एकतामाथि कुनै दुविधा छैन : दाहाल

मधु शाही, रुपा गहतराज

बांके — नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका कार्यकतामाथि देखिएको दुविधा हटाउन प्रशिक्षण आवश्यक रहेको बताएका छन् । आइतबार कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले लामो समयदेखि पार्टी एकताको विषयमा कार्यकता र नेतृत्व तहबीच छलफल नभएको हुँदा दुविधा उत्पन्न हुनु स्वाभाविक भएको बताए ।

‘यसैका लागि प्रशिक्षण गरिएको हो’, उनले भने, ‘ढुक्क हुनुस् एकतामा कुनै दुविधा छैन।’


पार्टीको निर्णय अनुसार दुवै अध्यक्ष प्रशिक्षणमा सहभागी हुने थियो। तर, कार्य व्यस्तता र स्वास्थ्यस्थितिका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको उपस्थिति हुन नसकेको उनले जानकारी गराए। तर, यसको अर्थ दुवैमा वेमेल छ भन्ने होइन भन्दै प्रष्टिकरण पनि दिएका थिए। ‘हामी दुवै अध्यक्षले प्रशिक्षण दिने निर्णय गरेका थियौं’, उनले भने, ‘अरु प्रदेशमा सँगै हुन सक्छौं।’ पार्टी सुधार र पार्टी विस्तार नै प्रशिक्षणको मुख्य ऐजेन्डा रहेको उनले बताए।


नेपाल कम्युनिस्ट पार्टीको एकतापछि पहिलो पटक प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। बाँकेको कोहलपुर नगरपालिकास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा गरिएको प्रशिक्षण कार्यक्रममा स्थानीय कमिटी सदस्य, केन्द्रीय नेतृत्व, प्रदेश ५ का सम्पूर्ण जिल्ला र नगर कमिटीका कार्यकतासमेत उपस्थित थिए।

तस्बिर : मधु शाही


कार्यक्रममा कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल मुख्य प्रशिक्षक थिए। त्यस्तै, पार्टीका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर ‘बादल’, प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल लगायतले बोलेका थिए।

शंकर पोखरेलले प्रशिक्षण कार्यक्रममा पार्टी एकता भनेको चुनाव जित्नका लागि मात्रै होइन समाज बदल्ने दृष्टिकोण तयार गर्नका लागि पनि रहेको बताए।


प्रशिक्षणको मुख्य उदेश्य नै पार्टीमा एकलय सिर्जना गरेरअघि बढ्नु रहेको उनकाे धारणा थियाे। केन्द्रीय बैठकको निर्णय अनुसार फागुन ४ देखि प्रशिक्षणको तयारी सुरु भएको हाे।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम रहने छ। प्रकाशित : फाल्गुन ४, २०७६ २१:०९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नाकामै पुगेर यात्रु तानातान

नेपालगन्जका होटलले दसैंका यात्रुलाई ताकेर रपैडियामै बिचौलिया खटाएका छन् । उनीहरु आफ्नो होटलमा बसे रिक्सा भाडा तिर्न नपर्ने अफर गर्छन् । तर गन्तव्य पुगेपछि रिक्सावालाले तोकिएभन्दा पनि बढी झाडा माग्ने गरेको यात्रुको गुनासो छ । ५० रपैयाँ भाडादर तोकिएकामा १७ सयसम्म असुल्ने तीन रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
मधु शाही, रुपा गहतराज

नेपालगन्ज — रोल्पाका कुलबहादुर ओलीसहित १० जनाको टोलीले नेपाली सीमा टेक्नेबित्तिकै नमस्कार हजुर भन्दै एक हूल मानिस पुगे । सबैले आफ्नो होटलमा जाऊँ भन्दै ‘लबिइङ’ गर्न थाले । यात्रुसित नाता लगाउँदै आफ्नै होटलमा बस्न जिद्दी गरे । 

दसैंका यात्रुलाई लक्षित गरी नेपालगन्जका होटल र रिक्सावालाले नाकामै बिचौलिया खटाएका छन् । यसरी खटिएका व्यक्तिले रिक्सा भाडा नलाग्ने भन्दै ग्राहक तान्ने गर्छन् । शुक्रबार बिहान ८ बजे भारतबाट नेपालगन्जको जमुनाहा नाका आइपुगेका दाङका ३५ वर्षे धीरज पौडेल यसैगरी घेरिए । आफ्नो वरिपरि मान्छे देखेर सुरुमा आत्तिए । ‘कसको कुरा सुन्ने, कसको नसुन्ने ?’ उनले भने, ‘यहाँ एउटै रेट रहेनछ, मोलमोलाउ गर्दा फसिने डर ।’

सुर्खेतका गोविन्द जीसीसहित ५ जनाको समूह जमुनाहामा एक घण्टा अलमल पर्‍यो । बिचौलियाले झोला तान्दै लबिइङ गरिरहेका थिए । उनले आफन्तीलाई फोन गरेर बोलाए । ५० रुपैयाँ रिक्सा भाडा भन्दै गन्तव्य पुगेपछि ३ सय रुपैयाँसम्म माग्ने गरेको उनले सुनाए । ‘बिचौलियाले धोका दिएका छन्, धेरैपटक’ उनले भने । होटलका बिचौलियाले रिक्सा सित्तैमा मिलाइदिने भन्दै मान्छे लगेपछि सामान्य रिक्सावाला पीडित छन् । १० देखि २० जनाको हूलमा बाँधिएर आउने नेपालीलाई एउटै बिचौलियाले लैजाने गरेका छन् । रिक्सा चालक सुशील विकका अनुसार होटल व्यवसायीले रिक्सा सित्तैमा मिलाइदिने भन्दै यात्रु लैजाँदा उनीहरू जस्तालाई मर्का परेको छ । ‘निःशुल्क रिक्सा भनेर होटलमा ठग्छन्,’ उनले भने, ‘हामीले मान्छे नै राख्न पाएका छैनौं ।’

प्रहरी नायब निरीक्षक माधव रिजालले दसैंका लागि भारतदेखि आउने यात्रुले नाकामा सास्ती खेप्न नपरोस् भनेर कडा सुरक्षा तैनाथ गरेको बताए । उनका अनुसार यात्रु जबर्जस्ती तान्ने १० जना बिचौलियालाई जमुनाहाबाट पक्राउसमेत गरिएको छ । जमुनाहा नाका हुँदै नेपालगन्जसम्म आउन प्रतिव्यक्ति ५० रुपैयाँ रिक्सा भाडा तोकिएको छ तर ३ जना रिक्सा चालकले १७ सय रुपैयाँसम्म लिएको पाइएको प्रहरीले जनाएको छ । ‘नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति छ,’ रिजालले भने, ‘सकेसम्म व्यवस्थित गराउन प्रहरी लागिपरेको छ ।’

वर्षभरि कालापहाड, दसैंमा घर
कालीकोटका धनबहादुर घर्ती नेपाली नागरिकता खल्तीमा हालेर हरेक वर्ष भारत पस्छन् । यही उनको परिचयपत्र हो । उच्च पहाडी जिल्लामा घर, त्यहीँ बस्छन् परिवार सदस्य । वर्षभरि भारतमा कमाएको पैसा लिएर उनी हरेक दसैंमा घर आउँछन् । ५० कटेका उनी यसपालि बुधबार फर्किए । ‘थकाइ मेट्न आएको हुँ,’ उनले कान्तिपुरसित भने, ‘दुई–चार दिन घरमा बसेर फेरि कालापार (भारत) आउनु छ ।’

एक महिनायता नेपालगन्ज–रुपैडिया नाका हुँदै घर फर्किनेको लर्को लामो छ । कोही एक वर्षअघि त कोही गत बर्खामा खेतीपाती सकेर दसैं खर्च जोहो गर्न कालापहाड पुगेका थिए । नेपालगन्ज बजारभरि हातमा झोला र भारी बोकेका मध्य तथा सुदूर पहाडका सर्वसाधारणको लस्कर देखिन्छ । सल्यानका मोहनबहादुर बुढाले सिम्लामा दुई महिना स्याउ टिप्ने काम गरे । त्यसबापत लालाबालालाई कपडा र दसैंमा खानपिनका लागि खर्च जुटयो ।

फर्किदा एक पेटी स्याउको भारी कसे । रुपैडिहा नाका हुँदै घर आउने क्रममा उनको मुहार हँसिलो देखिन्थ्यो । ‘दसैं मनाउन घर सम्झेर आया हो,’ उनले भने, ‘खर्च नि उतैबाट ल्याछु ।’ उनको झोलामा तरकारीमा हाल्ने जीरा, मरमसला र लुगा छन् । ‘यहाँ किन्ने भनेको खसी मात्र हो,’ उनले भने, ‘त्यसका लागि पैसा जुटाउन भारत जानुपर्छ ।’

उनका दुई छोरा–बुहारी र पत्नी पनि भारतमै बस्छन् । जमरा राख्नुपर्ने भएकाले पत्नी घटस्थापनाभन्दा केही अघि नै आइसकेकी छन् । दैलेखका ६० वर्षीय अमर सिंहले दसैंका लागि भारतबाट ओढ्ने ओछ्याउनेदेखि घरायसी सामग्री बोकेर ल्याएका छन् । नेपालमा महँगो पर्ने हुँदा उतैबाट खरिद गरेको उनले बताए । ‘तीन महिना मजदुरी गरेर दसैं खर्च जुटाएँ,’ उनले भने, ‘तिहारसम्म पुग्छ । फेरि भारत पस्नुपर्छ ।’ उनी प्रत्येक वर्ष यसैगरी दसैंमा आउँछन् ।

भत्किन लागेको घर लिपपोत गरेर चिटिक्क पार्छन् । बसुन्जेल रमाइलो गर्छन् । फेरि घर एक्लै छाडेर भारत जान्छन् ।
पुर्ख्यौली जमिन भएकाले चटक्क माया मार्न सकेका छैनन् । जग्गाजमिन रेखदेख र घर लिपपोत गरेर सुरक्षित राख्नुपर्ने उनले बताए । ‘नाति–नातिनाले के गर्छन्, थाहा छैन,’ उनले भने, ‘बाँचुन्जेल दसैंमा घरै आउँछु ।’ नाकामा कोही एक्लै भेटिन्छन् । कोही हूल बाँधेर फर्किरहेका हुन्छन् । धेरैका हातमा झोला, काँधमा गुन्टा हुन्छन् । बर्दियाको बाँसगढी नगरपालिका–२ की टपकुमारी वली तीन दिनअघि रुपैडियामा भेटिइन् । सीमा काटेर जमुनाहा पुग्नेबित्तिकै घरमा छोरालाई फोन गरिन्, ‘म अब दुई घण्टामा पुग्दै छु ।’

उनको खुसीको ठेगान थिएन । स्याउ टिम्न सिम्ला गएकी उनी पाँच महिना बसेर फर्केकी हुन् । ‘दसैं मान्न आइयो,’ उनले भनिन्, ‘दुःख छ, त्यही पनि काम नगरे बाँच्न गाह्रो हुन्छ ।’ पतिको कमाइले घर खर्च नधानेपछि आफू पनि खटिनुपरेको वलीले बताइन् । ‘अब त जान्नँ, नेपालीलाई कुकुरजस्तै काम गराउँछन्,’ उनले भनिन्, ‘जसोतसो गाउँघरमै काम खोज्नुपर्ला ।’

जाजरकोटका रामबहादुर बुढा खेतीपाती सकेर दसैं खर्च जोहो गर्न भारत गए । फर्किंदा ३० हजार भारतीय रुपैयाँ ल्याएको उनले बताए । ‘धेरै कमाउन सकिएन । २ महिनामा के कमाउनु ?’ उनले भने, ‘जसोतसो दसैं टर्छ अनि फेरि जान्छु ।’ तीन दिनअघि भारतबाट हिँडेका उनीहरू गत मंगलबार रूपैडिया आइपुगेका हुन् । भारतको सिम्ला, प्रयाग, हरिद्वार, कालापहाडबाट घर फर्किने धेरै छन् । टीकासम्म यसरी आउने क्रम चलिरहन्छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×