विचित्र गुफामा पर्यटकीय योजना

वीरेन्द्र केसी

(गुल्मी) — फरक आकृति र विभिन्न स्वरूपका बुट्टाले गुफा भरिएको छ । १ सय ८५ मिटर लामो गुफाभित्रका दृश्यले मोहित तुल्याउँछन् । त्यसमा साना–ठूला ११ कक्ष छन् । सबैमा रहेका फरक आकृति अनौठा र हेर्नलायक छन् । धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफाभित्र शिवलिंग मन्दिर, गोपिनी नाचेको, राम–सीताका मूर्ति, नागका आकृति, गोपीकृष्ण, धनुषवाण, जटायुलगायत विभिन्न किसिमका आकृति छन् ।

विचित्र गुफामा पर्यटकीय योजना

कडा र नरम पत्थरसहितको चुनाले कलात्मक आकृति बनेका छन् । विचित्र गुफा संरक्षण तथा विकास समितिका अध्यक्ष युवराज भण्डारीले गुफाभित्र थुप्रै कला र आकृति रहेकाले अध्ययन गर्न जरुरी रहेको बताए । अहिले यसको संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्नमा जुटेको उनले बताए ।


यस्तो विचित्र गुफा अहिले प्रचार अभावमा ओझेलमा परेको छ । ०४४ सालमा गुफा पत्ता लागेको थियो । स्थानीयले ०६२ सालदेखि यसको संरक्षण सुरु गरेका हुन् । अहिलेसम्म टुक्रे बजेट मात्र खर्च गरिएको छ । गाउँपालिकाले यसको डीपीआर तयार गरेपछि यस वर्ष प्रदेश ५ को वन, वातावरण तथा पर्यटन मन्त्रालयले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । डिभिजन वन कार्यालय गुल्मीमार्फत अहिले पर्यटकीय संरचना बनाउन लागेको अध्यक्ष भण्डारीले बताए ।


सूचना केन्द्र स्थापना, सडक निर्माण, रेलिङ राख्ने, खानेपानीको व्यवस्थापन, डस्टबिन राख्ने, सिँढी निर्माणका काम भइरहेको छ । गुफा अवलोकन गर्न २५ रुपैयाँ तिर्नुपर्छ । ‘महिनामा सरदर ५ देखि ६ हजार जना हेर्न आउँछन्,’ अध्यक्ष भण्डारीले भने, ‘पूर्वाधार निर्माण र प्रचार गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।’ पाँच वर्षअघि भूगर्भविद्ले यसको अध्ययन गरेका थिए । आध्यात्मिक रुपले अध्ययन गर्ने थलोका रुपमा गुफा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीले बताए । ‘आकर्षक भूबनोटको गुफा देखेभन्दा धेरै ठूलो छ,’ उनले भने, ‘दायाँपट्टिका साना प्वाल खोलिदिने हो भने अझ विशाल हुन सक्छ ।’


गुफाभित्र पारदर्शी पत्थर थुप्रै छन् । विचित्र ढुंगाका बुट्टाले छत भरिएको छ । बुट्टा मानव निर्मित हुन् या प्राकृतिक भन्ने अध्ययन भएको छैन । गुफा बाहिरबाट चारैतिर मनोरम दृश्य, हरियाली हिमशृंखला देख्न सकिन्छ । गुफा भन्दा पारी ठूलो रामदल चौर छ । गुफामा परापूर्वकालमा कुनै ऋषिले तपस्या गरी बसेको हुन सक्ने अनुमान छ । गुफाभित्रको तल जेठी र कान्छी खोपी छन् । जेठी खोपीमा ढुंगा चम्कन्छन् । आगामी दुई वर्षभित्रमा संरचना निर्माण हुनेछन् ।


गुफा नजिकैको धनमुढा गाउँमा होमस्टे सञ्चालन गरिएको छ । बाइसे/चौबीसे राजाले राज्य गरेको धुर्कोट कोटलाई पनि संरक्षण गर्ने कार्यक्रम छ । ‘०७८ लाई धुर्कोट भ्रमण वर्ष भनेर पालिकाले घोषणा गरेको छ,’ गाउँपालिका उपाध्यक्ष शिवबहादुर केसीले भने, ‘गुफाबारे व्यापक प्रचारको खाँचो छ ।’

प्रकाशित : माघ १३, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?