भूकम्पपीडित प्राविधिक नपुग्दा अनुदानबाट वञ्‍चित

प्राविधिकले घर नापजाँच नगरिदिएकै कारण जग उठाएर अलपत्र परेका पीडितहरुले दोस्रो र तेस्रो किस्ता रकम पाउन सकेका छैनन् 
माधव अर्याल

(पाल्पा) — बगनासकाली गाउँपालिका–४, खानीछापकी सीता अधिकारीको निर्माणाधीन घरमा एकपटक पनि प्राविधिक पुगेनन् । प्राविधिक नपुगेपछि मोबाइलबाट फोटो खिचेर म्यासेन्जरबाट पठाइ दिइन् । त्यही फोटाका आधारमा सरकारबाट पाइने अनुदान दाबी गरिन् । ‘निर्माण पूरा भइसक्दा पनि प्राविधिक आउनु भएन,’ उनले भनिन्, ‘त्यसैले म्यासेन्जरमा फोटो पठाएकी हुँ ।’ यही माध्यमले पहिलो, दोस्रो र तेस्रो किस्ता लिन उनलाई समस्या भएन ।

ZenTravel

Meroghar

छिमेकी तारादेवी अधिकारीले रकम पाएकी छैनन् । प्राविधिक अनुगमनमा नआउने र रकम दिन आलटाल गरेको उनको गुनासो छ । ‘बोलाउँदा नआउने तर किस्ता सिफारिस गर्ने बेलामा अलमल गर्दा समस्या भयो,’ उनले भनिन् । प्राविधिकलाई धेरैपटक आमन्त्रण गरे पनि गाउँसम्म पुगेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका नगर र गाउँपालिकामा तीन/तीन जना प्राविधिक खटाएको छ । पीडितसम्म प्राविधिक नपुग्दा लाभग्राहीले समयमै घर बनाउन सकेका छैनन् ।

प्राविधिक नआउँदा घर निर्माण पूरा गरेकालाई पनि अनुदान पाउन समस्या छ । डकर्मीले सिकाएका आधारमा घर पुनर्निर्माण गरेका छन् । पीडितका अनुसार प्राविधिक पायक पर्ने स्थानमा बस्छन् । त्यहाँबाट फोटो खिचेर फेसुबक म्यासेन्जरमा पठाउन आग्रह गर्छन् । टेलिफोनमा सल्लाह दिने गरेको लाभग्राहीको दुखेसो छ । कतिपयले पहिलो किस्ता बुझेर पिलर उठाएर छाडेका छन् । केहीले दोस्रो किस्ता बुझेर खर्च अपुग भएपछि घर अलपत्र छाडेका छन् । धेरैको अझै सूचीमा नाम परेको छैन ।

बगनासकाली–३, नायरनमतलेसका टीकाराम विकको घरको एउटा पाखो भत्किएको छ । बस्ने अवस्था छैन । टिनले बारेर बसेका छन् । ‘घरमा नबस्न भनेर प्रहरी गयो,’ उनले भने, ‘टिनले बारेर बसिएको छ ।’ अहिलेसम्म अनुदान पाउने/नपाउने यकिन छैन ।

जिल्लाभर ४ हजार ९ सय १९ लाभग्राही छन् । जसमा ४ हजार २ सय ४० ले अनुदानका लागि सम्झौता गरिसके । घर निर्माण सकेर तेस्रो किस्ता बुझ्ने १ हजार ८ सय २९ जना छन् । पहिलो किस्ता लगेका ४ हजार १ सय ६० जना छन् । दोस्रो किस्ता २ हजार ३ सय ३५ जनाले लगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख अनन्त सुनारले बताए । गुनासा फारम भर्ने ६ सय ७९ छन् । ५ सय ५८ भूकम्प प्रभावित लाभग्राहीले अझैसम्म सम्झौता गरेका छैनन् । प्राविधिकका कारण काममा ढिलाइ भएको हो । प्राविधिकले घरमा पुगेर नापजाँच नगरेको गुनासो छ । जसले गर्दा दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी राजेश पाठकले प्राविधिकले गल्ती गरेमा सम्झाउने गरेको बताए । घर बनाउन नसक्नुको कारण खोजी गरिरहेको उनले बताए । ‘पहिलो किस्ता लग्ने र घर निर्माणको अवस्थाबारे जानकारी लिने गरेका छौं,’ उनले भने, ‘सोहीअनुसार प्राविधिकहरूको खटनपटनलाई पनि समन्वय गर्ने गर्छौं ।’

फोनकै भरमा धेरैले घर निर्माण सम्पन्न गर्ने अवस्थामा छन् । जनप्रतिनिधिले पनि आफूहरूलाई प्राविधिक आएको/नआएको जानकारी नभएको बताउने गरेका छन् । एउटै वडाका एक घरबाट अर्को घरसम्म पुग्न दुई–तीन घण्टा लाग्छ । त्यसैले पनि प्राविधिक जाने गर्दैनन् ।,’ बगनासकाली गाउँपालिकाका प्राविधिक प्रमुख सुनिलकुमार श्रेष्ठले कान्तिपुरसित भने, ‘यस विषयमा धेरै जानकारी पनि छैन ।’ उनी यसअघि माथागढी गाउँपालिकामा थिए ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खेती पढाउँदै सामुदायिक विद्यालय

सम्झना रसाइली

(तनहुँ) — शुक्लागण्डकी नगरपालिका–४ स्थित पञ्चमुनिदेव माविको ९ कक्षाका पदम पराजुली विद्यालयमै च्याउ खेती गर्छन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ पशुविज्ञान विषय सञ्चालन गरेपछि च्याउ खेतीलगायतका प्रयोगात्मक शिक्षामा विद्यार्थीहरू समावेश भएका हुन् । ‘प्रयोगात्मक शिक्षाले सिकाइमा सहज हुनुका साथै आफैले केही गर्न सक्ने आँट आइसकेको छ,’ उनले भने । 

अर्का विद्यार्थी विवेक खत्रीले व्यावहारिक शिक्षासँगै कृषि तथा नयाँ प्रविधिको ज्ञान लिन पाएको बताए । भविष्यमा रोजगारी पाइएन भने पनि निराश हुनु नपर्ने र आफ्नै बारीबाट आम्दानी गर्न सकिनेमा उनी ढुक्क छन् । विद्यार्थीले एक महिनामै ८० केजी च्याउ उत्पादन गरेको शिक्षक एवं सूचना अधिकारी लक्ष्मण पुरीले बताए । उनले भने, ‘विद्यार्थीलाई कृषि उत्पादन मात्र नभएर त्यसको संरक्षण, बजार व्यवस्थापन, प्याकिङ र ग्राहकसँग कसरी बोल्ने भन्ने पनि सिकाइन्छ ।’ एक केजी च्याउ साढे २ सय रुपैयाँमा विद्यार्थीले नै बिक्री गर्ने उनले बताए ।

पढाइसँगै च्याउखेती, दूधबाट खुवा बनाउने विधि, बजारीकरण, पशुपक्षीको स्वास्थ्य परीक्षण, बाली विज्ञानजस्ता विषयवस्तुको व्यावहारिक रूपमै अभ्यास गर्दा सिकाइ र बुझाइ प्रभावकारी भएको विद्यार्थीको अनुभव छ । प्रधानाध्यापक ध्रुव मल्लले सिकाइ प्रभावकारी बनाउन व्यावहारिक तथा अतिरिक्त क्रियाकलापमा जोड दिएको बताए । उनका अनुसार पशु विज्ञानमा ६६ छात्र र ५७ छात्रा गरी १२३ विद्यार्थी अध्ययनरत छन् ।

जिल्लाका १५ सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा सुरु गरेका छन् । व्यास नगरपालिकास्थित सत्यवति मावि, आँबुखैरेनीस्थित रामशाह मावि र शुक्लागण्डकीको पञ्चमुनिदेव माविले क्रमशः कम्प्युटर साइन्स, सिभिल इन्जिनियरिङ र पशुविज्ञानका कक्षा सञ्चालन गर्दै आएका छन् । व्यासको उदय र निर्मल मावि, घिरिङको चन्द्रज्योति मावि, भानुस्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि, बन्दीपुरको पवित्र माविमा सिभिल इन्जिनियरिङको पढाइ हुन्छ ।

भिमादको सिद्धार्थ मावि, शुक्लागण्डकीको गाउँफर्कोदय मावि, भानुको भानु संस्कृत मावि, त्रिभुवन मावि र चोक माविमा कृषि तथा बाली विज्ञान विषय पढाइन्छ । म्याग्देको जनगणपति माविमा पशुविज्ञान र घिरिङको कालिगण्डकी बहुप्राविधिक शिक्षालयमा वन विज्ञान कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय विद्यालयमै प्राविधिक शिक्षा सुरु भएपछि विद्यार्थीलाई अन्यत्र जानुपर्ने समस्या हटेको गाउँफर्कोदय माविका प्रअ अम्बिका घिमिरेले बताए ।

विद्यार्थीलाई व्यवसायी, स्वावलम्बी, आत्मनिर्भर बनाउने उद्देश्यसाथ प्राविधिक शिक्षामा जोड दिइएको म्याग्दे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले जनाए । ‘पढाइ पूरा भएपछि विद्यार्थीलाई रोजगारीको चिन्ता नहुने अपेक्षा गरेका छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×