कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजसेवामा लाहुरे जोस

रूपा गहतराज

(नेपालगन्ज) — ६४ वर्षीय उदयलाल रानाको जाँगर युवाको जस्तै छ । घरलाई फूलबारी बनाएका छन् । ‘२२ वर्षर्को मिहिनेत लागेको छ,’ उनले भने, ‘ मिहिनेत र लगानीले घर र बगैंचा सजिएका हुन् ।’ 

समाजसेवामा लाहुरे जोस

२२ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भए । सन् १९९९ मा सेवाबाट अवकाश पाएका थिए । सिपाहीबाट अनेरी नायब सुबेदार भए । उनका सातमध्ये ६ भाइ लाहुरे छन् । उनको दैनिकी बारी र समाजसेवामै बित्ने गर्छ । साथमा पत्नी र एक छोरी छन् । ‘दिन कटाउनै मुस्किल हुन्छ,’ उनले भने । खजुरा गाउँपालिका–१ सैनिक गाउँबाट परिचित छ । बस्तीका अधिकांश लाहुरे छन् । राजा महेन्द्रका पालामो बस्ती बसाइएको हो । लाहुरेका छोरा–नाति अहिले भर्तीमा रुचि राख्दैनन् ।


‘अहिलेका युवा गाउँमै रमाउन चाहन्छन्,’ रानाले भने, ‘हामी भर्ती हुन मरिहत्ते गर्थ्यौं, युवामा उत्साह छैन ।’ आफूहरूले जंगलमा भोकभोकै दिन बिताएको उनले सुनाए । ‘ शीतलाई पानी सम्झेर तिर्खा मेटाउँथ्यौं, ्,’ उनले भने । रानाले गाउँकै सहकारी हाँकेका छन् ।


चैतबहादुर राना ६९ वर्षका भए । भूपू भारतीय अनेरी नायब सुबेदार उनी अहिले गाउँकै अगुवा बनेका छन् । कहिले चीन त कहिले पाकिस्तानको बोर्डरमा बिताए । १७ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएका थिए । ४० वर्ष बिताए । अहिले अवकाशप्राप्त जीवन परिवारसँग बिताउँदै गाउँ सेवा गरिरहेका छन् । ‘भर्ती भएर पेन्सन पकाइयो,’उनले भने, ‘उमेर र ऊर्जा भारतमा छोडे ।’ भारतीय सेनामा भर्ती हुँदा गर्व लागेको भए पनि आफ्नै जन्मभूमिमा कर्म गर्न नपाएकामा उनलाई पछुतो पनि छ ।


१९७१ सालमा आफूसँगै एउटै पल्टनमा गएका साथी फर्केर आउन पाएनन् । ‘लडाइँमा सँगै गएका साथी फर्किएनन्,’ उनले भने, ‘त्यतिबेला धेरै नमज्जा लाग्थ्यो ।’ दुःखसुख सबै भोगे । वर्षमा एक महिनामात्र बिदा पाइन्थ्यो । फोन, इन्टरनेट केही थिएन । परिवारको सम्झनाले आधा ज्यान त्यसै सुक्थ्यो । त्यसबेला भएको सीडीएम फोन बोक्नेलाई जासुस भन्थे । ‘अहिले जमाना फेरियो,’ उनले भने, ‘छिनछिनमा परिवारसँग बात मार्न पाइन्छ ।’ छोटी चन्द्रनगरका शेरबहादुर राना पनि १७ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए । १९८३ मा थ्री फाइभ गोखा राइफल फोर्स पाँचौं बटालियनमा थिए । गाउँमा उनलाई लाहुरे भनेर चिन्छन् । खुकुरी अंकित सर्ट लगाएर उनी घरबाहिर निस्कँदा सबैले सम्मान गर्छन् । ४५ वर्षमा रिटाएर भएर पेन्सन बोकेर आउँदा खुसी नै छन् । ‘त्यसबेला सेना बन्ने लहरै थियो,’ उनले भने, ‘लाहुरे भनेपछि जो पनि छोरी दिन हुरुक्क हुन्थे तर अहिले समय फेरियो ।’


भारतमा आफ्नो ऊर्जा र उमेर बिताएका उनीहरू बुढेसकालमा गाउँको विकासमा रमाएका छन् । समाजका धेरै उपभोक्ता समितिको बागडोर भूपू सैनिककै काँधमा छ । तिनीहरू गाउँका अगुवा बनेका छन् । गाउँको विकासका कामदेखि हरेक समस्या समाधानमा अग्रसर बन्छन् । उमेर अनि अनुभवले खारिएकाले उनीहरूको भूमिका सहजीकरणमा महत्त्वपूर्ण मानिन्छ । उनीहरूले गर्ने काम निर्विवाद हुने गरेको खजुरा–१ का वडाध्यक्ष सुमन मल्लले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?