कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुकीछिपी बालविवाह अझै

रुपा गहतराज

नेपालगन्ज — स्थानीय तहले नियमनमा चासो नदेखाउँदा अझै पनि ग्रामीण क्षेत्रमा लुकीछिपी बालविवाह भइरहेका छन् । बालविवाहको जानकारी पाएमा त्यसलाई रोक्न संघसंस्था क्रियाशील छन् । जिल्लामा बालविवाहविरुद्ध एक दर्जन संस्था सक्रिय छन् । 

लुकीछिपी बालविवाह अझै

डुडुवा गाउँपालिका–२, बेतौंनीमा वडा कर्मचारीकी छोरीको बिहे भारतमा पक्का गरियो । १६ वर्ष लाग्दै गरेकी छोरीको विवाहको जानकारी लगत्तै पुगेका संस्थाका प्रतिनिधिले त्यसलाई रोके । केही समयपछि किशोरीले भागेर ती युवकसँग विवाह गरिन् । त्यही गाउँमा एक साताअघि फेरि बालविवाहको हल्ला चल्यो । स्थानीय संघसंस्था सक्रिय भए । किशोरी पक्षलाई वडा कार्यालयमा झिकाइयो । किशोरीको उमेर १६ वर्षमात्र भएकाले परिवारलाई दबाब दिएर विवाह रोक्न लगाइयो । अहिले अभिभावकले किशोरीलाई भारत लगेर उतैबाट विवाह गरिदिने तयारी गरिरहेका छन् । यस्ता घटनाले बालविवाह नियन्त्रण चुनौतीपूर्ण बनेको देखिएको छ । डुडुवा–२ मा मात्र अहिले ६ बालबालिकाका विवाह तय भइसकेको जानकारी यस क्षेत्रमा क्रियाशील व्यक्तिले पाएका छन् ।


जनचेतनाका लागि क्रियाशील संघसंस्थालाई बालविवाह रोक्न कानुनी अधिकार छैन । ‘त्यसैले हामीले अभिभावक र बालबालिकालाई सम्झाइबुझाइमात्र गर्छौं,’ सिविन नेपाल नेपालगन्ज प्रमुख सिद्धराज पनेरुले भने, ‘कानुनी अधिकार पाएका जनप्रतिनिधि यो कुरामा सिरियस छैनन् ।’ भोटको लोभले जनप्रतिनिधिले खुलेर विरोध गर्न नसक्ने उनले बताए । मागेरै हुने विवाह रोकिने गरेको भए पनि लुकीछिपी विवाह गर्ने र गराउनेको संख्या बढ्दो रहेको उनले बताए । सिबिनको तथ्यांक अनुसार ०७५/०७६ मा १२ वटा बालविवाह रोकिएका छन्, जसमा सात जना मधेसी किशोरी तथा बालिका छन् । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७२ (३) ख अनुसार विवाह गर्ने उमेर २० वर्ष नपुगी कसैले बालबालिकाको विवाह तय गरे विवाह गर्ने वा गराउनेलाई बालबालिकाविरुद्धको कसुर मानी ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको सजाय छ ।


जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवले बालविवाह रोक्न खुलेरै सहयोग गरेको बताए । ‘कानुनको कार्यान्वयनका लागि हामी बसेका छौं,’ उनले भने, ‘जानकारी पाएसम्म कानुन मिचेर बालविवाह गर्न दिएका छैनौं ।’ लुकेर र भागेर गर्ने विवाह भने नियन्त्रण हुन नसकेको उनले बताए । कक्षा ८ भन्दा माथिका छात्रालाई बालविवाह रोकथामका लागि स्कुलस्तरमा अभियान चलाएको उनले सुनाए । संघसंस्थाको तथ्यांक अनुसार बाँकेको डुडुवा, बैजनाथ र जानकी गाउँपालिकामा बालविवाह गर्नेको संख्या धेरै छ ।

स्थानीय तहका जनप्रतिनिधिले अभियानमा साथ दिए पनि कारबाहीका लागि पन्छिने गरेको सामाजिक सचेतन सरोकार मञ्च (स्याक)का टिम लिडर नेत्रकला शाहीले बताइन् । ‘कसैले पनि बालविवाह गर्दैनौं भन्नुहुन्न । तर, कानुनी कारबाहीमा लैजाने कुरामा आनाकानी गर्ने गरेको देखिन्छ,’ उनले भनिन्, ‘स्थानीय तहले बालविवाह गरेकामा अहिलेसम्म कारबाही गरेको जानकारी छैन ।’ अभिभावकलाई सचेत गराउन नसक्दा गाउँबाटै र कतिपयले सीमा क्षेत्रबाट भारतमै पुर्‍याएर समेत बालविवाह गरिदिने गरेको उनले बताइन् ।

प्रकाशित : माघ ९, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?