बालविवाह रोक्न खोज्‍ने निसानामा

विवाहका लागि केटाकेटीको उमेर १६ वर्ष कायम गर्नुपर्ने माग राखी गाउँपालिकामै प्रदर्शन
रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरसँगै जोडिएको पुरैना बिर्ताकी १७ वर्षीया एक किशोरीको विवाह तयारी पूरा भइसकेको थियो । गत आइतबार साँझ जन्ती आउने तय भएकाले दुलहीका परिवार स्वागत गर्न आतुर थिए । किशोरी विवाहको खबर फैलिएपछि रोक्न पुगेको प्रहरीसँग छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै परिवारले होहल्ला नै गरे । केही बेरमा विवाद साम्य भयो र विवाह पनि रोकियो । 

घटनालगत्तै बालविवाह रोक्न उपमहानगर–२१ ले आइतबार वडाका अभिभावक जम्मा गरेर छलफल चलायो । त्यसमा बाल अभियन्ता, धर्मगुरु, मौलाना, जनप्रतिनिधि र प्रहरीको ठूलै सहभागिता थियो । छलफलमा उपमहानगरकी उपप्रमुख उमा थापामगरले अभिभावकसित छोरीलाई बोझ नमान्न आग्रह गरिन् । ‘छोरीलाई विवाह होइन, पढ्न उत्साहित बनाउनूस्,’ उनले भनिन्, ‘उमेर नपुगेकी छोरीको विवाह रोकियो भने बालिकासम्बन्धी धेरै समस्या हल हुन्छन् ।’


जिल्ला प्रहरीका डीएसपी शिवबहादुर सिंहले कानुन उल्लंघन गरी बिहे गर्ने र गराउनेलाई कारबाही गरिने चेतावनी नै दिए । त्यसपछि धेरै अभिभावक हच्किए । ‘कानुन छलेर उमेर नपुग्दै भारतमै लगेर बिहे भइरहेको छ,’ उनले भने, ‘यसरी बिहे गराउनेलाई कारबाही हुन्छ ।’ एक सातामा नेपालगन्ज–२१ मा सातवटा यस्ता बिहे रोकिएका छन् ।


विवाहका लागि केटाकेटीको उमेर १६ वर्ष कायम गर्नुपर्ने माग राख्दै गत बिहीबार नै जानकी गाउँपालिकामा प्रदर्शनको अगुवाइ गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर २४ घण्टापछि छाडेको छ । जानकी गाउँपालिकाका रामदेव मिश्र र डुडुवा गाउँपालिकाका फूलमती पाललाई नियन्त्रणमा लिएर छाडिएको हो । कानुनी व्यवस्थाविरुद्ध गाउँलेलाई प्रदर्शनमा उतार्ने प्रयास गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी सिंहले बताए ।


अहिले बालविवाहविरुद्ध क्रियाशील किशोरकिशोरीका समूह दुलहीका परिवारजनको निसानामा छन् । उनीहरूको सुरक्षाका लागि उपमहानगरस्तरीय बाल अधिकार संरक्षण समितिको बैठक नै डाकेर छलफल गरेको छ । उनीहरूलाई स्थानीय जनप्रतिनिधि र नागरिक समाजले पनि साथ दिएका छन् । राप्तीसोनारी गाउँपालिका–७ की १५ वर्षीया शर्मिला शाहले परिवारले भनेको समयमा विवाह गर्न नमानेकै कारण तनाव भोग्नु परेको गाउँपालिकाले आयोजना गरेको भेलामै गुनासो गरिन् । कक्षा १० मा पढ्दै गरेकी उनी अहिले बालविवाह रोक्ने अभियानमा छन् । ‘आफैं बालविवाह रोक्ने अभियानमा छु,’ उनले भनिन्, ‘कसरी बिहे गर्न सक्छु !’ कानुन व्यवसायी वसन्त गौतमका अनुसार मुलुकी अपराध (संहिता) ऐन, ०७४ मा ‘२० वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्था छ ।


उमेर नपुगी भएको विवाह स्वतः बदर हुन्छ । आरोप प्रमाणित भए बिहे गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।


बालविवाह बढ्दै गएपछि राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले आफ्नो वडामा रहेका ६ वटा विद्यालयमा बालविवाहविरुद्ध अभियान नै सुरु गरेका छन् । विद्यालयमा गएर कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई आफैंले बालविवाहविरुद्ध कक्षा सञ्चालन गरिरहेका छन् । ‘मधेसी, थारु समुदायमा अभिभावकले नै बालविवाह गरिदिने संस्कार छ,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न विद्यार्थीमार्फत अभियान थालेको हुँ ।’ प्रकाशित : माघ २९, २०७६ ०९:५६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दया होइन, हौसलाको खाँचो

रुपा गहतराज

नेपालगन्ज — कन्हैयालाल राना जन्मिँदा आँखामा कुनै समस्या थिएन । एक वर्षको उमेरमा आँखामा संक्रमण भएपछि उनको दृष्टि गुम्यो । ४४ वर्षीय उनलाई अहिले संसार देखे/नदेखेको भेउ छैन । पाँच सन्तानमध्ये कान्छा कन्हैया चलाख थिए । परिवारले विद्यालय भर्ना गराए । उनलाई गणितमा रुचि थियो । काठमाडौंबाट स्नातक उत्तीर्ण गरे । अहिले उनी मंगलप्रसाद माविमा कक्षा ८ सम्म पढाउँछन् । ०६० सालबाट स्थायी शिक्षक भएका छन् । 

‘विद्यार्थीलाई नियन्त्रणमा राख्ने विषयवस्तुले हो,’ रानाले भने, ‘आफूमा आत्मविश्वास भए समस्या हुँदैन ।’ दृष्टिविहीनसँगै अन्य विद्यार्थीलाई पनि राखेर पढाउँछन् । ‘सुरुमा अभिभावक कसरी पढाउनु हुन्छ भनेर अचम्म मान्थे,’ उनले भने, ‘कथा, चुट्किला भनेर विद्यार्थीलाई आकर्षित गर्छु ।’ उनी पुस्तकबिना व्याख्यात्मक विधिबाट पढाउँछन् । विद्यालयमा अहिले तीन जना दृष्टिविहीन शिक्षक छन् । ५० जना दृष्टिविहीन बालबालिका पढ्छन् । ‘पहिला ब्रेललिपिमा पुस्तक हुन्थेनन् । किताबलाई ब्रेललिपिमा अनुवाद गरेर पढाउनु पर्थ्यो,’ रानाले भने, ‘सुरुमा अनिवार्य विषयमात्र ब्रेललिपिमा हुन्थे ।’

३६ वर्षीय भोलानाथ त्रिपाठी जन्मजात देख्दैनन् । सुनेर मात्र सबै कुरा बुझ्छन् । कास्कीबाट उनको परिवार ०३६ सालमा बर्दिया बसाइँ सरेको थियो । उनी कन्हैयालालका चेला हुन् । ०४५ सालमा त्रिपाठी मंगलप्रसाद माविमा भर्ना भएका थिए । त्यहीँबाट एसएलसी दिए । शिक्षामा स्नातक उनी अहिले स्नातकोत्तर गरिरहेका छन् । ०६२ सालदेखि अस्थायी दरबन्दीमा उनले मंगलप्रसाद माविमै पढाइरहेका छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक, स्वास्थ्य तथा नैतिक शिक्षा पढाउँछन् । पढाउन रत्तिभर कठिन लाग्दैन । छलफल विधिबाट पढाउन मन पराउँछन् । प्रदर्शन विधि कम प्रयोग गर्छन् । ‘हाम्रा लागि प्रदर्शन विधिले समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले सुनेका भरमा पढाउनु पर्छ ।’ सानैदेखि पढाइमा तेज उनी अहिलेका बालबालिकामा पढ्ने मोह कम भएको बताउँछन् । ‘हामीलाई पढेर केही गरौंला भन्ने जोस आउँथ्यो,’ उनले भने, ‘अहिलेका विद्यार्थीलाई खेल्ने र घुम्ने कुरामा मोह छ ।’

नेपालगन्जका भावुकजंग थापा व्यवस्थापनमा केही गर्ने सोच बनाएर पढिरहेका थिए । खेल भनेपछि हुरुक्कै हुन्थे । ह्यान्डबल खेल्थे । त्यही क्रममा उनको आँखामा चोट लाग्यो । एउटा आँखाले देख्न छाड्यो । चोटले अर्को आँखामा पनि असर गर्‍यो । २२ वर्षमा दुवै आँखाको दृष्टि गुम्यो । ०५६ सालमा शिक्षकको जागिर खुलेपछि उनले निवेदन दिए । सबै प्रक्रिया पूरा भयो । जिल्ला शिक्षाले साबिकको राप्तीपारिको नेराप्रावि गुलरी फत्तेपुरमा पठायो । त्यहाँका प्रअले सुरुमा उनलाई राख्न अस्वीकार गरे । आफूले पुस्तक नहेरेर पनि पढाउन सक्ने विश्वास दिलाएपछि प्रअ उनलाई राख्न राजी भए । एक वर्षसम्म फत्तेपुरमा बसेर पढाए । ०५७ सालबाट नेराप्रावि बागेश्वरीमा पढाउँछन् । ०६३ सालमा स्थायी भए । कक्षा ३ मा उनी गणितबाहेक सबै विषय पढाउँछन् । ‘हामीलाई दया होइन, सकारात्मक हौसला चाहिन्छ,’ उनले भने, ‘दृष्टिविहीन भए पनि क्षमता भएकाले राम्रो गरिरहेका छन् ।’

प्रकाशित : माघ २०, २०७६ १०:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×