१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

चुनिँदै महिला बडघर

थारु समुदायमा फुरष मात्र बडघर बन्ने प्रथा तोडेर ब्राहृमण, क्षत्री, दलित र मुस्लिम महिला नेतृत्वमा
ठाकुरसिंह थारु

(बर्दिया) — पश्चिम तराईका थारु समुदायमा बडघरले गाउँको अगुवाइ गर्ने परम्परा छ । उनीहरूकै नेतृत्वमा गाउँमा विकास निर्माणदेखि सामाजिक काम हुने गर्छन् । पहिले यस्ता व्यक्ति पुरुषमात्र हुने गर्थे । पछिल्लो समय महिला पनि बडघर चयन हुन थालेका छन् । बडघरको भूमिका निर्वाह गर्नेमा गैरथारु महिलाको संख्या धेरै छ । यसले पुरुषमात्र नेता बन्ने परम्परा तोडिनुका साथै महिलाले अगुवाइ गर्न सक्छन् भन्ने देखाएको छ ।

चुनिँदै महिला बडघर

राजापुर नगरपालिका–३, राजपुरवाकी मीना आचार्य बडघर हुन् । एक वर्षदेखि यस्तो भूमिका निर्वाह गरिरहेकी छन् । सोमबार भएको गाउँ भेलाले माघभित्रै बडघर छनोट गर्नुपर्ने निर्णय गरेको छ । गाउँमा अधिकांश थारु समुदायको बसोबास छ । ‘बडघर नबन्दै पनि गाउँको विकासमा सरिक हुन्थेँ । नागरिक मञ्च र नगरस्तरीय महिला सञ्जालको अध्यक्ष हुँदा पनि गाउँकै लागि काम गरेँ,’ उनले भनिन्, ‘बडघर किन बन्न नपाउने भनेर दाबी गरेपछि सबैले स्वीकारे ।’ गाउँमा सडक ग्राभेल र विद्युत् ट्रान्समिटर जडान उनकै पहलमा सम्भव भयो । घरेलु हिंसापीडितलाई न्याय दिलाउन रातदिन लागिपरेकी छन् । ‘महिला देशको राष्ट्रपति हुन सक्ने अनि हामी बडघर हुन नसक्ने हुन्छ र !’ उनले भनिन्, ‘गएको माघीमा मलाई बडघर छाने ।’


माघी मनाएसँगै यहाँका थारु गाउँमा धमाधम बडघर चुनिन थालेका छन् । समुदायमा बडघर प्रथा पुर्खौंदेखि चल्दै आएको हो । बदलिँदो परिवेशले बडघर बन्ने प्रक्रिया खुला बन्दै गएको छ । गैरथारुहरू पनि बडघर बन्ने अवसर पाउन थालेका छन् । गेरुवा गाउँपालिका–१, माधवपुरकी ३६ वर्षीया अमृता विक एक वर्षका लागि फेरि बडघरमा छनोट भएकी छन् । उनले दुई वर्षयता बडघरको भूमिका निर्वाह गर्दै आएकी हुन् । कक्षा ८ सम्म पढेकी उनी यसअघि गाउँमा रहेका महिला समूहको नेतृत्व गर्दै आएकी थिइन् । उनको नेतृत्व क्षमताले नै बडघर बन्न सहयोग पुर्‍याएको हो । गाउँका महिलामाथि हुने हिंसा–झैंझगडाविरुद्ध सधैं अग्रसर हुने गरेकी थिइन् । गाउँमा हुने विकासका काम उनकै नेतृत्वमा हुन्थ्यो । ‘मेरो काम गराइ देखेर माधवपुर टोलको बडघर बनाएका हुन् । यस वर्ष पनि मलाई नै रोज्नु पर्ने कारण मेरो काम गराइ नै हो,’ उनले भनिन्, ‘गाउँको विकासका लागि काम गरेपछि सबैले स्वीकार्ने रहेछन् ।’


थारु समुदायले माघी मनाएसँगै थारु गाउँमा धमाधम बडघर छनोट भइरहेका छन् । एक वर्षका लागि गाउँ हाँक्ने अगुवाका रूपमा छनोट गरिने बडघर बन्ने प्रतिस्पर्धामा रहेका व्यक्तिहरूले आफ्नो पक्षमा माहोल बनाइरहेका छन् । गाउँको विकासका लागि बडघरले नै अगुवाइ गर्ने चलन छ । खानेपानी, सिँचाइका लागि कुलो मर्मत, सडक निर्माणलगायत सार्वजनिक कामका लागि उनीहरूले नै अगुवाइ गर्नुपर्छ । त्यस्तै, गाउँघरमा हुने सानातिना विवाद बडघरले नै मिलाउने पर्छन् । गाउँलाई लोकतान्त्रिक विधिद्वारा हाँक्न नीति नियम कार्यान्वयन उनीहरूले गर्नुपर्छ । बडघर चयन गर्दा उनीहरूले गरेको कामको मूल्यांकन अनिवार्य गरिन्छ । राम्रो काम गर्नेलाई दोहोर्‍याएर बडघर छनोट गरिन्छ ।


राजापुर–१ की २८ वर्षीया फूलकुमारी थारु तीन वर्षदेखि लगातार बडघरमा निर्विरोध चयन हुँदै आएकी छन् । उक्त वडामा नौ सहायक बडघर छन् । तीमध्ये उनी एक्ली महिला बडघर हुन् । उनको बडघर छनोट प्रक्रिया निकै रोचक छ । तीन वर्षअघिको कुरा हो । माघीपछि गाउँमा बडघर चयनबारे भेला बस्यो । तर, रातदिन बिनापारिश्रमिक काम गर्नुपर्ने भन्दै बडघर बन्न कोही तयार भएनन् । गाउँलेले गोलाप्रथाबाट छान्ने सहमति गरे । ‘मेरो भित्री इच्छा बडघर बन्नु थियो । तर, पुरुषमात्रै बन्ने नियमले भन्न सकेकी थिइनँ । भाग्यले मै छानिएँ,’ उनले सुनाइन्, ‘यसरी मेरो बडघर बन्ने सपना पूरा भयो । यो माघीमा फेरि पनि मै छानिएकी छु ।’ उनले गाउँको अगुवाइ गर्न पाएकामा भाग्यमानी ठानेको बताइन् । प्रहरी चौकीमा विवाद मिलाउन पुग्छिन् । सबैले सम्मान गर्छन् । ‘बडघर नबन्दा कसैले चिन्दैन्थे । अब त पुलिसदेखि हाकिमहरूले पनि चिन्न थालेका छन्,’ उनले भनिन् । आफ्नो नाम लेख्न र सामान्य लेखपढ गर्न सक्छिन् ।


बाहुन, क्षत्री, थारु र दलित समुदायका महिलामात्रै होइन, मुस्लिम समुदायकी मुन्नी रहिमानी बडघर छानिएकी छन् । राजापुर नगरपालिका–४, जग्गापुरवाकी उनी गएको वर्ष बडघर बनेकी थिइन् । घरायसी कामका कारण यस वर्ष बिदा लिएकी छन् ।


गाउँको सार्वजनिक कार्यमा रातदिन खटिने बडघरले भने कुनै पारिश्रमिक पाउँदैनन् । त्यसैले पछिल्लो समयमा सरकारले नै पारिश्रमिक दिनुपर्ने आवाज उठ्न थालेको छ । आफूहरूले गर्ने कार्यले सरकारलाई नै सहयोग पुग्ने भन्दै बडघरहरूले पारिश्रमिकका कुरा उठाउन थालेका छन् । पारिश्रमिक नपाएकै कारण धेरैले बडघर बन्न नचाहेको बताए ।


गाउँका सडक तथा कल्भर्ट निर्माणलगायतका विकासका काम, वर्षमा गाउँमा गरिने पूजा, विवाह, मृत्यु संस्कारका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था बडघरको अधिकारभित्र पर्छन् । गाउँमा विहेबारी हुँदा बाहिरबाट आउने दुलहा पक्षले पटाका पड्काउँदा, जन्तीको स्वागतमा गीत गाउँदा, विवाहमा आवश्यक पर्ने काठदाउरा, मन्दिर पूजा, सरसफाइ, खाना पकाउन र दुलही बोक्दा प्रतिकोष शुल्क तोक्ने अधिकार बडघरलाई छ । बडघर चयनका लागि गाउँभरिका सर्वसाधारणले आफ्नो मत राख्न पाउने भएकाले यसलाई लोकतन्त्रको अभ्यास मानिन्छ । बडघरले आफूले गरेका कामको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।

प्रकाशित : माघ ८, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?