कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनबाटै स्वरोजगार

वीरेन्द्र केसी

अर्घाखाँची — विवाहपछि शीतगंगा नगरपालिका भंगलाकी सीमा गुरुङ घरखर्च कसरी जोहो गर्ने भन्ने चिन्तामा थिइन् । गाउँमा रोजगारीको अवसर थिएन । सामुदायिक वन भए पनि त्यसबाट आम्दानीको सोच थिएन । त्यही वनको वैज्ञानिक व्यवस्थापन सुरु गरेपछि स्थानीयका लागि वरदान बन्यो । ‘चार वर्षदेखि बाह्रै महिना उहाँ (पति) र मैले काम पाएका छौं,’ सीमाले भनिन्, ‘वनको संरक्षण र हामीलाई रोजगार दुवै मिलेको छ ।’

वनबाटै स्वरोजगार

पतिले काठ चिरान, रुख ढाल्ने काम गर्छन् । उनी आगलागीबाट वन जोगाउन फायरलाइन बनाउन व्यस्त छन् । भंगलाका ३२ घरका २ सय ७० जना अहिले वनबाट स्वरोजगार बनेका छन् । यहाँका कोही विदेश जाँदैनन् । यहाँ वनले परिवर्तन ल्याएको छ । शीतगंगा नगरपालिका–१३ स्थित धिरीखोला सामुदायिक वन समूहका उपभोक्ताले काठ काट्ने, रुख ढाल्ने, गोला बनाउने, चिर्ने, गाडीमा लोड गर्ने, बिक्री गर्ने, दाउरा चिर्ने, नयाँ बिरुवा रोप्ने, गोडमेल, मलजल, रेखदेख, डढेलोबाट जोगाउन फायरसाइड बनाउने, सरसफाइलगायत काम गर्छन् ।


काठ र दाउरा बेचेर आउने वार्षिक एक करोड रुपैयाँ हाराहारीको आम्दानीले गाउँ विकास गरेका छन् । १ सय २६ हेक्टर वनको आम्दानीबाट समूहमा संकलन भएको रकमले बाख्रा, कुखुरा, बंगुर, भैंसीपालन, तरकारी खेतीमा लगानी भएको छ । वन रेखदेख गर्न पाँच जना हेरालु राखिएको छ । ‘वनको सबै काम बाँडेर गर्छौं,’ वन समूहका अध्यक्ष नारायण भुसालले भने, ‘बिरुवा रोप्ने र रुख काटेर चिरान गरी गाडीमा लोड गर्नेसम्मको काम उपभोक्ताबाट हुन्छ ।’ समूहमा जम्मा भएको पैसा व्यक्तिले ऋणमा लैजान्छन् । कुखुरा, बाख्रा, भैंसी, बंगुर किन्छन्, आम्दानी गरेपछि ऋण चुक्ता गर्ने उनले बताए । तरकारी खेती र केहीले घर बनाउन पनि ऋण लगेका छन् । दिनभर वनको काम र बिहान–बेलुका खसीबोका, कुखुरा पालेर पनि आम्दानी गरेका छन् । दिनभर काम गरेबापत एक व्यक्तिले सात सय रुपैयाँ कमाइ गर्छन् । हुर्कंदै गरेका बांगा रुख काट्छन् ।


रुखबाट खस्ने पात कम्पोस्ट मल बनाएर पुनः बोट–बिरुवा र रुखमा राख्छन् । गाउँमा सिँचाइ कुलो, खानेपानी, विद्युत् जडान, घर–घरमा मोटरबाटो र आय आर्जनका काम पनि वनकै आम्दानीबाट गरेका छन् । वनको आम्दानीबाट अब सडक पिच गर्ने योजना रहेको अध्यक्ष भुसालले बताए । सबैका घर जस्तापाताले चिटिक्क छन् । केहीले पक्की घर बनाएका छन् ।


शीतगंगाकै अन्य पाँच सामुदायिक वनको पनि वैज्ञानिक व्यवस्थापन भइरहेको छ । छिमेकी बुद्ध र वाणगंगा सामुदायिक वनले यसै वर्षबाट वैज्ञानिक व्यवस्थापनको स्वीकृति पाउने प्रक्रियामा छन् । वाणगंगा वन समूहकी अध्यक्ष माया बैजालीले वैज्ञानिक वन व्यवस्थापनका सबै प्रक्रिया पूरा गरिसकेको र वन संरक्षण, रेखदेख गरेर गाउँलेलाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताइन् ।


१ सय ११ दशमलव ५५ हेक्टरमा वन फैलिएको छ । यस वर्ष ५२ लाख रुपैयाँको विकास बजेट विनियोजन भएर योजनाका काम भइरहेको छ । वैज्ञानिक तरिकाले बूढा रुख हटाउने र हुर्कंदा रुखका हाँगाबिंगा छाँट्ने काम भइरहेको वन अधिकृत जितेन्द्रसिंह खड्काले बताए ।


तारबार गर्ने, नयाँ उम्रेका साल र असनामात्रै राखेर अरू रुख हटाउने योजना रहेको उनले बताए । दुई वर्षसम्म गोडमेल र तीन वर्षदेखि दस वर्षसम्म पातलो बनाउने योजना छ । वनमा प्रतिहेक्टरमा एक सय रुखमात्रै हुन्छन् । ‘प्रत्येक दस वर्षमा नयाँ कार्ययोजना बनाएर ८० वर्षे दृष्टिकोण वैज्ञानिक वन व्यवस्थापनको हुन्छ,’ वन अधिकृत खड्काले भने, ‘सामुदायिक भन्दा वैज्ञानिक अवधारणाबाट उपभोक्तालाई काम, आम्दानी र स्वरोजगार मिल्छ ।’

प्रकाशित : माघ २१, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?