तयार हुँदै १५ सय ढाका उद्यमी

माधव अर्याल

पाल्पा — तीन वर्षमा जिल्लामा १ हजार ५ सय ढाका उद्यमी तयार हुने भएका छन् । प्रत्येक वर्ष पाँच सयका दरले ढाका उद्यमी तयार गर्ने परियोजना सुरु भएको हो । यो परियोजना तीन वर्षको हुनेछ । 

पाल्पाली ढाकाको पहिचान मेटिने अवस्था आएपछि यसको अस्तित्व जोगाउन परियोजना सुरु गरेको पाल्पाली ढाका संघले जनाएको छ । संघीय, प्रदेश र स्थानीय सरकारले पनि ढाका उद्यमी तयार गर्न पहल थालेको अध्यक्ष तथा पाल्पाली ढाकाकी संस्थापक ८१ वर्षीया पूर्णमाया महर्जनले बताइन् । ‘अब पाल्पाली ढाकाले पुनर्जीवन पाउँछ कि भन्ने लागेको छ,’ उनले भनिन्, ‘सबैको ध्यान परम्परागत पाल्पाली ढाकामा पुग्न थालेको छ ।’


अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूकेएड, सीप परियोजनाको सहयोगमा संघीय र प्रदेश सरकार पाल्पाली ढाकाको अस्तित्व बचाउन अग्रसर भएको हो । बुधबार सहमति–पत्रमा हस्ताक्षर गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो कार्यक्रम सफल भयो भने अन्य जिल्लामा पनि यस्ता कार्यक्रम विस्तार गरिने बताए । ‘यसबाट स्थानीय तहका महिला स्वरोजगार बन्न सकून् भन्ने नै हाम्रो ध्येय हो,’ उनले भने, ‘पाल्पाली ब्रान्ड स्थापना गरेर पुनर्जीवन दिलाउन खोजिएको हो ।’ प्रदेशकै पहिचानका रूपमा पनि ढाका हुने उनले बताए । पाल्पाली ढाकालाई जोगाउन तालिम, तान निर्माण, महिला स्वरोजगार बनाउनेलगायत विषयमा सहमति भएको छ । मुख्यमन्त्री पोखरेलले पाल्पाली ढाका संघसँगको सहकार्य सफल भएमा यसले फेरि एकपटक देश र विदेशमा ख्याति कमाउने बताए । ‘अब यस्तो सीप हस्तान्तरण र हराउन लागेकालाई जोगाउने कर्तव्य प्रदेश सरकारको पनि हो,’ उनले भने, ‘अब पुरानै संस्कृतिमा मान्छे फर्किन लागेको अवस्थामा हातैले बुनेको तानबाट बनेका पाल्पाली ढाकाको खोजीखोजी बिक्री हुनेछ ।’


पाल्पाली ढाकाबाट महिलालाई स्वरोजगार बनाउने मुख्य उद्देश्य रहेको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए । ‘बजारमा अब पाल्पाली ढाकाको ब्रान्ड, लेबल नै फरक हुनेछ,’ उनले भने, ‘त्यसका लागि नगरपालिका सघाउन तयार छ ।’ डिफिडका नथानेल विभन, युकेएड सीप परियोजनाका टिम लिडर दलजित बोहराले पाल्पाली ढाका उत्पादनसँगै बजारीकरणका लागि पनि सहयोग गर्ने बताए ।


तानसेन नगरपालिका–६ का वडाध्यक्ष तथा ढाका व्यवसायी सागरमान महर्जनले तानसेनका साथै जिल्लाका ग्रामीण भेगका महिलाले बढी फाइदा पाउने गरी परियोजना तयार भएको बताए । पहिलो वर्षमा चार करोड रुपैयाँबराबरको लगानी हुनेछ । परियोजनाअन्तर्गत सीप परियोजना, स्टेप, प्रदेश ५ सामाजिक विकास मन्त्रालय, पाल्पाली ढाका संघको संयुक्त लगानी रहनेछ ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

झुप्रीको “सम्झी रुना रुना...”

कान्तिपुर संवाददाता

काठमाडौँ — अछामकी झुप्री भण्डारीको स्वर र लयलाई गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’को दोस्रो संस्करणमा पहिलोपल्ट सुन्दा निर्णायकहरू चकित बनेका थिए । सुदूरपश्चिमको मौलिक स्वर र कारुणिक पीडाभाव व्यक्त गरिएको नौलो गीतबाटै उनी डिजिटल अडिसनको पहिलो राउन्डमा छानिएकी थिइन् । ब्लाइन्ड अडिसनमा छनोट भए पनि उनी ब्याटल राउन्डबाट भने बाहिरिइन् । 

शोबाट बाहिरिए पनि दर्शकका मनमा छाएकी झुप्री गीतमार्फत फेरि फर्किएकी छन् । आफ्नै जीवनको यथार्थ कथाव्यथालाई गीतैमार्फत व्यक्त गर्ने झुप्रीले पहिलोपल्ट ‘सम्झी रुना रुना...’ बोलको गीत म्युजिक भिडियोसहित ल्याएकी छन् । बुधबार सार्वजनिक गीतको भिडियोमा झुप्रीकै घरको दृश्यका साथ उनलाई र उनका बाबु बलराम भण्डारी, आमा नामसरा देख्न सकिन्छ । गीतमा उनीसँगै कमल संघर्षका शब्द समावेश छन् । लय पाण्डव विष्टको रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । भिडियो दिर्नेशन संघर्ष र वरुण रिजालले गरेका हुन् ।

जन्मजात दृष्टिविहीन र गरिबीकै कारण आधा जीवन निकै कष्टपूर्ण बिताएकी झुप्रीले काठमाडौं जाने, गीत रेकर्ड हुने कहिल्यै सोचेकी थिइनन् ।

नातेदार भाइ गजलकार संघर्षको सहायतामै उनले भ्वाइस अफ नेपालदेखि गीत रेकर्डसम्म यात्रा अगाडि बढाएकी हुन् । संघर्षले दिएको साथप्रति उनले आभार व्यक्त गर्दै अत्यन्तै खुसी भएको सुनाइन् ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×