हटेन बालविवाह : २० वर्ष नपुग्दै दुई छोराछोरी- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हटेन बालविवाह : २० वर्ष नपुग्दै दुई छोराछोरी

माधव अर्याल

(माथागढी, पाल्पा) — भर्खर २० वर्ष पुग्दै गरेकी अनिता घर्तीमगरका काखमा दुई छोराछोरी छन् । चार र डेढ वर्षका छोराछोरी बोकेरै हिँड्छिन् । माथागढी गाउँपालिका–६, गोठादीकी उनलाई यति छिटो आमा बनेकामा अहिले असहज लागिरहेको छ । त्यसैले उनलाई छिटो विवाह गरेकामा पछुतो लागेको हो ।

कक्षा १० पढ्दापढ्दै उनले विवाह रोजेकी हुन् । ‘लहलहैमा लागेर भागेर विवाह गरियो,’ माथागढी–४, झडेवा स्वास्थ्यचौकीमा भेटिएकी उनले भनिन्, ‘अहिले बल्ल छिट्टै विवाह गरिएछ भन्ने भएको छ ।’


माथागढी–५, हात्तीलुङ दमारकी सरिता रेश्मीमगरले पनि कलिलो उमेरमै विवाह रोजिन् । उनको काखमा यतिबेला दुई वर्षको छोरा छ । १८ वर्ष नपुग्दै विवाह गरेकी उनले अहिले भने छिट्टै विवाह गर्दाका बेफाइदा बुझ्न थालेकी छन् । साथीभाइको लहलहै र आफ्नै बुद्धि नपुगेर विवाह गरेको उनले सुनाइन् । झडेवा स्वास्थ्य चौकीमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले राखेको स्थायी बन्ध्याकरण शिविर तथा एकीकृत परिवार नियोजन शिविरमा पुगेकी उनले भनिन्, ‘मैले त विवाह गरें, अरूले यसरी छिटो नगरुन् ।’ यी केही उदाहरण हुन् । माथागढी गाउँपालिकाको झडेवा, रुप्से, कसेनी, गोठादी, हात्तीलुङ, रहवास, बहादुरपुर लगायत वडामा अझै पनि बालविवाहको समस्या छ । उनीहरू कक्षा ८ पछि नै विवाह गर्ने गर्छन् । यहाँ मागीभन्दा पनि भागी विवाह कायम छ । मगर समुदायकाले परम्परागत रूपमा भागी विवाह गर्ने गर्छन् । अधिकांश किशोरकिशोरी पढ्दापढ्दै विवाह रोज्छन् । देखासिकी, साथीभाइको लहलहैमा लागेर उनीहरूले विवाह गर्ने गरेका हुन् । सानैमा विवाह गर्ने र बच्चासमेत छिट्टै पाउने गरेको झडेवा स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी किरण जीसीले बताइन् । ‘धेरैलाई हामीले किन छिटो विवाह गरेको भनेर सोध्ने गर्छौं,’ उनले भनिन्, ‘सानो उमेरमा विवाह गर्दा र बच्चा जन्माउँदाका बेफाइदाका विषयमा सचेत पनि गराइरहन्छौं ।’


जिल्लामै बालविवाह बढी छ । मगर समुदायमा यो समस्या अझ बढी छ । किशोरकिशोरीले सानै उमेरमा विवाह गरेपछि पढाइमा समेत असर परेको छ । घरपरिवारको अनुमतिबिना नै किशोरकिशोरीले विवाह गर्छन् । माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले गाउँपालिकाका अधिकांश वडामा बालविवाहको समस्या रहेको बताए । मगर समुदायमा बालविवाह अधिक भएको तथ्यांकमै देखिएकाले त्यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए । ‘हामीले गाउँपालिकामा बालविवाहको तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने । सही तथ्यांक आइसकेपछि यसलाई निर्मुल पार्न अभियान नै चलाउने उनले बताए । ‘दुई वर्षअघि नै बालविवाह भएको भोजमा जनप्रतिनिधि तथा कर्मचारी सहभागी नहुने निर्णय गरिसकेका छौं,’ उनले भने, ‘पछिल्लो दुई वर्षयता बालबालिका तथा महिलाको बजेटबाट यस्ता विषयमा सचेतनाका कार्यक्रम गरेका छौं ।’ झडेवाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधु पराजुलीका अनुसार स्थानीय जनप्रतिनिधि निर्वाचित भइसकेपछि सचेतनाका कार्यक्रम भइरहेको छ । त्यसैले पहिलाजस्तो अहिले नभएको उनले बताए ।


गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बालविवाहका विषयमा धेरै वर्षदेखि नै आवाज उठ्दै आएको बताए । उनले सानै उमेरमा गरिने विवाहले छिटो बच्चा जन्मिने र मातृ मृत्युदर एवं शिशु मृत्युदरमा कमी आउन नसकेको बताए । अधिकांश विवाह गरेर वैदेशिक रोजगारमा हिँड्ने गर्छन् । बालविवाह हुने र कलिलो उमेरमै बच्चा जन्माउने दर पनि माथागढीमा बढी छ । गाउँपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले स्थायी तथा अस्थायी बन्ध्याकरण शिविर राखेको छ । शिविरमा ४३ जना महिला सेवाग्राहीले लामो समयको अस्थायी साधनको सेवा लिए । उमेर नपुगेका आठ जना किशोरीले सेवा लिएका छन् । उनीहरू २० वर्ष नपुग्दै सेवा लिन आएका हुन् । कतिपयले २० वर्ष नपुग्दै दुई छोराछोरी लिएर आएको पनि भेटिएको उनले बताए ।


यौन र प्रजनन शिक्षाको कमी, सामाजिक र सांस्कृतिक कारणले गर्दा पनि उमेर नपुगी विवाह गर्ने र बच्चा जन्माउने गरेको हुन सक्ने परिवार नियोजन संघका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले बताए ।


सानो उमेरमा गर्भधारण हुँदा महिलाहरूमा आङ खस्ने, पाठेघर खस्नेजस्ता रोग छिटो लाग्ने गर्छ । स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर प्रभास पन्थीले बालविवाह न्यूनीकरणका लागि स्थानीय तहले यसको अगुवाइ गर्नुपर्ने बताए । उनले स्वास्थ्य कार्यालयभन्दा पनि स्थानीय सरकारबाट नै यसका लागि पहल थालियो भने प्रभावकारी हुने बताए । स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो वर्ष पाँच वर्षमुनिका ५३ शिशुको मृत्यु भएको थियो । यस वर्षको पहिलो चौमासिकमा १२ जना शिशुको मृत्यु भइसकेको छ । कलिलो उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गर्दा पनि यस्तो समस्या आउने गरेको छ । सरकारले पछिल्लो समयमा अभिभावकको मन्जुरीमा केटा र केटी दुवैको उमेर २० वर्ष नपुगी विवाह गर्नु नै बालविवाह भनी उल्लेख गरेको छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

दुःखीको सहारा बन्दै एकल महिला

रूपा गहतराज

(नेपालगन्ज) — कुनै समय आफ्ना दुःखलाई नै भाग्य सम्झने एकल महिला अहिले दुःखीकै सहारा बन्दैछन् । शोकलाई शक्तिमा बदलेका उनीहरू आफ्नो दायरा फराकिलो पनि पार्दैछन् । त्यसले उनीहरूलाई सफलताको बाटोमा डोर्‍याएको छ । जीवनको दायरा पानी पँधेराभन्दा फराकिलो भएको छ । 

द्वन्द्वबाट पीडित बनेका बाँकेका महिलाहरू अहिले आफूजस्तै एकल महिलाका पीडा सुन्दै मल्हम लगाउने काममा लागेका छन् । अभाव र दुःखसँग लड्दालड्दै अहिले अरूको सहयोगमा पनि जुट्न सक्ने भएका हुन् । ‘अरूको पीडा कम गर्दागर्दै आफ्ना पीडा बिर्सन लाग्यौं,’ द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष जयन्ती खत्रीले भनिन्, ‘आफूजस्तै हजारौं एकल महिलाका सहारा भएका छौं ।’ न्याय र क्षतिपूर्तिका लागि कहिले प्रशासन त कहिले न्यायालय पुग्नु एकल महिलाको दैनिकीजस्तै बन्ने गरेको उनले बताइन् ।

३४ वर्षीया खत्रीको १५ वर्षको उमेरमा बिहे भएको थियो । १६ वर्षमा छोरा जन्माइन् । १७ वर्षको उमेरमा ०६१ साउन २९ मा महेन्द्रनगर शुक्लाफाँटाको दोहोरो भिडन्तमा पति गुमाइन् । तीन वर्षअघि १५ वर्षकै उमेरमा छोराले आत्महत्या गरे । उनी फेरि विक्षिप्त भइन् । तीन वर्ष भयो छोराले छोडेर गएको । पीडामाथि पीडा छ । ‘तर, आफ्नो पीडा प्राथमिकतामा पर्दैन,’ उनले भनिन्, ‘एकातिर पति वियोगको पीडा छ,’ उनले भनिन्, ‘अर्कोतर्फ समाजले एकल महिलालाई हेर्ने परम्परागत दृष्टिकोणले झनै पोलेको छ ।’ उनको जीवनले अहिले नयाँ मोड लिएको छ । आफ्नो समस्यालाई थाती राख्दै अरूका दुःख मेट्ने प्रयास गर्छिन् । दैनिक जसो नेपालगन्जमा हुने कार्यक्रममा उनको उपस्थिति हुने गर्छ । आफूजस्तै महिलाको अधिकारका विषयमा वकालत गर्न पाउँदा अहिले आफ्नो जीवन सार्थक भएको अनुभव गर्न थालेकी छन् ।

चन्द्रकला उप्रेतीको पनि दैनिकी फेरिएको छ । द्वन्द्वमा बेपत्ता भएका पति फर्कने आशामा उनले धेरै दिन आँशुमा बिताइन् । उनका आँखा त ओभाएका छैनन् तर मन भने निकै बलियो बनाएकी छन् । त्यसैले उनले त्यो शोकलाई शक्तिमा बदलेर बाँकी जीवन समाजका लागि योगदान दिनमा सुम्पिएकी हुन् । घर व्यवहार सम्हाल्न व्यस्त रहने चन्द्रकलाको अहिले दैनिकी फेरिएको छ । अन्यायमा परेकालाई न्याय दिनु उनको पहिलो लक्ष्य हो । पति अहिलेसम्म बेपत्ता नै छन् । ‘मर्ने त मरेर जान्छन्, आशा पनि मरेर जान्छ,’ उनले भनिन्, ‘तर, बेपत्ताको अवस्था सार्वजनिक हुनुपर्छ ।’ भावनाको कुनै क्षतिपूर्ति नहुने उनले बताइन् । उनी पनि सामाजिक अभियन्ता हुन् ।

शोभा वीसीको पनि लक्ष्य बदलिएको छ । उनको जीवनप्रतिको दृष्टिकोण बदलिएको हो । मानवअधिकारका लागि एकल महिला समूहकी केन्द्रीय उपाध्यक्ष तथा बाँके जिल्ला समूहकी संस्थापक अध्यक्ष वीसी अहिले एकल महिलाको नेतृत्व तहमा छन् । ०५९ भदौ २३ मा अर्घाखाँचीको सन्धिखर्क आक्रमणको दोहोरो भिडन्तमा पति मारिए । तर, जहाँ इच्छा त्यहाँ उपाए भनेझैं उनले पनि पछि फर्केर हेर्नु परेन । परिवारसँगै उनले विद्यार्थी राजनीति पनि अघि बढाइन् ।

‘श्रीमान्को मृत्युपछिको समय त्यति सहज थिएन,’ उनले भनिन्, ‘तर, मिहिनेत र परिश्रमले सबै कुरा सम्भव बनायो ।’ पति र घरपरिवारको छहारीमा बसेर जीवन बिताउने सपना देखेका महिलाहरू बज्रपात परेपछि पनि जीवनको खुड्किलो पार गर्न संघर्षरत छन् । सरकारले त्यस्ता महिलाको संघर्ष सार्थक बनाउन द्वन्द्वपीडित महिलाले उठाएका मुद्दा सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×