सडक पहुँचले फेरियो नारीकोट

(प्यूठान) — गौमुखी गाउँपालिका–७, नारीकोटका ८७ वर्षीय ससबहादुर र खिमकुमारी कँवर वर्षभरिका आवश्यकता पूर्ति गर्न कपिलवस्तुको झण्डीनगर जान्थे । वर्षमा पाँच खेप नुन बोक्थे । श्रीमती खिमकुमारीले ओसारेको नुनले परिवारलाई वर्ष दिन पुग्थ्यो । श्रीमान्ले ओसार्ने नुन बिक्रीबाट केही आम्दानी हुन्थ्यो ।

नुन, भाँडाबर्तन, लत्ताकपडा किन्न हाट जाने चलन थियो । त्यसका लागि कपिलवस्तु र बुटवलसम्म पुग्थे । हाटबाट फर्किन आधा महिना लाग्थ्यो । अहिले अवस्था फेरिएको छ । उनका छोरा–बुहारीलाई हाट जान पर्दैन । नारीकोटबासीले हाट जान छाडेको दशकौं भइसक्यो । गाउँसम्मै यातायातको सुविधा पुगेपछि गाउँलेको हाट जाने बाध्यता टरेको हो ।


नारीकोटमा मोटर सञ्चालन हुन थालेको वर्षौं भइसकेको छ । सडक सुधार हुँदै गएपछि अहिले गाडी गाउँबाटै छुट्न थालेका हुन् । यहाँबाट बस, जिप कपिलवस्तुको कृष्णनगर र रूपन्देहीको बुटवलसम्म छुट्छन् । गाउँमै दर्जनौं पसल खुलेका छन् । ‘हाट जाने बेला ३०/४० जनाको लस्कर हुन्थ्यो,’ ससबहादुरले भने, ‘ती दिन सम्झँदा अहिले सपनाझैं लाग्छ । ऊ बेला हिंड्ने बाटामा मान्छेको लस्कर हुन्थ्यो । अहिले गाडीको लस्कर हुन्छ ।’


त्यसबेलाको हाट अहिले घर–आँगनमै सुरु भएपछि कँवर दम्पती दंग छ । नारीकोटस्थित पीपल रुखनजिक बस्दै आएका छन् । आँगनबाटै कृष्णनगर र बुटलका लागि दैनिक बस सञ्चालन भइरहेका छन् । ‘अहिले बिहान बजार गएर बेलुका फर्किन्छौं,’ ८६ वर्षीया खिमकुमारीले भनिन्, ‘यस्तो होला भन्ने सोचेका थिएनौं ।’ केही दिनअघि छोरासँगै आँगनबाट बस चढेर बुटवल पुगेर फर्किएको उनले बताइन् । बिहान बुटवल झरेर स्वास्थ्य जाँच गराएर बेलुका घर फर्केका थिए । अहिले दैनिक चाहिने उपभोग्य सामान स्थानीय पसलबाटै खरिद गर्न पाइन्छ । ‘हाम्रो पालामा दुई–चार सय रुपैयाँ कमाउन वर्षभरि भैंसी दुहेर टिनभरि घिउ जम्मा गर्नु पर्थ्यो,’ खिमकुमारीले भनिन्, ‘अहिले सरकारले चार महिनामा १२ हजार दिन थालेको छ । दामको दु:ख हरायो ।’ मंसिर महिनामा दम्पतीको भत्ता २४ हजार बुझेको उनले बताइन् ।


वृद्धभत्ताले औषधोपचार र घरखर्च चलेको कँवर दम्पतीले सुनाए । सरकारले दिएको भत्ता र छोराहरूको कमाइ जम्मा गरेर केही वर्ष पहिले एउटै मण्डपमा दम्पतीको चौरासी पूजा गरेको ससबहादुरले सुनाए । ‘पहिले पूजाआजा गर्न चाहिने सामान लिन हाट जानु पर्थ्यो,’ उनले भने, ‘अहिले हामीले घरमै मगायौं । चौरासी पूजा सामग्री जुटाउन छोराहरूलाई कुनै दु:ख भएन ।’ सडक सुविधा भएपछि चाहिने सबै कुरा घरमै आइहाल्ने उनले बताए । पहिले सँगै हाट जाने दौतरी अहिले भेट हुँदा पहिले र अहिलेको गाउँ र आफूहरूको दैनिकीबारे कुरा हुने ससबहादुरले बताए ।


ससबहादुरले हिजोको गाउँसमेत अहिले फेरिएको सुनाए । ‘पहिले औंलामा गन्न सकिने एक–दुईवटा मात्रै घर ढुंगाले छाएका थिए,’ उनले भने, ‘अहिले खरले छाएका घर गाउँमा भेटिनै मुस्किल छ ।’ गाउँमाथिको देउराली डाँडामा पुगेर हेर्दा नारीकोट अहिले सहरजस्तै रातै, सेतै र हरियै देखिने उनले बताए । आटो, ढिँडो, रोटी, दूध पहिलेको खान्की भए पनि अहिले त्यसमा पनि परिवर्तन आएको उनको भनाइ छ । ‘पहिले दाल–भात खान विवाह, भोज पर्खनु पर्थ्यो,’ उनले भने, ‘अहिले दिनहुँ दाल–भात खाइन्छ ।’


ससबहादुर दम्पतीको चौरासी पूजा गरेको पनि तीन वर्ष बितिसकेको छ । कँवर दम्पती अझै फुर्तिला र जोसिला छन् । आफूहरूसँगैका दौतरी धेरैको मृत्यु भइसकेको उनीहरूले बताए । ‘हाम्रा दौतरी गाउँमा औंलामा गन्ने मात्र छन्,’ ससबहादुरले भने, ‘लामो आयु पाइएकाले धेरै कुरा देख्न र भोग्न पाइएको छ ।’

प्रकाशित : माघ ८, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?