१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिन्दु–मुस्लिमको साझा मेला

नवीन पौडेल

(परासी) — मुस्लिम र हिन्दु धर्मावलम्बीले साझा रूपमा मनाउने मदारबाबा मेला बिहीबारबाट सुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ताबाट सुरु मेला पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ मा पुगेर सकिनेछ । यस वर्ष १२ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । मुस्लिम मान्यताअनुसार वदिउद्दिन शाहको ६०३ औं वार्षिकीका रूपमा यसलाई मनाइँदै छ । 

हिन्दु–मुस्लिमको साझा मेला

यस अवसरमा विकट पहाडमा पूजापाठ गर्न आउने भक्तजनले भाकल (कामना) गरेको पूरा हुने विश्वास छ । निःसन्तान दम्पतीले सन्तान प्राप्त गर्ने, दीर्घरोग निको हुने मान्यता र विश्वास भएकाले मेला भर्न आउने दुवै समुदायका श्रद्धालुको संख्या बढ्दो छ ।


हिन्दु–मुस्लिम धर्मका श्रद्धालु एकै स्थानमा श्रद्धाका साथ भेला भएर पूजापाठ गर्ने भएकाले यसलाई दुर्लभ मेलाका रूपमा लिइन्छ । मेलामा आउने श्रद्धालुका लागि खानेपानी, बिरामीका लागि निःशुल्क उपचार शिविर, रात कटाउनेलाई बास, शौचालयका साथै सुरक्षा व्यवस्था मिलाइएको आयोजक समितिका अध्यक्ष जमालुदिन मियाँले बताए ।


मेला भर्ना काठमाडौं, पोखरा, पाल्पा, चितवन, रूपन्देही, कपिलवस्तुलगायत भारत र बंगलादेशबाट भक्तजन आउने गरेका छन् । मेलामा हिन्दुले हिन्दु संस्कार र मुस्लिमले आफ्नै मौलिक परम्पराअनुसार पूजापाठ गर्छन् । महलबारीमा मस्जिद, गुद्दरबाबा, चावलधोइल, नाकदर्वा र उच्च पहाडमा मदारबाबा रहेका छन् । त्रिवेणीको महलबारी मस्जिदबाट नौ किलोमिटर पैदल यात्रा गरेपछि डाँडामा रहेको मदारबाबाको दर्शन गर्न पाइन्छ । पहाड चढेर आफ्नो दुःख मदार बाबालाई सुनाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ ।


सुस्ता गाउँपािलका–५ का टंक काफ्ले बर्सेनि परिवारसहित मेला भर्न मदारबाबा पुग्छन् । आफूबाट भएका गल्तीको क्षमा र परिवारमा रोगव्याधि नलागोस् भन्ने कामना गर्न मदारबाबा दर्शन गर्न आउने गरेको उनले बताए । ‘मेला धार्मिक सहिष्णुताको अनुपम उदाहरण हो,’ उनले भने, ‘हिन्दु मुस्लिमको साझा आस्था पनि ।’ अशक्त र बृद्धवृद्धाका लागि विभिन्न स्थानमा स्वयंसेवक खटाएर पिउने पानीको व्यवस्था गरिएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल र सशस्त्र प्रहरी बल खटिएको छ । टाढा–टाढाका यात्रुले ल्याउने सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन भएको छ । मेला १० दिनसम्म चल्छ ।


गत वर्ष सीमा विवादका कारण मेला सञ्चालनबारे समस्या उत्पन्न भएको थियो । यसपालि नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लाबाट समान रूपमा व्यवस्थापन गरिरहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?