प्रदेश सरकारका दुई वर्ष : मुख्य मुद्दा नटुंगिँदा उपलब्धि ओझेल- प्रदेश ५ - कान्तिपुर समाचार

प्रदेश सरकारका दुई वर्ष : मुख्य मुद्दा नटुंगिँदा उपलब्धि ओझेल

नाम र राजधानी टुंगो नलगाए पनि विकास र समृद्धिका आधार तयार पारेको सरकारले कृषिमा व्यवसायीकरण, रोजगार प्रवर्द्धनलाई जोड दिएको छ
घनश्याम गौतम

(रूपन्देही) — प्रदेश सरकार गठन भएको शनिबार दुई वर्ष पुरा भएको छ । शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि विकास र समृृद्धिका आधार तयार भने गरेको छ । अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदैछ । तर, सरकार विवादको भुमरीबाट उम्कन सकेको छैन । पहिलो वर्ष सवारी खरिद प्रकरण र दोस्रो वर्ष कृषि अनुदानको अनियमितताले सरकार सुशासनको पाटोमा चुकेको हो ।

सरकारले प्रदेशको भौगोलिक अवस्थाको विश्लेषण गर्दै कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखेको छ । प्राथमिकताका योजना कार्यान्वयन गर्न प्रोफाइल तयार गरेर काम गर्दै छ । प्रादेशिक योजना आयोगबाट पाँचवर्षे आवधिक योजना तयार भई त्यसैअनुसार विकासका योजना र काम अघि बढ्दै छन् । प्रदेश विकास परिषद्ले प्रदेशको आवश्यकता पहिचान गरेर योजना छनोटमा सहयोग गर्दै आएको छ । सरकारको योजना कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन तयार भएका छन् । अहिलेसम्म ४८ कानुन तयार भएका छन् । तिनका ऐन र नियमावली बन्दैछन् ।


समग्रमा प्रदेश सरकार विकासको गतिमा अघि बढ्न थालेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । ‘सरकार जनताले महसुस गर्ने गरी अघि बढेको छ,’ उनले भने, ‘अहिले धमाधम बजेट र योजना कार्यान्वयन हुन थालेका छन् ।’ उनका अनुसार सरकारले दुई वर्षको अवधिमा प्रदेशमा १ सय २० किलोमिटर नयाँ ट्र्याक, २ सय ५८ किलोमिटर ग्राभेल, २ सय ६९ किलोमिटर कालोपत्रे र ७१ किलोमिटर कालोपत्रेका लागि तयारी अवस्थामा राखेको जनाएको छ । त्यस्तै १७ सय ९४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा, १० जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, १ हजार ७८ घरधुरीमा सौर्य ऊर्जा, जनता आवास कार्यक्रमअन्तर्गत १८ सय २६ घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । सडक, खानेपानी, सिँचाइलगायत दुई सय बढी योजना ठेक्का लागेर तीव्र कामको चरणमा छन् ।


सरकारले भौतिक पूर्वाधार र मानवीय पुँजीको विकासका लागि सामाजिक न्यायमा आधारित सन्तुलित विकास गरी गुणस्तरीय जीवन र दिगो विकासका लक्ष्य हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई आधार बनाएर सरकारले लिएको ‘समृद्ध प्रदेश, खुसी जनता’को लक्ष्य पहिल्याउने गरी काम भइरहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले बताए । ‘जनताका आवश्यकताअनुसार विकासको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढेको छ,’ उनले भने, ‘धेरै योजना कार्यान्वयनमा र सम्पन्नको चरणमा रहेकाले छिट्टै त्यसको अनुभूति जनताले गर्नेछन् ।’


सरकारले कृषि क्षेत्रमा उर्वरभूमिको व्यावसायीकरण, कृषिमा यान्त्रीकरण, कृषिकर्मी रोजगार प्रवर्द्धन, स्मार्ट कृषिगाउँलगायत कार्यक्रम सञ्चालन गरेको छ । कृषिमा अभियानमुखी मिसन कार्यक्रम, नवीनतम तथा उच्च मूल्यका बालीको खेती विस्तार, पशुपंक्षी, मत्स्य र जडीबुटी विकास तथा प्रवर्द्धनका कार्यक्रम पनि छन् । स्मार्ट कृषिगाउँ कार्यक्रमलाई मन्त्रालयको गौरवको आयोजनाका रूपमा ५२ गाउँमा कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष थप २४ स्थानमा यो कार्यक्रम विस्तार हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए । स्थानीय तहसँगको सहकार्यमा ७ करोड पुँजी परिचालन र १३ करोड ५६ लाख अनुदान सहयोगमा ७८ स्थानीय तहमा कृषितर्फ ५७ र पशुपक्षीतर्फ ४४ गरी १ सय १ आयोजना सम्पन्न भएका छन् ।


सरकारले प्रदेशका महत्त्वपूर्ण गन्तव्य प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, गुल्मीको रिडी र रेसुंगा, रोल्पाको जलजला र थबाङ, पाल्पाको रानीमहल, दाङको धारापानी र रिहार, बाँकेको बागेश्वरी र बर्दिया राष्ट्रिय निकुञ्जलाई प्राथमिकतामा राखेर प्रवर्द्धनका काम गरिरहेको छ । पाल्पा, रूपन्देही र दाङमा सांस्कृतिक संग्रहालय तथा दङ्गीशरणमा थारू संग्रहालय निर्माण र बाँकेमा मानसरोवरको प्रतीकात्मक स्वरूप निर्माणको काम सुरु भएको छ । प्रदेशका सबै स्थानीय तहमा एक उद्योग ग्राम स्थापना गर्ने गरी सम्भाव्यता अध्ययन सुरु भएको छ ।


भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर स्थानीय तहदेखि केन्द्र जोड्ने पहुँच मार्ग निर्माणको काम अघि बढाएको बताए । यस वर्ष रूपन्देहीको मर्चवारीमाई थान पहुँचमार्ग, पाल्पाको श्रीनगर र रानीमहल पहुँचमार्ग, अर्घाखाँचीको पाणिनि पर्यटनस्थल पहुँचमार्गसहित अन्य जिल्लाका १४ पर्यटकीयस्थलमा पहुँचमार्ग निर्माणको काम भइरहेको छ । ‘प्रदेशमा २१ सडक र पुल निर्माणाधीन अवस्थामा छन्,’ उनले भने, ‘चालु आवमा ३० सडक र पुल निर्माणको काम टेन्डर प्रक्रियामा छ ।’


सरकारले गत वर्षको तुलनामा चालु वर्षमा बजेट खर्च प्रतिशत बढाउने संकेत देखिएको छ । गत वर्ष पुस मसान्तसम्म कुल बजेटमध्ये ७ दशमलव ९७ प्रतिशत मात्रै खर्च गरेको थियो । चालु वर्षको त्यही अवधिमा विनियोजित ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमध्ये १८ दशमलव ६४ प्रतिशत खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले बताए । माघ मसान्तसम्ममा २२ प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जनाएको छ । यस वर्ष चालुतर्फ विनियोजित १७ अर्ब ८४ करोडमध्ये ४ अर्ब ७ करोड, पुँजीगततर्फको १८ अर्ब ५७ करोडमध्ये ४ अर्ब १९ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ ।


असन्तुष्ट प्रतिपक्ष

सरकारका कामप्रति प्रतिपक्ष भने पूर्ण असन्तुष्ट देखिएको छ । पहिलो वर्ष नै टुंग्याउनु पर्ने नाम र स्थायी राजधानी टुंगो लगाउनेदेखि प्रतिफल दिने कुनै काम गर्न नसकेको कांग्रेसको आरोप छ । कांग्रेस प्रदेश सभा सदस्य फकरुद्दिन खानले सरकार आभास र अनुभूति दिन चुकेको बताए । ‘न नाम र स्थायी राजधानी दियो, न सरकारको गति, आकार र स्पिड नै बढेको छ,’ उनले भने, ‘केही थान बजेट खर्च गर्दैमा विकास मान्न सकिँदैन, किनकि हिजो तत्कालीन जिविसले पनि बजेट खर्च गर्ने गरेका थिए ।’


सरकार हरेक वर्ष अनियमितताका घटनामा विवादित बन्ने गरेको छ । पहुँचवालाका नाममा अनुदानदेखि अन्य रकम र सुविधा पुगेका छन् । जनता विकास माग्न कागजपत्र बोकेर काठमाडौं धाउनुपर्ने अवस्थासमेत अन्त्य हुन नसकेको खानले बताए । मुख्यमन्त्री आफैं पनि त्यो अधिकार स्थापित गराउनबाट चुक्दा अखण्ड नेपालभित्रको स्वायत्त र अधिकारसम्पन्न प्रदेश बन्न नसकेको उनको दाबी छ ।


९० जना सम्मानित

रूपन्देही (कास)– प्रदेश ५ सरकारको दोस्रो स्थापना दिवस पारेर शनिबार यहाँ झाँकीसहितको र्‍याली निकालिएको थियो । बुटवल बहुमुखी क्याम्पसमा आयोजित दिवस समारोहमा मुख्यमन्त्री शंकर पोखरेलले सरकार समृद्धिको बाटोमा अघि बढेको बताए । ‘सानो संरचनाबाट बजेट पूर्ण खर्च गर्ने अवस्थामा आइपुगेका छौं,’ उनले भने, ‘त्यसले नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्दै छ ।’ दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ३५ जनालाई प्रदेश पदकबाट सम्मान गरिएको छ ।


दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रदेश ५ बाट सहभागी भएर स्वर्ण, रजत र कांस्य पदक जित्ने ४४ खेलाडी, प्रदेश स्थापना दिवसको अवसरमा आयोजना गरिएको खुला कविता वाचन प्रतियोगिताका विजेता ६ जना, मुख्यमन्त्री कार्यालयले आयोजना गरेको १६ दिने लैंगिक हिंसाविरुद्धको कार्यक्रमअन्तर्गत निबन्ध प्रतियोगिताका विजेता ५ जना र बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति र संस्था गरी ५ जनालाई पुरस्कृत एवं सम्मान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत देवीराम पाठकले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

काेराेना प्रकाेप : मृतकको संख्या १६ सय नाघ्याे, ६९ हजार बढी संक्रमित

एपी

बेइजिङ — चीनको वुहानबाट फैलिएको कोरोना भाइरबाट संसारभर ६९ हजार बढी मानिस संक्रमित भएका छन् । पछिल्लाे तथ्या‌ंकअनुसार  ६९ हजार १९५ जना मानिसमा काेराेना संक्रमण फैलिएकाे छ भने १६ सय ६९ जनाकाे भाइरसकै कारण मृत्यु भइसकेकाे छ ।

काेराेना संक्रमितमध्ये ९ हजार ४ सय ६५ जना निको भइसकेका छन्।

विभिन्न देशका सरकारी स्वास्थ्य अधिकारीहरुले उपलब्ध गराएको तथ्यांक अनुसारको विवरण यस प्रकार छ ।
कहाँ कति संक्रमित ?
चीन- १,६६५ मृत्यु, ६८,५०० संक्रमित
हङकङ- १ मृत्यु, ५६ संक्रमित
जापान- १ मृत्यु, ३३७ संक्रमित
फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित
फ्रान्स- १ मृत्यु, १२ संक्रमित

संक्रमित मात्रै

मकाउ- १०
सिंगापुर- ७२
थाइल्यान्ड- ३४
दक्षिण कोरिया- २९
मलेसिया- २२
ताइवान- १८
भियतनाम- १६
जर्मनी- १६
अमेरिका- १५
अस्ट्रेलिया- १४
बेलायत- ९
यूएई-
क्यानडा- ८
भारत- ३
इटाली- ३
रुस- २
स्पेन- २
बेल्जियम- १
नेपाल- १
श्रीलंका- १
स्वीडेन- १
कम्बोडिया- १
फिनल्यान्ड- १
इजिप्ट- १

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×