२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भारत पस्दा नागरिकताविहीन

काशीराम डाँगी

(रोल्पा) — पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाकी ७० वर्षीया एक वृद्धा नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगिन् । वंशजका आधारमा नागरिकता पाउन स्थानीय तहले सिफारिस गरेका कागजपत्र लिएर उनी कार्यालय पुगेकी थिइन् । तर, उनले नागरिकता पाइनन् । 

त्यसै गरी, रोल्पा नगरपालिका–४, कोटगाउँका एक युवक पनि नागरिकता लिन वडा कार्यालयबाट आवश्यक कागज लिएर प्रशासन कार्यालय पुगेका थिए । उनलाई पनि स्थानीय प्रशासनले नागरिकता दिन मानेन । थबाङ गाउँपालिका, उवाका युवकलाई पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन आनाकानी गर्‍यो । नागरिकताका लागि आवश्यक कागजपत्र लिई आएका भए पनि स्थानीय प्रशासनका कर्मचारीले उनलाई पनि नागरिकता दिन नमिल्ने जवाफ दिएपछि उनी रित्तो हात फर्किए ।


स्थानीय तहका जनप्रतिनिधिले नागरिकता दिन मिल्ने पर्याप्त कागजातसहित प्रशासनमा सिफारिस गरे पनि उनीहरूले नागरिकता पाएनन् । नागरिकता पाउन नसक्दा उनीहरू पीडामा छन् । नागरिकता नपाउनुको कारणबारे स्थानीय तहका जनप्रतिनिधि र दलका नेताहरूले छलफल थालेका छन् ।


सम्पूर्ण कागजात पुर्‍याए पनि नागरिकता नपाउनुमा उनीहरू लामो समय भारत बस्नु मुख्य कारण रहेको जिल्ला प्रशासन कार्यालयका कर्मचारीको भनाइ छ । ‘प्रशासनका अधिकारीहरूले लामो समय भारतमा बस्नुको कारण र अहिलेसम्म नागरिकता नलिनुको चित्तबुझ्दो उत्तर खोजिरहेका छन्,’ पूर्व सांसद लेखनाथ आचार्यले भने । प्रमुख जिल्ला अधिकारीलाई भेटेर नागरिकता दिन आग्रह गरेको समेत उनले बताए । ‘नागरिकता नदिई पठाइएकालाई लिएर म फेरि प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेँ,’ उनले भने, ‘कागजपत्र पुगेको छ । नागरिकता दिनुस् भनी आग्रह गरेँ ।’


पूर्वसांसद आचार्यले ७० वर्ष नाघेकी महिला नागरिकता नलिई फर्कनुपर्दा निकै दु:खी भएको सुनाए । ‘अर्का एक जनाले नागरिकता नपाएको झोंकमा प्रमुख जिल्ला अधिकारीकै अगाडि वडा कार्यालयले दिएको सिफारिसपत्र च्यातेर फाल्ने धम्कीसमेत दिए,’ उनले भने । काम खोज्न लामो समय भारतमै बस्दै आएकाले नागरिकता लिन आउन नभ्याएको गुनासो ती पीडितको थियो । तर, प्रमुख जिल्ला अधिकारीले त्यसबारे गुनासो सुनेर पनि नेपाल नबस्नेलाई नागरिकता दिन आवश्यक नभएको तर्क सुनाएको पूर्वसांसद आचार्यले बताए । ‘प्रमुख जिल्ला अधिकारीले नेपाल नबस्नेलाई किन नागरिकता दिने भनेर प्रश्न गर्नुभयो,’ उनले भेन, ‘भत्ता खानमात्रै नागरिकता दिन नमिल्ने भनेर अड्को थाप्नु भयो ।’


नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगरले लामो समय भारतमा बसेर घर फर्किएका आफ्नो गाउँ कोटगाउँका तीन जनालाई प्रमुख जिल्ला अधिकारीले नागरिकता दिन अस्वीकार गरेको बताए । ‘म आफैं पनि प्रशासन कार्यालयमा पुगेको थिएँ,’ उनले भने, ‘अरू बेला भारत बस्ने, अहिले नागकिता लिन आउने भनेर जंगिदै प्रजिअले नागरिकता दिन मानेनन् ।’ रोल्पा नगरपालिका–७ का वडा सदस्य समेत रहेका नेकपाका जिल्ला अध्यक्ष घर्तीमगरका अनुसार सबै कागजात लिएर आएकालाई नागरिकता दिनबाट वञ्चित गर्नु हुँदैन । त्यसबारे नगर प्रमुख पूर्ण केसीलाई जानकारी गराएको र केसीले पनि प्रमुख जिल्ला अधिकारीलाई नागरिकता दिन आग्रह गरेको घर्तीमगरले सुनाए । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले लामो समय भारतमा बसेकालाई यतै बस्न प्रेरित गर्न त्यसो भनेको प्रतिक्रिया दिए । ‘काम गर्न भारत वा अन्य स्थानमा जानु नराम्रो होइन । तर, आफूले पाउने प्रमाणपत्र लिन समयमै आउनु पर्‍यो,’ उनले भने, ‘नागरिकता लिन पुस्ता पर्खनु पर्दैन ।’


भारत जानु बाध्यता

काम खोज्न भारत जानेलाई नागरिकता लगायतका परिचयात्मक पत्र आवश्यक पर्दैन । चौकीदारी, भारी बोक्ने, खेतीपाती गर्ने लगायत काम खोज्न वर्षमा हजारौं नेपाली भारत पुग्छन् । उनीहरूले त्यहाँ वर्षौंसम्म बसेर काम खोज्छन् ।


एक तथ्यांक अनुसार भारतमा लाखौं नेपाली गैरकार्यालयका काममा खटिएका छन् । रोल्पाबाट तत्कालीन सशस्त्र द्वन्द्वकै बेलादेखि थुप्रै व्यक्ति भारत पुगेका थिए । लामो समय भारतमा बसेर शान्ति सम्झौतापछि फर्किएका जनमोर्चाका जिल्ला नेता केबी थापाका अनुसार बिनापरिचय र प्रमाण थुप्रै नेपालीले काम गर्दै आएका छन् ।


प्रकाशित : माघ १२, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?