मानव बेचबिखनको आरोपमा दुई पक्राउ

कमल पन्थी

बर्दिया — ‘विवाह गर्छु’ भन्दै एक युवतीलाई भारतमा बेच्‍न लैजाने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षीया युवतीलाई ललाइफकाइ भारत लैजान खोज्ने मधुवन–३ ओराली बजार खातागाउँ घर भएका २१ वर्षीय राहुल बुढा क्षेत्री र मधुवन–३ विपतपुरगाउँका ६० वर्षीया सुलचना पाण्डेलाई धनौरा नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । युवतीको उद्धार गरी परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।


पक्राउ पर्नेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बास्तोलाले जनाए ।

प्रकाशित : फाल्गुन ३, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

फोक्सुन्डोमा कान्जिरुवाको छाया

फोक्सुन्डोको तीरैतीर कसले बनायो होला यो अक्करको बाटो ? जुन बाटोको डिलमा मृत्युले सुनिबसेको छ प्रत्येक हिँडालुको पैतालाका आवाज । पैतालाले केही गरी ठेगाना बिर्से सोझै मृत्युले समाउने निश्‍चित छ !
हेमन यात्री

बिहान ८:०० बजे नेपालगन्जबाट बस छुट्‍यो । पश्चिम रुकुमको खलङ्गा पुग्दा सारा दिन रित्तिइसकेको थियो । अँध्यारोमा, गहिरोमा ठूलो भेरि नदीको आवाज मात्रै सुन्न सक्थ्यौँ हामी । रुडीबजारबाट जिप चढ्नुअघि ठूलो भेरी नदीमा टाँगिएको पुलमाथि हिँडिरहेका थियौँ ।

पुलमा नदीको आवाज र चिसो सिरेटोबाहेक केही थिएन । मधुरो जूनको उज्यालो खसिरहेको थियो भुइँमा । ठूलो भेरिको झोलुङ्गे पुल तरेपछि जूनको उज्यालोमा हामीलाई लिन आएको बुलेरो उभिइरहेको देखियो । हामीले जिपको छानोमा झोला राख्यौँ । सिटको क्षमताले नभ्याएपछि कोही झोलाका साथी बस्यो । बिस्तारै अँध्यारोमा जिपले बसेको ठाउँ छोड्यो । रसिक ड्राइभरले अक्करको बाटोमा, रमाइला कथा सुनाउँदै ज्युला पुर्‍याए । बिहानदेखि लगातारको यात्राले दुखिरहेको शरीरलाई करिब १२ घण्टापछि एउटा होटलको कोठामा आराम दियौँ ।

बिहान ब्युँझँदा, नजिकै बगिरहेको ठूलो भेरी हल्ला गरिरहेकै थियो । जस्तो निदाउनुअघि थियो । यहाँबाट सुलिगाडसम्म अझै जिप चल्थ्यो । तर, बन्दको हल्लाले गाडी चल्ने–नचल्ने टुङ्गो थिएन । गाडी नचले त त्यहीँबाट हिँड्नुपर्थ्यो हामीले । झिसमिसेमै बास छोडेर गाडी खोज्न हिँड्यौँ । संयोगले यात्रु पर्खेर बसिरहेको एउटा पुड्को गाडी भेटियो । त्यही गाडी समातेर लाग्यौँ, ठूलो भेरीको उकालो डिलैडिल ।

दिनको एक बज्दो हो । सुलिगाड पुग्दा चारओटा गाडी साटिसकेका थियौँ हामीले । सीमित दूरीका लागि मात्रै चल्ने सडक सुबिधा भएकाले एकभन्दा बेसी साधन परिवर्तन गर्नुपर्ने रहेछ । भर्खरै मात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको डोल्पा सदरमुकाम पुग्ने सडकमा भेरी नदी बाधक बनेको हो । नदीको दुवैतिर बनेको छ बाटो । तर, गाडी बाटोले भने भेरि तर्नै पाउँदैन । कसैले बारी किनारमा गाडी गुडाउँछन्, कसैलो पारी । पक्की पुलको अभावमा गाडीले नदी तर्नै सक्दैन । वारिपट्टि गुड्ने स्याना गाडीहरूलाई एक्स्काभेटरको सहयोगमा नदी तारेर सञ्चालनमा ल्याइएको रहेछ ।


सुलिगाडबाट डोल्पाको सदरमुकाम दुनै नजिकै पर्छ । ठूलो भेरीको किनारमै बसेको छ दुनै बजार । दसवर्षे युद्घताका माओवादीले हमला गर्दा होस् वा बर्सेनि बाढीको उच्च जोखिममा पर्दा होस्, डोल्पा सदरमुकाम सधैँ चर्चामा आइरहने ठाउँ हो । हेर्दा जति सुन्दर देखिएको छ, भोग्दा कति कुरूप छ भन्ने अनुभव बर्सेनि बाढीको हैरानीमा परेका सदरमुकामवासीलाई मात्रै थाहा छ । नदीको दायाँबायाँ बसेको सुन्दर दुनै बजार, हरेक बर्खामा त्रास लिएर बाँचिरहेको एक अभागी बजार हो । सुलिगाडबाट एउटा धूलौटे मोटर बाटो त्यही अभागी बजार भएतिर भाग्य खोज्न गएको छ । सुलिगाडबाट झोलुङ्गे पुल तरेपछि अर्को एउटा गोरेटो बाटो भेटिन्छ, जुन बाटो भएर फोक्सुन्डो ताल
पुग्न सकिन्छ ।

झमक्कै साँझ परेपछि पनि समय अझ उता भागिसकेको थियो । लगभग अध्यारोले हिँड्ने बाटो छोपिसकेको थियो । एकतमासले बाटोको छेउमा हल्ला गर्दै फोक्सुन्डो खोला ओरालो दौडिरहेकै थियो । मानौँ आफ्नो सर्वस्व खोसेर भागिरहेको छ कोही, जसलाई खोस्न बेतोड दौडिरहेको छ फोक्सुन्डो खोला । उज्यालो छउन्जेल जङ्गजको बीचैबीच निक्खुर सेतो रङ ओडेर बगिरहेको फोक्सुन्डो खोला, जति जति माथि गयो उति रहरलाग्दो देखिँदै थियो । मानौँ फाक्सुन्डो खोलामा पानी होइन, हिउँ बगिरहेको छ । फोक्सुन्डो खोलाको वेगविपरीत दिशामा हिँडिरहेका थियौं हामी । खोलाको रूप र तिनले निकाल्ने अनेक प्रकारका ध्वनिको रोमाञ्चकताले हामी यात्रीको थकाइसमेत कम गरिदिएको थियो ।

हिँडाइको अघिल्लो समूहमा थियौँ हामी । छिटो लम्कनेहरू बाटामा अघि नै हुने गर्छन् । बिस्तारै हिँड्ने पछि । यहाँ स्वाभाबिक समूहको निर्माण भइहाल्छ । अभय श्रेष्ठ, भूपिन, दीपेन्द्र र म अघिल्लो समूहमा थियौँ । हाम्रो समूहको सबैभन्दा पुच्छरे म । हिँड्दै जाँदा पूरै अँध्यारोले छोपिसकेको थियो बाटो । कतिसम्म भने अघि हिँड्ने साथीहरूको स्टिक र पाइलाको आवाज ठम्याएर हिँड्नुपर्ने भइसकेको थियो । फोक्सुन्डो खोलाको हल्लाको अघि त्यो ठम्याइ पनि कति मुस्किल थियो । त्यही क्षण, अप्ठ्याराको साक्षी छँदै थियो । मभन्दा ठीकअघि हिँडिरहेको भूपिन ढुङ्गाले बनेको मझौला सिँडी उक्लेर बोल्यो— बल्ल आइपुगियो । मैले मनमनै खुसीको श्वास फेरेँ । अहिले सोच्दै छु म, हिँड्न कति मुस्किल भएको रहेछ ।

स्याङ्ता
नेपालगन्जबाट हिँडेको दोस्रो साँझ स्याङ्तामा बास बस्न पुगेका थियौँ हामी । एकान्त र दुःखको साथी रहेछ स्याङ्ता । फोक्सुन्डो खोलाको सुसाइबाहेक कोही रहेनछ साथी । चारतिर डाँडा, खोँचमा ओरालो बग्ने फोक्सुन्डो खोला । फोक्सुन्डो किनारमा स्यानो स्पेस रहेछ । त्यही स्यानो स्पेसको नाम हो स्याङ्ता । स्याङ्तामा पाहुना बस्ने घर बनेको छ— बडेबडे ढुङ्गाको काख । ढुङ्गाको भरमा बनेको तीनकोठे घर, काम चलाउ मात्रैको हो । यसलाई व्यवस्थित ओडार भनिदिँदा पनि हुने हो । किनभने घरको आधा पर्खाल त्यही गडुवा ढुङ्गाले निर्मित छ । स्याङ्तामा भएको होटल भने पनि, घर भए पनि, ओढार वा जे भने पनि यही एउटा मात्रै हो बस्ने ठाउँ । ठूलो समूहमा आउनेका लागि अपुग हुन्छ बस्नलाई । हाम्रो १५ जनाको समूहलाई अट्न मुस्किल भएर भान्सा घरमा समेत केही साथी बसेका थिए । स्याङ्ता एकदमै एकान्त र निर्जन जग्गा रहेछ । बाटो हिँड्ने बटुवाबाहेक यहाँ नजिक अर्को कुनै घरमा बस्ने मानिस भेटिने होइन । खै कुन साहसले हो, वा बाध्यताले यति एकलासमा एक्लो घर मात्रै बस्न सकेका ? दन्त्य कथाहरूमा आउने दृश्यजस्तो यो ठाउँ सायद हामीजस्तै अप्ठ्याराका बटुवालाई पर्खिबसेको चौतारो हो, जसले हामीलाई एकरात आफ्नो काखमा निदाउने ठाउँ दियो ।

अघिल्लो दिन स्याङ्ता पुग्दा हिँडाइको धपेडीले जाडोको खास महसुस गर्न पाएनौँ हामीले । बिहान बिउँझेर बाहिर निस्कँदा शीतले भिजेका थिए बुट्यान, चट्टान र सल्लाका रूखहरू । असार महिना शीत खस्ने ठाउँ, हिउँदमा के हाल होला ? सोच्दै स्याङ्ताको आकाश हेरेँ । बिहानको स्याङ्ताको आकाशमा खरानी रङमा कुहिरो उडिरहेको थियो । दिनको सङ्केत बिहानले गर्छ भनिन्छ । आजको दिन मौसम कस्तो रहने हो ? दिनभरि हिँड्ने बाटो सम्झेर आकाश हेर्नु र झरी नपरोस् भन्ने कामना जो कोही बटुवाले गर्ने नै भयो । मैले पनि त्यही गरेँ ।


बिहानको करिब ७ बजे स्याङ्ता छोडिसकेका थियौँ । बाटो उही । फोक्सुन्डो खोलाको तिरैतिर । फोक्सुन्डो खोलाले, ताल नपुगुन्जेल हामीलाई एक्लै हिँड्नै दिँदैन भन्ने थाहा भईसकेको थियो हामीलाई । तर, रमाइलो के भने फोक्सुन्डो खोलाले कही पनि दिग्दार बन्नै नदिने । कतै चेपबाट निस्किएर बग्ने, कतै जङ्गलको बीचबाट फुत्त हामफालेर निस्केजस्तो देखिने । कतै हिउँ जमेजस्तो देखिने, कतै हिउँ पग्लेर बगेजस्तो देखिने, अनेक चरित्र प्रदर्शन गरेर हामीलाई खुसी बनाइरहने । तर, बाटो भने ज्यादै साँघुरो । कुनै–कुनै ठाउँ झन् यति जोखिम् कि, दोहोरो क्रस गर्ने ठाउँ समेत नपाइने । केही गरी खुट्टाले बाटो छोडिहाले जिन्दगी माया मारे भयो ।

फोक्सुन्डो खोलाको तीरैतीर कसले बनायो होला यो अक्करको बाटो ? जुन बाटोको डिलमा मृत्युले सुनिबसेको छ प्रत्येक हिँडालुको पैतालाका आवाज । पैतालाले केही गरी ठेगाना बिर्से सोझै मृत्युले समाउने निश्चित छ । केही अघि लोमान्थाङको यात्रामा समेत यस्तै डरको बाटो हिँड्नुपरेको सम्झना भएर आयो । पत्थरबीच खोपेर बनाइएको स्यानो बाटो भएर गुड्नुपर्थ्यो गाडी । बाटोमुनि फोक्सुन्डो खोलाझैँ बग्ने काली गन्डकी मात्रै देखिने । हिम्मतले आफ्नो स्थायी बास छोडेपछि गाडीबाट ओर्लिएर हिँडेको थिएँ म । खास जिन्दगीको माया यस्तै अप्ठ्यारा क्षणहरूमा त लाग्नेरहेछ नि ! नत्र त मान्छेजस्तो थेतरो जात दुनियाँमा अर्को कोही होला र ? जस्तो त्यही दिन समूहका साथी चन्द्र काफ्ले, सुरेन्द्र राना र मेरो हिँडाइ यति थेतरो थियो भने, स्याङ्तादेखि बिहानको खाना खाने ठाउँ पुग्नलाई सामान्यतया चारदेखि पाँच घण्टामा पुग्न सकिने दूरीलाई हामीले झन्डै दोब्बर समय लगायौँ । त्यस दिन फोक्सुन्डो ताल नपुगिने पक्का भएपछि अटेर गर्दै हिँडेका थियौँ । हाम्रो हिँडाइ अति अस्वाभाविक भएको भन्दै खाना खाने ठाउँमा पर्खी बसेका साथीहरू रिसाइरहेका थिए । तर, बाटामा हामीले जुन आनन्दको हिँडाइ हिँड्यो त्यसको अघि साथीहरूको रिस फिक्का–फिक्का लागिरहेको थियो ।

साइजलको साँझ
साइजल पहाडहरूको बीचमा टुक्रुक्क बसेको छ । स्यानो गाउँ छ त्यहाँ । स्यानो उपत्याकाजस्तो पनि लाग्ने । डोल्पाकै नमुना स्कुल तापिरिचा स्कुल र केही होटल, र घरहरू छन् त्यहाँ । दिउँसो हाम्रो अल्छीपना सङ्ग साथीहरू रिसाएपछि हामीले आफ्नो रफ्तार बढाएका थियौँ । र्‍याँचीबाट करिब डेढ घण्टा हिँडेपछि साइजल पुगिसकेका थियौँ । साइजल पुग्दा त्यहाँको होटल झरनाले स्वागत गरिरहेको थियो । अतिथिका लागि राम्रो खाना र बस्ने सुविधा उपलब्ध रहेछ होटल झरनामा । फोक्सुन्डो ताल पुग्नुअघि पर्यटकहरू प्रायः यही होटलमा बसेर जाने रहेछन् । छिटफुट आन्तरिक पर्यटक हुने भए पनि अफ सिजन भएकाले बाह्य पर्यटक कमै भेटिन्थे । होटलमा भूपिन हामीभन्दा केहीअघि नै पुगिसकेको रहेछ । साइजलको चिसोमा तातो पानी तताएर तोङ्बा तान्न सुरु गरिसकेको थियो उसले ।

गनेस र मेरा लागि पनि तोङ्बा भिज्यो । साथमा चौंरीको सुकुटी तयार भयो । दिनभरको थकान भेट्दै रात अबेरसम्म तोङ्बामा तातो पानी राख्दै चुस्की लिरह्यौँ । तोङ्बा उसै पनि मेरो प्रिय पेय पदार्थ हो । तोङ्बा पिउनुको अर्को फाइदा के हो भने, चाहेजति पानीको मात्रा राखेर पिउन सकिन्छ । अर्को अर्गानिक बान्की र अल्कोहलको मात्रा ज्यादै कम हुन्छ । गाउँघरमा तोङ्बालाई अल्कोहलको रूपमा नभई खाजाको रूपमा प्रयोग गर्ने चलन छ । आफ्नै घरमा तयार हुने तोङ्बा डोल्पाको यो बिरानो गाउँमा उपलब्ध हुँदा मैले आमाको सम्झना गरेको थिएँ । कहिलेकाहीं घर जाँदा आमाले बनाएको तोङ्बाले दिने मिठो निद्रा साइजलमा समेत अनुभव गर्न पाइयो ।

फोक्सुन्डो ताल
ए हजुर ! अब फोक्सुन्डो ताल पुग्न कति लाग्छ ? झरना होटलबाट हिँडेको पाँच मिनेटपछि मुखमा आउन थालेको प्रश्न हो यो । होटलबाट हिँडेको करिब पाउने तीन घण्टासम्ममा म आफैँले करिब तीसपटक त दोहोर्‍याएँ हुँला एउटै प्रश्न । यतिका पटक एउटै प्रश्न सोधे पनि अचम्म के भने जवाफ कसैको एउटै आउँदैनथ्यो । सरदर आधा घण्टादेखि तीन घण्टासम्मको बीचमा जतिजति समय निस्कन्छ, त्यतित्यति जवाफ दिँदै गए बटुवाहरूले । आ–आफ्नो हिँडाइको वेगअनुसार समय निर्धारण गर्दै प्रश्नको जवाफ फर्काए उनीहरूले । त्यो निधारै ठोक्की जाने उकालो पार गर्नलाई हाम्रै समूहमा पनि फरकफरक समयको हिसाब थियो ।


उकालो सकिएपछि पर देखिन्छ फोक्सुन्डो ताल । निक्खुर नीलो रङमा देखिएको फोक्सुन्डोभन्दा माथि नीलै आकाश छ । आकाशलाई छोएर उभिएका छन् सेताम्मे हिमालका चुचुरा । हिमालका तलतल खप्टिएर बसेको छ पहाड, पर्वत । त्यही अग्ला–अग्ला पहाडबाट चिप्लिएर बग्दै झरेको हो, फोक्सुन्डो ताल । कम्तीमा टाढाबाट त यस्तै देखिन्छ फोक्सुन्डो ताल । पर देखिने फोक्सुन्डो तालबाट बग्दै–बग्दै आएको पानी हामीबाट तल झरनाको रूपमा देखिन्छ । हो, त्यही झरना झर्दै–झर्दै फोक्सुन्डो खोला भएर बगिजान्छ ओरालो । जुन खोलाको तीरैतीर तीन दिनदेखि हिँडेर त्यो उचाइमा उक्लेका थियौँ हामी । ३७०० मिटरको उचाइबाट देखिएको फोक्सुन्डो ताल पुग्न करिब सय मिटर ओरालो झर्नुपर्ने रहेछ ।

पन्ध्र–बीस मिनटको लम्काइपछि पुग्यौँ, ताल नजिकको सुन्दर गाउँ– रिग्मो । बीस–पच्चीस घर रहेको रिग्मो गाउँलाई एकादेशको गाउँ भनिदिए पनि हुन्छ । आफ्नै स्वभाव, आफ्नै रङ, आफ्नै बैँस, आफ्नै सौन्दर्यसहित बाँचेको छ यो गाउँ । यही गाउँको आडमा बसेर धीत मरुन्जेल हेरेको हुँ फोक्सुन्डोलाई । मौसमअनुसार आफ्नो रूप परिवर्तन गरिरहने फोक्सुन्डोलाई नजिक पुगेर हेर्दा यस्तो लाग्यो, फोक्सुन्डो जानुभन्दा पहिले गुगल गरेर हेरेको तस्बिरभन्दा कैयौँ गुणा बेसी सुन्दर रहेछ यो ताल । आजसम्म प्रकृतिले यति मोहित बनाएको कुनै ठाउँ छ भने त्यो जरुर फोक्सुन्डो नै हो कम्तीमा मेरानिम्ति ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×