कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘बार्गेनिङ’ नमिले बलात्कार उजुरी 

मधु शाही

(बाँके) — ‘ममाथि बलात्कार भयो’ भन्दै एक युवती जिल्ला प्रहरी कार्यालयमा आइन् । केही साथी पनि थिए । प्रहरी उजुरी दर्ता गर्ने प्रक्रियामा पुग्दा पीडित महिलाले तुरुन्तै उजुरी दिन आनाकानी गरिन् । प्रहरीले तथ्य बुझ्न खोल्दा रहस्य अर्कै फेला पर्‍यो । 

‘बार्गेनिङ’ नमिले बलात्कार उजुरी 

आफूसँग सम्बन्धमा रहेको युवकले स्कुटर, एटीएम र लगेको पैसा फिर्ता दिए बलात्कारको मुद्दा दर्ता नगर्ने भन्दै पीडित युवतीले सर्त राखेकी रहेछिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले भने, ‘पीडित नै सर्तसहित आएपछि प्रहरीले मुद्दा दर्ता गर्ने कुरै भएन ।’


लामो प्रेम सम्बन्धलाई उनी वैवाहिक मान्यता दिलाउन चाहन्थिन् । त्यसका लागि सम्बन्ध आधिकारिक रूपमा सार्वजनिक गराउने चाहना थियो । तर, केटाको परिवारले स्वीकार गरेन । अन्तत: घर भित्रिन नपाएपछि भाडाको घरमा बस्न थाले । चार वर्ष भाडाको कोठामै बित्यो । केटाले बाबुआमाको वचन काट्न नसक्दा घर लैजान सकेन । बिस्तारै सम्बन्ध पातलिँदै गयो । कहिले आउने र कहिले नआउने गर्न थालेपछि गाढा प्रेममा फिकापन झल्कियो । उनले विकल्प खोजिन्, सम्बन्ध जोड्ने । प्रभावकारी उपाय रोजिन्, बलात्कार अभियोग ।


त्यस्तै, अर्को एक घटनामा छिमेकीले बलात्कार गरेको भन्दै पीडित महिला प्रहरीकहाँ पुगिन् । घटना बुझ्दै जाँदा उनले जग्गाको विषय कोट्याइन् । छिमेकीको जग्गा किन्ने नियत थियो उनको । आफूले चाहेको जग्गा छिमेकीले अर्कैलाई बिक्री गरेका रहेछन् । यो सामान्य जग्गाको कुराले ठूलो विवाद निम्त्यायो । घटना बलात्कारसम्म पुगेपछि प्रहरी गुहार्दै आएकी उनै पीडितले मुद्दा दर्ता गर्न मानिनन् । ‘जग्गाको विषय मिलाए मुद्दा दर्ता नगर्ने भन्दै’ उनी मौन रहिन् ।


यी दुई प्रतिनिधि घटनाले पछिल्लो समय बलात्कारजस्तो जघन्य अपराधलाई पनि सामाजिक, आर्थिक र पारिवारिक प्रलोभनमा परेर पीडितले नै ‘बार्गेनिङ’मा टुंग्याउने गरेका भेटिन्छन् ।


यी घटना प्रहरीसमक्ष मुद्दा दर्ता नहुँदै छलफलमा आएका हुन् । बलात्कारजस्तो गम्भीर विषयलाई पीडित पक्ष आफैंले बार्गेनिङ गर्ने थलो बताउने प्रवृत्ति देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेवा केन्द्र (सेल)को तथ्यांक अनुसार आव ०७५/७६ मा बलात्कृत हुनेको संख्या ५६ पुगेको छ । त्यस्तै, चालु आवको कात्तिक मसान्तसम्म २१ वटा बलात्कारका मुद्दा परेका छन् ।


०७४/७५ मा ३५ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए भने ३९ जनामाथि बलात्कारको प्रयास भएको तथ्यांक छ । जसअन्तर्गत २२ जना बालिका अप्राकृतिक मैथुन तथा बाल यौन दुर्व्यवहारमा परेका छन् । हरेक वर्ष बलात्कारका मुद्दा बढ्दै गएका छन् । सुरुमा बलात्कार भएको भन्दै आउने र बुझ्दै जाँदा स्वार्थ र सर्त पूरा भयो भने मुद्दा दर्ता नगर्ने पक्ष देखिने गरेको एसपी वलीले बताए । उनका अनुसार आधाजसो बलात्कारका मुद्दा दर्ता नभई टुंगिन्छन् । पीडित आफैंले सर्त अनुकूल भए बलात्कारको निवेदन दिन्न भन्दै अपिल गर्छन् । ‘चलाख पीडितले स्वार्थ पूरा गर्न बलात्कार भएको आरोप लगाउँछन्,’ उनले भने, ‘सुरुमा बलात्कार भयो भन्ने मुद्दा दर्ता गर भन्दा अर्कै रहस्य खोल्ने देखिन्छ ।’ मिल्दासम्म ‘सेभ’ र नमिलेपछि ‘रेप’ प्रवृत्ति बढेको उनले बताए । महिला सेलकी प्रमुख श्यामकुमारी थापाले बलात्कारका वास्तविक पीडित आफैंले बलात्कारको बार्गेनिङमा सहमति जनाउने घटना पनि आएको बताइन् । ‘उनीहरू प्रहरी कार्यालयबाहिरै आफैं मिलेमतो गरेर जान्छन्,’ उनले भनिन्, ‘अलि जटिल र अस्पष्ट लागे प्रहरी प्रशासनको मुख्य कार्यालयमै पठाउने गर्छौं ।’ जबरजस्ती करणी गरेको वा गर्न खोजेको एक वर्षभित्र मुद्दा हाल्न पाइने कानुनी प्रावधान छ ।


बलात्कारको जाहेरी नपर्दै बाहिरैबाट बार्गेनिङ गर्ने र मेलमिलाप गर्न थाल्ने प्रवृत्ति रहेको कानुन व्यवसायी सुनीता शर्माले सुनाइन् । ‘आर्थिक प्रलोभन, सामाजिक दबाब र आफ्नै स्वार्थले पनि पीडितले मुद्दा फिर्ता गर्ने प्रवृत्ति छ,’ उनले भनिन्, ‘वास्तविक पीडित त अदालतसम्म आउनै सकेका छैनन् ।’


प्रकाशित : माघ ८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?