कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई वर्षपछि छोरो भेटिँदा ...

मनोज पौडेल

(कपिलवस्तु) — दुई वर्षसम्म छोराको खोजी गरिन् । चिन्ताले हाडछाला भइन् । आस मारेर बसिन् । एकातिर श्रीमान्को अपहेलना । त्यसमाथि छोरो हराएपछि बिरक्तिएकी थिइन् । अहिले खुसी फर्किएको छ । उद्धारकर्ता भूमिराज भट्टराईले फोन गरेर घोराही उपमहानगरपालिका–१५ की शोभा केसीलाई छोरो फेला परेको सुनाए । ‘ठूलै युद्ध जिते जस्तो भयो,’ उनले भनिन्, ‘सुरुमा विश्वासै लागेन ।’ 

दुई वर्षपछि छोरो भेटिँदा ...

जब पत्याइन् । त्यसपछिका प्रत्येक मिनेट एक दिनभन्दा बढी लाग्न थाले । कतिखेर भेटुँ जस्तो भयो । रातभरि सुत्न सकिनन् । ‘मन सम्हालेर जिल्ला प्रहरी छिरें,’ बिहीबार उनले भनिन्, ‘तीन बालक चौतारीमा बसेको देखें ।’ तीनमध्ये एक १० वर्षीय रामु पनि थिए । उनलाई देखेपछि भक्कानिँदै अँगालामा हालिन् । खुसी थाम्न सकिनन् । गालामा म्वाइँ खाइन् । रुँदै छोराले आमाको आँसु पुछे । कान्छा छोरा रामु ०७४ पुस ११ बाट अन्नपूर्ण डाँडामा घुम्न गएका बेला हराएका थिए । दुई साथीले रेल हेर्न जाम भनेपछि भारतको गोरखपुर पुगेको रामुले बताए ।


त्यहींबाट उनी झारखण्डको राँची पुगे । उनका साथीहरू गोरखपुरबाट फर्किए । राँचीबाट उनको स्थानीय बालकल्याण समितिले उद्धार गरेको थियो । लामो समय स्थानीय बालकल्याण समितिमा राखियो । मुलुक फर्किने भन्दै रामु भाग्न खोजेपछि रामगढको प्रतापपुरस्थित वत्सल्यधाम बालगृहमा स्थानान्तरण गरियो । ‘बालगृहले सोधपुछ गर्‍यो,’ रामुले भने, ‘नाम र ठेगाना बताएँ ।’ त्यसपछि गृहले दिल्लीस्थित नेपाली दूतावासमा उद्धारका लागि पत्राचार गर्‍यो । दूतावासले प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्‍यो । त्यहाँबाट दाङ जिल्ला प्रहरीलाई जानकारी गराइयो । दाङ प्रहरीले विपन्न परिवार भएकाले त्यहाँसम्म पुग्न नसक्ने जनाएर यहाँस्थित शान्ति पुनःस्थापना गृहलाई उद्धारका लागि आग्रह गर्‍यो । संस्थाका क्षेत्रीय संयोजक भट्टराईले उद्धार गरेर यहाँसम्म ल्याए । त्यसपछि प्रहरीले आमाको जिम्मा लगायो । छोरालाई ऋणगर्जो गरेर भए पनि सक्दो पढाउने शोभाले बताइन् । नेपाली भुलेका रामु हिन्दीमा मात्र कुरा गर्छन् ।


शोभा छोराछोरीसित बस्छिन् । श्रीमान् मित्रलालले झुक्याएर अर्को विवाह गरेको उनले दुखेसो गरिन् । आफूमाथि दुई सौता ल्याएको उनले बताइन् । ‘श्रीमान्ले रेखदेख गर्न छाडे,’ उनले भनिन्, ‘म पनि वास्ता गर्दिनँ ।’ उनका २ छोरा र एक छोरी छन् । रामुसँगै अन्य बालकलाई उद्धार गरेर ल्याइएको थियो । नेपाली राजदूतावास दिल्लीको समन्वयमा गोरखपुरबाट उद्धार गरिएको हो । प्यूठानको ऐरावती गाउँपालिका–३ का १२ वर्षीय दिलीप जीसी र केशव जीसीलाई परिवारको जिम्मा लगाइएको संस्थाका क्षेत्रीय संयोजक भट्टराईले बताए । केशवलाई माइली आमा मीना र दिलीपलाई आमा सीमाको जिम्मा लगाएर पठाइएको हो ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?