३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बीउको मूल्यले किसान उत्साही

वीरेन्द्र केसी

गुल्मी — जिल्लाका पाँच पालिकाले मकैको बीउको मूल्य निर्धारण गरेका छन् । मूल्य तोकिपछि किसान उत्साहित छन् । रेसुंगाका पाँच, इस्माका चार, मदानेका दस, मालिका र धुर्कोट गाउँपालिकाका एक/एक कृषि सहकारी र विभिन्न समूहले बीउ उत्पादन गर्दै आएका छन् । जिल्लामा झन्डै सात टन मकैको बीउ आवश्यक पर्नेमा ४३ मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसअघि उन्नत बीउबीजन कार्यक्रम सञ्चालन गरिएको थियो । 

बीउको मूल्यले किसान उत्साही

उक्त कार्यक्रम हटेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत मकै जोनले पाँच स्थानीय तहमा पाँच प्रकारका बीउ उत्पादनमा किसानलाई सघाएको छ । अरुण जातको मकैको ६५ रुपैयाँ, मनकामना–३ को ५२, मनकामना–६ को ५६, देउतीको ५२ र रामपुर कम्पोजिटको ५६ रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको परियोजना प्रमुख नारायण काफ्लेले बताए ।


जिल्लाका ५ सय १३ सहकारी तथा समूहले बीउ उत्पादन गर्दै आएका छन् । आवश्यकभन्दा बढी भएको बीउ समूहमा संकलन गर्ने र जिल्लाबाहिर पठाउने गरिन्छ । ‘२० हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गरिएको छ,’ परियोजना प्रमुख काफ्लेले भने, ‘किसानलाई समूह र सहकारीमा आबद्ध बनाएरै बीउ उत्पादन गर्न सिकाइन्छ । किसान जागरुक भएर लागेका छन् ।’ जोनले नै बिक्रीको व्यवस्था गरेपछि किसान खुसी छन् । जिल्लाबाहिरबाट ल्याएको बीउ गुल्मीका किसानले खेतबारीमा रोप्दैनन् ।


सरकारले छनोट गरेको बीउमात्रै यहाँ उत्पादन गरिएको छ । माटो, हावापानी सुहाँउदो र धेरै फल्ने जात छनोट गरेर बीउ उत्पादन गरिरहेको बीउ उत्पादन किसानको दाबी छ । जिल्लामा बीउ उत्पादन गर्ने किसानलाई गत वर्ष बर्दियाका कृषक समूहमा भ्रमण गराइएको थियो । यसपालि पनि जिल्लाबाहिर पठाउने कार्यक्रम छ । छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, प्यूठानमा पनि गुल्मीको बीउ पठाउन समूह र सहकारीले सम्पर्क गरिरहेको बीउ उत्पादक किसानहरू बताउँछन् ।


जिल्लामा सबैभन्दा धेरै मदानेको पुर्कोटहद हरियाली बहुउद्देश्यीय कृषक सहकारीले १६ टन बीउ उत्पादन गरेको छ । ‘यहाँ मनकामना–३, मनकामना–६, देउती र खुमल हाइब्रिड मकै–२ जातका उत्पादन गरेका छौं,’ सहकारीका अध्यक्ष लोकहरि कुँवरले भने । ८२ समूहमा आबद्ध दुई सय कृषकले ०७१ सालदेखि बीउ उत्पादन गर्दै आएको उनले बताए । रैथाने जातभन्दा यो झण्डै तेब्बर फल्ने उनको दाबी छ । गोबर मल राखेर एउटै बोटमा दुईवटासम्म घोँघा फल्छन् । खानलाई मिठो र स्वादिलो छ । ‘हामी सरकारले प्रमाणित गरेको बीउमात्रै रोप्छौं,’ सहकारी अध्यक्ष कुँवरले भने, ‘एग्रोभेट र बजारमा गएर यहाँका किसानले बीउ किन्दैनन् ।’

प्रकाशित : माघ २९, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?