समारोहमा सीमित थारू संस्कृति



दाङ — दाङ थारूहरूको बाहुल्य क्षेत्र हो । जिल्लाको पश्चिम–दक्षिण भेगको सुकौराकोटमा थारू राजा दंगिशरणले राज्य गरेको इतिहास छ । यही नामबाट गाउँपालिकाको पनि नामकरण गरिएको छ । दंगिशरण गाउँपालिकाको अध्यक्षमा पनि थारू समुदायकै भागिराम चौधरी निर्वाचित भएका छन् ।


दाङमा थारू समुदायलाई आदिवासी मानिन्छ । बर्दिया, कैलाली, कञ्चनपुरतिर दाङबाटै बसाइँसराइ गरेर गएका हुन् । जसलाई बुह्रान जाने भनिन्थ्यो । दाङमा जमिन्दारबाट सताइएपछि र उतातिर पर्याप्त जमिन पाइने भएपछि दाङका धेरै थारू बुह्रान गएका हुन् ।
थारू जातिको आफ्नै इतिहास र संस्कृति छ । आफ्नै भेषभूषा र गरगहनाले थारूको बेग्लै पहिचान दिन्छ तर अहिले बिस्तारै संस्कृति हराउँदै गएको छ । अन्य समुदायले कुनै औपचारिक कार्यक्रम गर्न थाले भने पनि थारू गरगहनाले सजिएकाको नाचगानलाई महत्त्व दिने गर्छन् । ‘आफ्नो संस्कृति भनेपछि माया लाग्छ । सधैं लगाएर हिँड्न सकिँदैन,’ घोराहीकी सुशीला चौधरीले भनिन्, ‘चाडपर्व र मेला–महोत्सवमा आफ्नो समुदायको पहिचान दिन लगाउने गर्छौं ।’ पुराना थारू महिलाले लगाउने ढुंग्रीमाला, चुरिया, मुन्द्री, मंग्या, मालाजस्ता परम्परागत गहना लगाएर युवा पुस्ता रमाउने गर्छ । धेरैजसो नयाँ पुस्तालाई त यस्ता गहनाको नामसमेत थाहा छैन । पुरुषले लगाउने भेग्वा, फेटा, काठका खराउजस्ता कपडा र सामान पनि अहिले हराइसके ।
थारू जातिको पहिचान दिने पुराना कपडा, गहना, दैनिक उपभोग्य सामान र भाषासमेत नयाँ पुस्ताका लागि आकर्षणको केन्द्र बन्न नसके पनि कहिलेकाहीं भए पनि इज्जत भने धानेका छन् । अन्य समुदाय र आधुनिकताको प्रभावले कला संस्कृति चाडपर्वमा सीमित भइरहेको थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘नयाँ पुस्ता अन्य समुदायसँग घुलमिल भइरहेको छ । संस्कार पनि अरूबाटै सिकिरहेको छ,’ उनले भने, ‘औपचारिक कार्यक्रम, मेलापर्व र महोत्सवमा मात्रै आफ्नो भेषभूषा लगाउने चलन आएको छ । यसले संस्कृति बचाउन कठिन छ ।’ अन्य समयमा उपयोग नहुने भएकाले थारू भेषभूषा नियमित प्रयोगमा आउन नसकेको उनले बताए ।
पुराना गहना र कपडा गह्रौं भएकाले पनि नयाँ पुस्ताले त्यसलाई छोड्दै गएको थारू अगुवाहरूको भनाइ छ । थारू नाचमा गहना र भेषभूषाको महत्त्व भएकाले गीत र नाचसँग मात्रै देखापर्ने स्थिति आएको उनीहरूको गुनासो छ । दैनिक जीवनमा प्रयोग नभएपछि अहिले संरक्षणका लागि संकलन गर्ने र मेला महोत्सवमा प्रदर्शन गर्ने अवस्था आएको थारू गीत र नाचका जानकार घोराही उपमहानगरपालिका–१०, जलौराका चन्द्रप्रकाश चौधरीले बताए । ‘नियमित भेषभूषा लगाउने चलन हरायो । चाडपर्वमा पनि नलगाए त हाम्रो संस्कृति नै हराइहाल्छ,’ उनले भने, ‘सधैं नलगाए पनि आवश्यक पर्दा लगाउने गरेका छौं ।’
कला क्षेत्रमा लागेको युवा पुस्ता पनि परम्परागत संस्कृति झल्किने सामग्रीभन्दा बजार सुहाउँदो आधुनिकतामा रमाएको थारू कलाकार संघका अध्यक्ष शालिकराम चौधरीले बताए । ‘सबै श्रोता र दर्शक हाम्रो भाषा बुझ्दैनन्,’ उनले भने, ‘तैपनि, हामीले थारू संस्कृतिलाई नेपाली भाषामै भए पनि प्रस्तुत गर्ने प्रयास गरिरहेका छौं ।’
प्रकाशित : फाल्गुन १, २०७६ ०८:५१