३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बोयर जातका पाठापाठी खोसाखोस

वीरेन्द्र केसी

अर्घाखाँची — सामान्यतः एउटा बोकाको तौल ५० किलोसम्म हुन सक्छ । यहाँस्थित सन्धिखर्क नगरपालिका–१२, डिभर्नाको जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालले पालेको बोयर जातको बोका १ सय ७२ किलोको छ ।

बोयर जातका पाठापाठी खोसाखोस

बोयर जातका बाख्रा उत्पादनका लागि अस्ट्रियाबाट साढे दुई वर्षअघि वर्णसंकर बोका ल्याइएको थियो । तत्कालीन कृषिमन्त्री चक्रपाणि खनालले बस्यालको घरमै पुगेर अवलोकन गरेका थिए ।


यसको वीर्यबाट यहाँ सयौं बाख्रा उत्पादन गरिएका छन् । यहाँका स्थानीय तहबाहेक गुल्मी, प्यूठान, स्याङ्जा, दाङ, रुकुम, सल्यान, पाल्पालगायत जिल्लाका कृषक र जनप्रतिनिधिले बोयर जातका पाठापाठी किनेर लैजान्छन् । जन्मिँदै पाठापाठीको तौल पाँच किलो हुन्छ । ६ महिनापछि ३० किलो तौल पुग्छ । वर्षौंदेखि स्थानीय जातका बाख्रा पालेर आम्दानी लिन नसकेका किसानबीच अहिले यस्ता पाठापाठीको खोसाखोस छ । जिउँदो पाठाको प्रतिकिलो एक हजार र पाठीको छ सय रुपैयाँमा बिक्री भइरहेको छ । डिभर्नाका १ सय ५३ किसानले जालकाँडा बाख्रापालन समूह गठन गरेर १ हजार ५ सयभन्दा बढी बाख्रा पाल्दै आएका छन् । समूहका अध्यक्ष बस्यालले २५ वटा बाख्रा पालेका छन् । बोयर जातका बाख्रा पाल्न थालेपछि गाउँबाट वार्षिक एक करोड रुपैयाँ बराबरका बोका, बाख्रा र पाठापाठी बिक्री भइरहेको उनले बताए । बोयर बाख्रा वर्षमा दुईपटक ब्याउने र धेरैले दुई/तीनवटासम्म पाठापाठी जन्माउँछन् । वर्षदिन पाल्दा बोका ६०/७० किलो तौलका हुन्छन् ।


स्थानीय जातको बोका एक वर्ष पाल्दा बढीमा ३५ किलो तौलसम्मको हुन्छ । छोटो समयमै तौल धेरै भएपछि गाउँका सबैका घरमा बोयर जातका बाख्रा पाल्नेको होडबाजी चलेको उनले बताए । ‘एक कृषकले वर्षमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेका छन्,’ उनले भने, ‘अहिले वैदेशिक रोजगारमा जाने युवासमेत भिसा रद्द गरेर बाख्रा पालनमा लागेका छन् ।’ बोयरका पाठापाठीले गाउँको आर्थिक स्थिति सुधारिदिएको उनले बताए । वर्षमा आठ लाख रुपैयाँसम्म बाख्रापालनबाट आम्दानी गर्दै आएको उनले बताए ।

समूहकी सदस्य गीता भुसालका घरमा वर्षौंदेखि दुई/चारवटा बाख्रा खोरमा हुन्थे । तर, धेरै आम्दानी थिएन । स्थानीय बाख्रामा बोयर जातको बोका लगाइदिइन् । त्यसपछि जन्मिएका पाठापाठी छिट्टै हुर्के । ‘पहिला खसीबोका बेचेर वर्षमा २०/३० हजार रुपैयाँमात्रै आम्दानी थियो,’ उनले भनिन्, ‘दस महिनामा बोयर जातका पाँचवटा बोका १ लाख ९६ हजार ७ सय रुपैयाँमा बेचेँ ।’

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?