३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘बाबुको टुंगो’ नहुँदा भएन जन्मदर्ता 

(प्यूठान) — प्यूठान नगरपालिका–८, खप्रेङखोलास्थित मावलीमा हजुरआमासँग बस्दै आएकी १३ वर्षीया बबिता श्रेष्ठको जन्मदर्ता हुन सकेको छैन । कक्षा ५ मा पढ्दाताका नै जन्मदर्ता गर्न खोजे पनि ‘बाबुको टुंगो’ नलागेकाले स्थानीय तहमा जन्मदर्ता नभएको हो । बबिता अहिले स्थानीय आदर्श आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्दैछिन् । 

वडा, गाउँपालिका हुँदै जिल्ला प्रशासनसम्म पुगे पनि जन्मदर्ता हुन सकेको छैन । जन्मदर्ता अभावले फागुनको वार्षिक परीक्षामा सहभागी हुन नपाइने हो कि भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । कक्षा ८ को वार्षिक परीक्षामा सहभागी हुन जन्मदर्ता अनिवार्य भएको शिक्षकले बताएका छन् ।


उनी तीन वर्षकी हुँदा आमा कमला सुवेदीले अर्कैसँग विवाह गरेकी थिइन् । गत भदौमा जन्मदर्ताकै लागि लमजुङमा रहेकी आमालाई बोलाए पनि बाबु किटान नभएकाले नमिल्ने भन्दै फर्काइदिए । ‘आमाले भनेका बाबुले स्वीकार गरेनन्,’ बबिताले भनिन्, ‘त्यसपछि आमा पनि सम्पर्कविहीन हुनुभयो ।’ जन्मदर्ताकै अभावले आफ्नो भविष्य अन्धकारमा परेको उनको गुनासो छ । मावली हजुरआमा पवित्रा सुवेदीले विद्यालयका प्रधानाध्यापक माधव केसीसहितका शिक्षकलाई भनेर पछि जन्मदर्ता पेस गर्ने सर्तमा विद्यालय भर्ना गराइदिएकी थिइन् । उनका अनुसार मल्लरानी गाउँपालिका–४, खलंगाका एक युवालाई उनकी आमाले बाबु दाबी गरेकी छन् । तर, ती युवकले अहिलेसम्म छोरी स्वीकार गरेका छैनन् ।


बबिता पढाइमा धेरै अव्बल रहेको प्रअ केसीले बताए । ‘पढाइ धेरै राम्रो छ,’ उनले भने, ‘हामीले पनि जन्मदर्ताको पहल गर्‍यौं तर सकिएन ।’ विद्यालयमा गठन भएको बाल क्लबको अध्यक्षसमेत रहेकी बबिता कक्षाकी उत्कृष्ट विद्यार्थी हुन् । कक्षा ८ को परीक्षामा सहभागी हुन अनिवार्य जन्मदर्ता हुनुपर्ने व्यवस्था रहेकाले बबितालाई अगाडिको पढाइमा सहभागी गराउन विद्यालय परिवारलाई समस्या परेको प्रअ केसीले बताए ।


०६४ साउन २९ गते जिल्ला अस्पताल विजुवारमा उनी जन्मिएकी थिइन् । त्यसपछि आफूले नै बबिताको पालनपोषण र स्याहारसुसार गर्दै आएको हजुरआमा पवित्राले बताइन् । ‘केही समय खलंगाका युवाले छोरी स्विकारेर बाग्दुलामा कोठा लिएर आमाछोरी दुवैलाई राखे,’ उनले भनिन्, ‘तर, अहिले ती युवा भाग्दै हिँड्ने गरेका छन् ।’ समाजमा सल्लाह गर्दा अदालतमा जान भन्ने तर आफूले केही पनि नजान्दा समस्या परेको उनले बताइन् । कक्षा ८ को ग्रेड सिट निकाल्दा विभागको ‘सफ्टवेयर’मा जन्मदर्ता, जारी मिति लगायत कुरा अनिवार्य भएकाले जन्मदर्ता नभएका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन समस्या हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शिव पण्डितले बताए । बबितालाई परीक्षामा सहभागी गराउने विषयमा विभागसँग सम्पर्क गरेर समधान खोज्ने प्रयास गर्ने उनले बताए ।

प्रकाशित : माघ १४, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?