यस्तो बन्दै छ प्रादेशिक अस्पताल

अमृता अनमोल

बुटवल — प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको प्रारम्भिक गुरुयोजना निर्माण गरेको छ । सहज र छिटो सेवा दिन मिल्ने संरचना निर्माण गरिने गुरुयोजना पूरा गर्न ६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख छ । यससँगै अस्पतालको अत्याधुनिक १० तले भवनको डिजाइन सार्वजनिक गरिएको हो । 


यहाँबाट सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराइने प्रदेश योजना आयोगका उपाध्यक्ष ईश्वर गौतमले बताए । ‘भवनको छतमा हेलिप्याडको सुविधा हुनेछ,’ उनले भने, ‘हेलिप्याडबाट सीधै इमर्जेन्सी वार्डसम्म पुग्ने लिफ्ट राखिनेछ ।’ योजना आयोगको रायमा काठमाडौंको केज आर्किटेकले भवनको नक्सा डिजाइन गरेको हो । इन्जिनियर विष्णु पन्थीले यसअघि वीर अस्पताल, धरहरालगायतको डिजाइन गरेका थिए । गुरुयोजनामा सरोकारवालाले सुझाव दिएका छन् ।


सुझाव समेटेर अर्को सातासम्म गुरुयोजनालाई पूर्णता दिइने गौतमले बताए । लगत्तै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम थाल्ने उनले बताए । ‘गौरवको योजना भएकाले योजना आयोगले सबै काम अगाडि बढाउनेछ,’ उनले भने । वि.सं. १९६७ सालमा ६ बेडबाट अस्पताल सुरु भएको थियो । ०१६ सालमा निर्माण भएको भवनमा अहिलेसम्म उपचार भइरहेको छ । उच्च भूकम्पीय जोखिममा राखेको भवनलाई अस्पतालले रंगरोगन गरेर प्रयोग गरिरहेको छ ।


अहिलेको भवन भत्काएर नयाँ बनाइनेछ । ‘यसो गर्दा बिरामीको पायक र सुविधा दुवै हुनेछ,’ गौतमले भने, ‘अस्पताल कोलाहलपूर्ण र साँघुरो पनि हुनेछैन ।’ यसअघि अस्पतालले निर्माण गरेको व्यापारिक सटर भत्काइएको छ । न्युरो र हार्डजोर्नी सेवालाई प्राथमिकता दिनेगरी विशेषज्ञ सेवा सञ्चालन गरिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । अस्पतालमा ९७ जना चिकित्सकको दरबन्दी छ । अहिले ३७ जना सरकारी दरबन्दीका चिकित्सक छन् । १५ विशेषज्ञ र ४२ जना मेडिकल अधिकृतको दरबन्दी रिक्त छ । अस्पताल विकास समितिले १७ जना मेडिकल अधिकृत राखेको छ । त्यसमध्ये पाँच जना छैनन् ।


जनशक्ति अभाव पूर्ति गर्न सरकारले स्वयंसेवक कर्मचारी राख्ने तयारी थालेको छ । ‘रेफरल अस्पतालमा रूपान्तरण हुन नदिन प्रदेशका अस्पतालमा स्वयंसेवक कर्मचारीको अवधारणा ल्याएका छौं,’ बरालले भने, ‘दीर्घकालीन रूपमा प्रदेश लोकसेवा आयोग गठनपछि स्थायी पदपूर्ति गरिनेछ ।’ त्यसका लागि संघलाई समेत छात्रवृत्तिमा पढेका विद्यार्थी चिकित्सक सीधै अस्पतालमा पठाउनुको साटो अब प्रदेश मन्त्रालयमा पठाउन आग्रह गरेको उनले बताए । यहाँबाट दैनिक एक हजारले उपचार पाइरहेका छन् । प्रकाशित : फाल्गुन ५, २०७६ १२:४१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ढल्नै लागे प्राचीन सम्पदा

संरक्षण अभावमा सयौं वर्ष पुराना शिवालय, मन्दिर, कुवा, मजारलगायत संरचना जीर्ण
ठाकुरसिंह थारु, मनोज पौडेल

बर्दिया,कपिलवस्तु — बढैयाताल गाउँपालिका–७, बकोटियामा करिब चार सय वर्ष पुरानो शिव मन्दिर जीर्णोद्धारको प्र्रतीक्षामा छ । भारतको लखनउस्थित भुलभुलैया दरबारसँग मेल खाने गरी निर्माण गरिएको संरचना ४० फिट अग्लो छ । छेउमा रहेको प्राचीन कुवा काठका पटराले छोपिएको छ । थारु समुदायमा बिहेबारीका बेला चाउर (चामल) धुन यहीँ पुग्छन् । धार्मिक महत्त्वको संरचनाको संरक्षणमा ध्यान पुगेको छैन । 

‘मन्दिर कहिले निर्माण भएको हो भन्ने यकिन जानकारी छैन,’ स्थानीय रामदयाल चौधरीले भने, ‘करिब चार सय वर्ष पुरानो भनिन्छ ।’ उनका अनुसार नियमित मर्मत नहुँदा भत्किने अवस्थामा पुगेको छ । ‘हामी त्यहीँ पुगेर पूजा गर्छौं,’ उनले भने । मन्दिरमा पालि भाषामा निर्माण मिति लेखिएको थियो । मन्दिर जीर्ण भएसँगै उक्त मिति पनि मेटिएको छ ।त्यसका लागि अनुसन्धान आवश्यक रहेको स्थानीयले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सयौं ऐतिहासिक सम्पदाको संरक्षण हुन सकेको छैन । यहाँका सयौं वर्ष पुराना शिवालय, मन्दिर, कुवा, मजारलगायत संरचना जीर्ण छन् । यहाँका एउटै गाउँमा दुई–तीनवटा शिव मन्दिर छन् । मन्दिरअगाडि भएका कुवा पुरिएका छन् । थारु समुदायमा बिहेबारीका बेला चामल धुन अनिवार्य शिवालयअगाडिको कुवामा पुग्नुपर्छ ।

अहिले धाराको पानीले काम चलाइन्छ । स्थानीय सरकार आएपछि पनि प्राचीन संरचना जोगाउन ध्यान पुगेको पाइँदैन । ‘हाम्रा पुर्खाले आफ्नै पौरख र लगानीमा निर्माण गरिएका ऐतिहासिक सम्पदाको संरक्षण नगर्ने हो भने भत्किएर जानेछ । नयाँ पुस्ताले पुर्खाको चिनो देख्न पाउने छैनन्,’ स्थानीय वीरबहादुर चौधरीले भने, ‘सहरमा सम्पदाको खोजीखोजी जीर्णोद्धार गरिँदै छ । गाउँका सम्पदाबारे ख्यालै छैन ।’

प्रदेश सांसद कविराम चौधरीले सम्पदा संरक्षण नभएको स्विकारे । प्राचीन संरचना संरक्षणका लागि पहल गर्ने उनले दाबी गरे । ‘ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी ध्यानै छैन । म संरक्षणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनलेभने, ‘संरक्षण गर्न नसक्ने हो भने इतिहास मेटिएर जानेछ ।’
यहाँका ऐतिहासिक मन्दिरमा बुद्धकालीन इँटा प्रयोग गरिएका छन् । जिल्लाको इतिहाससँग जोडिएको बारबर्दिया (१२ जना गोठाला) को समाधि रहेको सामरिक स्थानबारे खोजी भएको छैन । स्थानीयका अनुसार तिनै गोठालाले बर्दिया नाम राखेको मानिन्छ । बारबर्दियामा उक्त स्थानको सामान्य संरक्षण गरिएको छ । तर, त्यसको सामरिक महत्त्वबारे अनुसन्धान हुन सकेको छैन । ‘स्थानीय सरकारको ध्यान यस्ता सम्पदामा परेको छैन । ऐतिहासिक स्थानको पहिचान गरी अध्ययन हुनु जरुरी छ,’ थारु अगुवा गोविन्द चौधरीले भने, ‘यति पुरानो सामरिक सम्पदाको संघ र प्रदेश सरकारले पनि अनुसन्धान नगर्नु चिन्ताको विषय हो ।’

मन्दिरलाई सवा करोड

प्रदेश ५ सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तुमा मन्दिर बनाउन झन्डै सवा करोड रुपैयाँ विनियोजन गरेको छ । जिल्लाका ४ ठाउँमा गरेर १ करोड २० लाख रुपैयाँ निकासा गरेको हो ।

पर्यटन मन्त्रालयले डिभिजन वन कार्यालयमार्फत बजेट पठाएको छ । आवश्यकतालाई ख्याल गरिएको छैन । पहुँच र प्रभावका भरमा बजेट पठाएको स्थानीयले बताए । मन्त्रालयले वडा र स्थान तोकेर पठाएको छ ।

महत्त्वपूर्ण पर्यटकीय स्थल ओझेलमै छन् । वाणगंगा नगरपालिकामा दुई मन्दिर परेका छन् । ‘दक्षिणी क्षेत्रका मन्दिरले बजेट पाएनन्,’ साबिक सिर्सीहवा गाविसका पूर्वउपाध्यक्ष मुक्तेश्वर मिश्राले भने, ‘पँहुच भएकाले मात्र पाए ।’
वाणगंगा–८, लौगाईस्थित गणेश मन्दिरको पूर्वाधार विकास र सुन्दरताका लागि ५० लाख रुपैयाँ दिइएको छ । त्यहाँ हरित बगैंचा बनाउने भनेर काम भइरहेको छ । उपभोक्ता समितिले सम्झौता गरेर काम सुरु गरिसकेको छ । वाणगंगा–१, कैलाश आश्रमधामको पूर्वाधार विकास र सौन्दर्यकरण गर्न ५० लाख रुपैयाँ निकासा गरिएको छ । त्यहाँ पर्खाल निर्माण हुँदैछ । वाणगंगा–८ मा गत वर्ष बन्डीहुलीको मालिका भवानी मन्दिर र दुर्गा मन्दिर क्षेत्रमा पार्क निर्माण र सौन्दर्यकरणका लागि ४० लाख रुपैयाँ खर्च गरिएको थियो । तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिर संरक्षणका लागि १० लाख रुपैयाँ छ । मायादेवी गाउँपालिका–८, समयमाई मन्दिरलाई १० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यहाँ जग्गा नपाएकाले काम भएको छैन ।

जिल्लामा तौलेश्वरनाथबाहेक अन्य मन्दिर ठूला पर्यटकीय क्षेत्र होइनन् । स्थानीयले पूजाआजा गर्छन् । बाहिरबाट आउँदैनन् । मन्त्रालयले वाणगंगालाई मात्र प्राथमिकता दिएको छ । चालु आवमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष १ करोड १० लाख रुपैयाँ वाणगंगाका लागि छुट्याइएको थियो । वाणगंगाभन्दा अन्य स्थानीय तहमा धेरै पर्यटकीय सम्भावना बोकेका प्रशस्त ठाउँ छन् । ‘जिल्लाका अन्य गाउँ र नगरपालिका पनि थिए,’ स्थानीय कैलाश अग्रहरिले भने, ‘प्रदेश सरकारले नै उत्तर–दक्षिण क्षेत्रमा विभेद गरेको छ ।’ उनका अनुसार दक्षिणमा रहेका बुद्धस्थल बेवारिसे छन् । दयनीय र उपेक्षित भए पनि तिनको संरक्षण हुन सकेको छैन । कनकमुनि र क्रकुछन्द बुद्ध जन्मेको स्थल निग्लिहवा र गोटिहवाको बिजोग छ । प्रदेश सरकारले उपेक्षा गरेको गोटिहवाका प्रदीप चौधरीले बताए ।

पानीका लागि कुवा पूजा

तिलोत्तमा– तिलोत्तमा नगरपालिका–१३, सेमरीमा सयौं वर्ष पुराना चारवटा कुवा छन् । अहिले पनि ती प्रयोगमा छन् । ०४६ सालपछि यिनको विकल्पमा यहाँ चापाकल गाड्न थालिएको हो । चैत/वैशाखमा यहाँका चापाकल सुक्छन् । हाहाकार हुने ती महिनामा कुवाले सघाएको स्थानीय हरिनारायण चौधरीले बताए । ‘जसलाई जहाँ पायक पर्छ, त्यहीँ भर्छौं,’ उनले भने, ‘अहिले पिउनेबाहेक सबै काममा कुवाकै भर छ ।’

पुर्खाको चिनो अनि खडेरीको साथी भएकाले कुवा संरक्षण गर्नुपर्ने उनले बताए । गत वर्ष तिलोत्तमा नगरपालिकाले कुवा संरक्षणका लागि प्रतिकुवा ४० हजार रुपैयाँ उपलब्ध गराएको थियो । ‘पुराना भएकाले इँटा निस्कने, लेउ लाग्ने हुन्छ,’ उनले भने, ‘मर्मतका लागि बजेट चाहिन्छ ।’ तराईमा थारु समुदायले परापूर्वकालदेखि कुवाकै पानी प्रयोग गर्छन् । थारु समुदायले कुवालाई जलदेउता मानेर पूजा गर्ने संस्कार रहेको थारु कल्याणकारिणी सभा सिद्धार्थनगरका सचिव रेखाप्रसाद चौधरीले बताए । ‘शुभकार्यमा कुवा पुजिन्छ,’ उनले भने, ‘थारु संस्कारमा यो अनिवार्यजस्तै हो ।’

तिलोत्तम–१३ की ४० वर्षीया मीना थारु बार्‍हैमास कुवाको पानी प्रयोग गर्छिन् । ‘कुवाको पानी पिउन र भाँडा माझ्न प्रयोग गर्छु,’ उनले भनिन्, ‘अहिलेसम्म पानीका लागि यिनैको भर छ ।’ ७० वर्षीय गयाप्रसाद थारुले बाल्यकालदेखि कुवाको पानी प्रयोग गरिरहेको बताए । ‘घरअगाडि कुवा थियो,’ उनले भने, ‘त्यसकै पानी पिएर हुर्केको हुँ ।’ यी कुवा कहिले खनियो भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए । ‘कुवाको पानी खाएर बिरामी परेको थाहा छैन,’ उनले भने । काठका फल्याक वारपार राखेर पानी झिक्ने गरिएको छ । कहिलेकाहीँ काठ चिप्लिएर मान्छे इनारमा खस्ने गरेको भने उनले सम्झिए ।

स्थानीय चिन्की थारु कुवाकै पानीमा निर्भर छन् । खडेरीमा साथ दिने भएकाले देउतासरह कुवा पुज्ने गरेको उनले बताइन् । विवाहका बेला कुवाको पूजा गरेपछि मात्र जन्ती जाने वा मण्डपमा बस्ने चलन छ । फोहोर हुँदा निमका पात पिसेर कुवामा राखेमा कीरा मर्ने उनले बताइन् । स्थानीय हउली थारु ६० वर्षकी भइन् । पहिले गाउँभरि फुसका घर हुने र आगो छिटो सल्किने सम्झिँदै उनले भनिन्, ‘कुवा नभएदिए गाउँ नै सखाप हुन्थ्यो ।’ चैत/वैशाखको खडेरीमा एकैपटक सात/आठ जनाले कुवाबाट पानी झिकेर नुहाउने गरेको उनलाई सम्झना छ । तर, तिनको संरक्षण हुन नसकेको हउलीले बताइन् । ‘भाँडा माझ्दा, लुगा धुँदा फोहोर कुवामा जान्छ,’ उनले भनिन्, ‘स्याहार नै छैन, ढक्कनसम्म लाउन पाए राम्रो हुन्थ्यो ।’

प्रकाशित : फाल्गुन ५, २०७६ १२:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×