तंग्रिँदै रुपन्देहीकै जेठो विद्यालय

व्यवस्थापन समिति, शिक्षक, भूपू विद्यार्थी र जनप्रतिनिधिको पहलमा शैक्षिक गुणस्तर सुध्रिएको छ । कुनै बेला गाभिने अवस्थामा पुगेको विद्यालयमा विद्यार्थी थपिएका छन् । 
अमृता अनमोल

बुटवल — बन्द हुने अवस्थामा पुगेको रूपन्देहीकै जेठो विद्यालय विस्तारै लयमा फर्केको छ । विद्यार्थी संख्या बढ्दै छ । शैक्षिक गुणस्तर सुधारिन थालेको छ । दुई वर्षअघि बुटवल उपमहानगरले यसलाई नजिकैको विद्यालयमा गाभ्ने योजना बनाएको थियो । त्यसले इतिहास मेटिने चिन्ता छायो । बल्ल विद्यालय व्यवस्थापन समिति, शिक्षक, भूपू विद्यार्थी र वडाका जनप्रतिनिधि मिलेर सुधार योजना बनाए । शैक्षिक र व्यवस्थापकीय क्रियाकलाप हुन थालेपछि पढाउने वातावरण बन्दै गयो । 

तंग्रिँदै रुपन्देहीकै जेठो विद्यालय

अहिले विद्यार्थी नियमित आउन थालेका छन् भने शिक्षक कक्षाकोठा र सिकाइमा व्यस्त हुन थालेका छन् । ‘शिक्षकबाटै सुधार अभियान चलाएका छौं,’ प्रधानाध्यापक अकरामुल्लाह खाँले भने, ‘हरेक शिक्षकले पाठयोजना बनाएर पूर्वतयारी र छलफलपछि मात्रै कक्षामा जानुहुन्छ ।’ विद्यालयमा घोकाएर पढाउने विधि फेरिएको उनले बताए । सिकाएर र अभ्यास गरेर बुझाउने अभ्यास थालिएको छ । ‘यसले कक्षागत उपलब्धि र विद्यार्थीको अन्तरनिहित प्रतिभा बाहिर ल्याउन पनि सहयोग भएको छ,’ प्रधानाध्यापक खाँले भने, ‘निकै कमजोर विद्यार्थीलाई अतिरिक्त समय व्यवस्थापन पनि भएको छ ।’


वि.सं. ००८ मंसिरमा विद्यालय स्थापना भएको थियो । आदर्श विद्यामन्दिरका नामबाट सुरु भएको विद्यालय पछि बुटवल मावि बनेको थियो । विद्यालयमा अहिले बालविकास केन्द्रदेखि कक्षा १० सम्म पढाइ हुन्छ । दुई वर्षदेखि बालविकास केन्द्रका बालबालिकालाई निःशुल्क खाजा खुवाउन थालिएको छ । विद्यार्थीको सुविधाका लागि बालबालिकालाई अटो रिक्साबाट ल्याउने/पुर्‍याउने गरिन्छ । यसले विद्यार्थी संख्या बढ्दै गएको व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर शाक्यले बताए । ‘खाजा र सवारी साना कक्षामा विद्यार्थी आकर्षण गर्ने यन्त्र रहेछन्,’ उनले भने, ‘विद्यालय आएका विद्यार्थी टिकाउने र बिकाउने जिम्मा शिक्षकले लिनुपर्ने करार गरेका छौं ।’ विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकलाई र प्रधानाध्यापकले शिक्षकलाई गुणस्तर सुधार्न करार गराएको उनले बताए ।


विद्यालय सुधार योजनामा हरेक विद्यार्थीको छुट्टै प्रोफाइल तयार गरिएको छ । त्यसमा उसका सबलता र दुर्बलताको अभिलेखीकरण गरिन्छ । हरेक विद्यार्थीलाई गृहकार्यका लागि डायरी दिइन्छ । त्यसलाई कक्षा शिक्षकले चेकजाँच गर्छन् । बिनासूचना तीन दिन अनुपस्थित हुने विद्यार्थीका अभिभावकलाई सूचना दिने र अभिभावकसँग छलफल गरेर नियमित विद्यालय नआउने कारण सोधिन्छ । ‘विद्यालय सुधार्न विद्यार्थी, शिक्षक र अभिभावक तीन पक्ष नै लाग्नुपर्ने रहेछ,’ अध्यक्ष शाक्यले भने, ‘त्यही कारण सुधारका नयाँ अभ्यास थालेका हौं ।’


यस वर्ष विद्यालयबाट ३७ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । एसईई नतिजा सुधार्न निःशुल्क खाना, खाजा र भोजन कार्यक्रम लागू भएको छ । विद्यार्थीहरू बिहान ६ बजे विद्यालय आउँछन् । साँझ ६ बजेसम्म विद्यालयमै बसेर लेखपढ गर्छन् । उनीहरूका लागि बिहान र दिउँसो खाजा तथा खाना विद्यालयले निःशुल्क खुवाउने गरेको छ ।


खाजाको व्यवस्था बुटवल उपमहानगरपालिका–१ का जनप्रतिनिधिले गरिदिएका हुन् । ‘जसरी पनि शैक्षिक उपलब्धि बढाउनुपर्छ भन्नेमा लागेका छौं,’ वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले भने, ‘त्यसैले जनप्रतिनिधिले व्यक्तिगत रूपमा उठाउने, भूपू विद्यार्थी र सहयोगी भावना भएकासँग सहयोग माग्ने गरेर विद्यार्थीका लागि खाना र खाजा जुटाएर पढाइमा व्यस्त बनाएका हौं ।’ विद्यालयमै खाजा र खाना पाउने भएपछि विद्यार्थीहरू ढुक्क भएर शैक्षिक अभ्यासमा लाग्न पाएका छन् । ‘दिउँसो मात्रै पढ्दा अभ्यास गर्ने र रिभिजन गर्ने समय हुँदैनथ्यो,’ विद्यार्थी सविता नेपालीले भनिन्, ‘विद्यालयमै खानासहितको पढ्ने अवसर पाएपछि निकै सजिलो भएको छ ।’ शिक्षक र साथी दुवैसँग छलफल गरी अभ्यास गर्न पाएको उनले बताइन् ।


विद्यालयमा ३ सय ३५ विद्यार्थी छन् । सबैजसो विद्यार्थी विपन्न परिवारका छन् । आफ्ना छोराछोरीले पढे/नपढेको अभिभावकले हेर्दैनन् । नियमित विद्यालय आए/नआएको चासो राख्दैनन् । विद्यार्थीलाई आवश्यक पर्दा कापी र कलम किनिदिन पनि सक्दैनन् । यही कारण धेरैदिनसम्म कक्षाकार्य र गृहकार्य लेख्न नपाउने विद्यार्थी पनि धेरै छन् । यस्तो समस्या सबैजसो कक्षामा छ । पछिल्लो समय तिनका लागि भूपू विद्यार्थी र शिक्षक मिलेर शैक्षिक सामग्रीको जोहो गरेका छन् ।


शिक्षक यज्ञलाल सापकोटाले यसले उनीहरूको सिकाइ र पढाइप्रतिको लगाव बढ्दै गएको बताए । ‘घरपरिवारबाट नपाएको ससानो खुसी पनि विद्यालयबाट दिने प्रयास गरेका छौं,’ उनले भने, ‘जस्तो कि जन्मदिनमा शुभकामना लिने/दिने, विद्यालयले नै मंगलबार र शुक्रबार टिसर्टको व्यवस्था गरिदिने । चाडवाडमा शुभकामना आदानप्रदान गर्ने गरेका छौं ।’ यसले विद्यार्थीले विद्यालयलाई आफ्नो सम्झिने र नियमित विद्यालय आउने गरेको उनले बताए । ‘स्कुलले कापी–कलम दिँदा पनि घरमै छोडेर आउँछन्,’ शिक्षक भगवती भण्डारीले भनिन्, ‘त्यस्ता विद्यार्थीका शैक्षिक सामग्री अहिले स्कुलमै राखिदिएर अभ्यास गराउने गरेका छौं ।’

प्रकाशित : माघ १५, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?