३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

घोराही र तुलसीपुरमा एकसाथ महोत्सव

दाङ — घोराही र तुलसीपुरमा शुक्रबारदेखि एकसाथ व्यापारिक तथा कृषि महोत्सव सुरु भएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माणाधीन बहुउद्देश्यीय सभाहलको पूर्णता र टरिगाउँ विमानस्थल विस्तारका लागि महोत्सव आयोजना गरेको छ ।

घोराही र तुलसीपुरमा एकसाथ महोत्सव

माघ २० गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोडभन्दा बढी आम्दानी हुने र त्यसबाट सभाहललाई पूरा गर्नुका साथै विमानस्थलको विस्तारमा लगानी गरिने संघका अध्यक्ष वीरबहादुर रावतले बताए । महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरे । उक्त अवसरमा मन्त्री भट्टराईलाई विमानस्थल विस्तारको माग गर्दै १ हजार २ सय ५० मिटरको कपडामा हस्ताक्षर बुझाइएको छ । हाल ७ सय ५० मिटर धावनमार्ग रहेको विमानस्थलमा साना जहाजमात्रै उडान हुने गरेका छन् । त्यसलाई विस्तार गरी १ हजार २ सय ५० मिटर बनाउन दबाब दिन हस्ताक्षर बुझाइएको रावतले बताए ।

मन्त्री भट्टराईले विमानस्थल विस्तार र इन्धन डिपो निर्माणका लागि आफू प्रयत्नशील रहेको बताए । ‘यो राप्तीको केन्द्र हो । पहाडी जिल्लाको प्रवेशद्वार हो । विमानस्थल विस्तार गर्न र इन्धन डिपो स्थापना गर्न पहल भइरहेको छ,’ उनले भने, ‘यति लामो कपडा किनेर पैसा खर्च गर्नैपर्ने थिएन । काम त्यत्तिकै पनि अघि बढ्छ ।’ उनले घोराहीकोङ् नारायणपुरमा निर्माण हुन थालेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको पनि निरीक्षण गरे ।


०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्नु दुःखद भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । पटकपटक बन्द भएको विमानस्थल सुचारु गर्न निकै मिहिनेत भएको र अझै यसको क्षमता विस्तार गरी निरन्तरता दिन खोजेको उनले बताए । नारायणपुरमा अर्को विमानस्थल बन्ने तयारी भएपछि टरिगाउँ विमानस्थल ओझेलमा परेको छ । महोत्सवमा स्थानीय उत्पादनका साथै कला, संस्कृति र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गरिने संघका महासचिव रुकबहादुर खत्रीले बताए ।

यसैगरी, घोराहीमा दाङ च्याम्बर अफ कमर्सले कृषि औद्योगिक महोत्सव आयोजना गरेको छ । उक्त महोत्सवको पनि मन्त्री भट्टराईले उद्घाटन गरेका थिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महोत्सवले पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । ‘देश कृषि, पर्यटन र रोजगारका माध्यमबाट समृद्धिको यात्रामा छ,’ भट्टराईले भने, ‘अब विदेशिने युवालाई स्वदेशमै रोक्ने योजना बनिरहेका छन् । नेपाललाई पर्यटकीय गन्तव्य बनाएर आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्छ ।’ माघ २२ गतेसम्म चल्ने महोत्सवमा १० करोडको कारोबार हुने र पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको च्याम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले बताए ।

प्रकाशित : माघ ११, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?