भने, ‘प्रायः फाँटमा प्रमुखहरू भेटिँदैनन् ।’


प्रमुख प्रशासकीय अधिकृत नभएपछि आर्थिक कारोबार सबै ठप्प भएको निमित्त कार्यालय प्रमुख पुष्करराज आचार्यले बताए । ‘हामीले दैनिक चिट्ठीपत्रका काम गर्ने गरेका छौ,’ उनले भने, ‘लेखा अधिकृत पनि काठमाडौं जानुभएको छ ।’


प्यूठान नगरपालिका–६, माझकोटका किसानले मौरी पकेट क्षेत्रअन्तर्गत गरिएको कार्यक्रमको भुक्तानी लिन प्यूठान नगरपालिकामा धाउन थालेको नौ महिना भयो । झुलेनी मौरी पालन फर्मका अध्यक्ष विष्णुबहादुर केसी मौरीको गोला खरिद गरेको रकम माग गर्दै आउने फोनले हैरान छन् । उनले भुक्तानी माग गरेर बुझाएको फाइल नगरपालिकाको दराजमा थन्किएको छ । नगरपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत माझकोटलाई मह उत्पादक क्षेत्रका रूपमा चिनाउन ८ लाख २५ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३० घरपरिवारले ९० मौरी घारगोला थप गरेका थिए । मौरी गोला खरिदबापतको ३ लाख ६१ हजार १ सय ९५ रुपैयाँ नपाएको केसीले गुनासो गरे । गत आवको कार्यक्रम भएकाले उनीहरूले गत असारमै मौरीका गोला र घार खरिद गरेर नगरपालिकामा भुक्तानीका लागि माग गरेका हुन् । नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गैरे अकस्मात् कार्यालय छाडेर गएकाले रोकिएको भुक्तानी उनीहरूले अझै पाएका छैनन् । झन्डै एक वर्ष हुँदासम्म नगरपालिकाबाट रकम भुक्तानी नपाउँदा माझकोटका मौरीपालक किसान आक्रोशित छन् ।


दुई वर्ष पहिले ल्यान्डफिल्ड साइड निर्माण गरेको रकम नगरपालिकाबाट भुक्तानी नभएको निर्माण व्यवसायीको गुनासो छ । समयमै भुक्तानी नपाउँदा आफूहरूले ठूलो आर्थिक भार बेहोर्नु परेको प्रगतिशील निर्माण सेवाका प्रोपाइटर किरण केसीले बताए । ‘कार्यालयमा हाकिम फेरिएको फेरियै हुन्छन्,’ उनले भने, ‘यसले धेरै समस्या भएको छ ।’ आठ लाख रुपैयाँ भुक्तानी पाउनु पर्ने फाइल नगरपालिकामा थन्किएको नौ महिनाभन्दा बढी भएको उनले गुनासो गरे ।


कार्यालय प्रमुख नहुँदा नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीले लामो समयदेखि समस्या भोग्दै आएका छन् । कार्यालय प्रमुख फेरिइरहँदा नगरवासीको धेरै गुनासो बढेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । कम्तीमा दुई वर्ष बस्ने कार्यालय प्रमुख नभएकाले नगरपालिकाले सोचेको उपलब्धिसमेत हासिल गर्न नसकेको उनले बताए । ‘कार्यालय प्रमुख नियमित नहुँदा समस्या छ,’ उनले भने, ‘त्यसले स्थानीय सरकारको अनुभूति जनतालाई दिन सकिएको छैन ।’


नगरपालिकाले तयार गरेका नीति तथा कार्यक्रम कार्यालय प्रमुख नियमित नभएकै कारण कार्यान्वयनमा समस्या भएको उनले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?