कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ड्राइभर हुँदाको रमाइलो

अमृता अनमोल

बुटवल — घरमा खानलाउनकै अभाव थियो । कापी, कलम र मसी किन्नै समस्या । यस्तोमा रमेश भुलले पढाइलाई निरन्तरता दिन सकेनन् । कक्षा ८ मा पढ्दापढ्दै छोडेर बसका सहयोगी बने । सुरुमा खानसहित मासिक ८ सय रुपैयाँमा काम थाले । 

ड्राइभर हुँदाको रमाइलो

झन्डै चार वर्ष सहचालक भएर काम गरे । मासिक २० देखि २२ हजार रुपैयाँसम्म कमाए । बस चलाउन थालेको चार वर्ष पुग्दैछ । २८ वर्षे आफ्नो पेसाबाट उनी सन्तुष्ट छन् । ‘अहिले मासिक ६० हजारसम्म कमाएको छु,’ उनले भने, ‘आफ्नो खर्च कटाएर ५० हजार त घरपरिवारलाई नै दिन्छु ।’


खप्तड यातायातको धनगढी–काठमाडौं रुटको ना५ख ९४०६ नम्बरका बस चालक रमेश कैलालीको अत्तरिया–२ का स्थायी बासिन्दा हुन् । बसकै कमाइबाट उनले भाइलाई ल्याब असिस्टेन्ट पढाए । घर बनाए, बाआमालाई मजदुरीको कामबाट छुटाए । छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन् । ‘धेरै मान्छेले गाडी लाइन राम्रो छैन भन्छन्,’ उनले भने, ‘अनुशासित भएर काम गर्ने हो भने गाडीलाइनमा मालामाल आम्दानी छ ।’


धेरैलाई लाग्छ, स्वदेशमा कामअनुसार कमाइ छैन । सार्वजनिक यातायातको क्षेत्र कमाइ नहुने क्षेत्रको हो । त्यसैले धेरै युवा वैदेशिक रोजगारीमा जान हतारिन्छन् । पछिल्लो समय केही युवाले यातायात क्षेत्रमा लागेर गरेको प्रगति अनुकरणीय छ ।


कम पढेका मात्र होइन, उच्च शिक्षा पढ्दै गरेका युवा पनि पछिल्लो समय सहयोगी र चालक बनेर आफ्नो दैनिकीलाई सहज बनाइरहेका छन् । त्यसैमध्येका हुन्, २८ वर्षीय विनोद कार्की । नौ वर्षयता बसमा काम थालेका उनी अहिले काठमाडौं–धनगढी रुटको रात्रिकालीन बस चलाउँछन् । एकपटक धनगढीबाट काठमाडौं बस पुर्‍याउँदा १३ हजार कमाउँछन् । महिनामा १० पटकसम्म बस आउजाउ हुन्छ । ‘अहिले बस चालक मात्र होइन, हेल्परको कमाइ पनि राम्रै छ । खाडी मुलुकमा कमाउने रकम यतै कमाइन्छ,’ उनले भने, ‘अब ड्राइभरी छोडेर अन्त जाने मन छैन ।’


धनगढीको गौरीगंगा गाउँपालिकाका विनोदले विद्यालयस्तरको पढाइ निजी विद्यालयमा पढे । नौ वर्षअघि कैलाली बहुमुखी क्याम्पसमा बीबीएस पढ्दै थिए । चमेलिया जलविद्युत् आयोजनाका लागि घरधुरी र सामाजिक प्रभाव सर्वेक्षणको काम गर्दा परीक्षा नै छुट्यो । बिरक्तिएका उनी बसमा सहयोगी भए । ‘त्यसबेला गाडीलाइनमा हिँड्दा धेरैले गाली र खिसीट्युरी गरे,’ उनले भने, ‘अहिले प्रगति देखेर थक्थकी मान्छन् ।’ पछिल्लो समय सार्वजनिक बसमा युवा आकर्षण बढेको छ । व्यवसायीले कामदारलाई कामअनुसारको दाम दिन थालेपछि पनि युवाको आकर्षण बढ्न थालेको छ ।


‘ड्राइभरी पेसालाई असुरक्षित पेसा मानिन्छ । तैपनि, सधैं यात्रा गर्न र रमाइलो गरी काम गर्न सकिन्छ,’ काठमाडौं–बुटवल रुटका चालक वसन्त श्रेष्ठले भने, ‘त्यसैले साउदीको रोजगारी छोडेर अहिले सहचालक बनेको छु ।’ ३० वर्षीय श्रेष्ठले यसबाटै मासिक २५ हजार रुपैयाँसम्म कमाउने बताए । ड्राइभिङ पेसा अपजसी पेसा हो । सियोको टुप्पोमा हिंड्ने कामजस्तै कठिन हो । धेरै यात्रुले ड्राइभरलाई हेप्छन् । तुच्छ शब्द बोल्छन् । यसले भने उनीहरूको चित्त दुख्छ । त्यस्तालाई अंग्रेजी भाषामा नम्र बोलेर सम्झाउने गरेको

उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?