सीमामा बेवारिसे शव, भारतीय प्रहरीद्वारा नेपाल प्रहरीमा खबर

कमल पन्थी

(बर्दिया) — भारत उत्तरप्रदेश राज्य मुर्तिहा कोतवालअन्तर्गत गोपिया व्यारेज नजिक एक महिला मृत अवस्थामा फेला परेकी छन् । अन्दाजी २५ वर्षकी गोरो वर्णकी पहिचान नखुलेकी महिलाको शव भेटिएपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएका छन् । बायाँ हातमा सेतो धातुको अंगुठी लगाइकी ती महिला नेपाली भए जानकारी गराउन नेपाल प्रहरीलाई भनिएको छ । 

ZenTravel


प्रहरीका अनुसार दुबै कानमा पहेलो रिङ लगाइकी छिन्। प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बर्दियाबाट महिला हराएको कुनै जानकारी नभए पनि अन्य जिल्लाको हुन सक्ने भन्दै सबै युनिटमा जानकारी गराइएको जनाए। आइतबार बिहान ८ बजे उक्त शव फेला परेपछि स्थानीयवासीले भारतीय प्रहरीलाई खबर गरेका थिए। भारतीय प्रहरीले शवबारे दुई दिनसम्म आसपासका क्षेत्रमा आफन्तीको खोजतलाश गर्दा नभेटिएपछि नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएका हुन्।

भारतीय प्रहरीले घटनाका सम्बन्धमा अपराध अज्ञातसम्बन्धी मुद्दा दायर गरेको जनाएको छ।


प्रकाशित : माघ ७, २०७६ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कर्णालीले धार फेरेपछि पानी संकट

कमल पन्थी

बर्दिया — कर्णाली नदीले धार परिवर्तन गरेपछि पूर्वी भँगालो गेरुवामा पानी सुक्न थालेको छ । पानी कम भएपछि मनाउ, खैरीचन्दनपुर, पाताभार र पशुपतिनगर गाउँमा सिँचाइ प्रभावित भएको छ । हिउँदका बेला पाँच हजार हेक्टर जमिनमा सिँचाइ अपुग भएको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन आयोजनाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदी सुक्न थालेपछि वन्यजन्तुलाई समेत पानीको अभाव भएको छ ।

अहिले धार परिवर्तन भएर कैलालीतर्फ धेरै पानी बग्न थालेपछि बर्दियातर्फको गेरुवा सुक्न थालेको हो । जलस्तर घटेपछि दुवैतर्फ कर्णालीको पानी बाँडफाँट गर्न लागिएको व्यवस्थापन कार्यालयले जनाएको छ । गेरुवा नदी बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गरेको छ । त्यसैले यो वन्यन्तुका लागि पानीको स्रोत हो । पानी सुक्न थालेपछि वन्यजन्तु प्रभावित हुन थालेका हुन् । निकुञ्जको लालमटियामा गिटी–बालुवा थुप्रिएकाले नदीले धार परिवर्तन गरेको हो । पानी थुन्ने गिटी–बालुवा हटाएर निकास दिनका लागि राष्ट्रिय निकुञ्ज विभागले बर्दिया राष्ट्रिय निकुञ्जलाई स्वीकृति दिएको थियो । निकुञ्ज हुँदै बग्ने गेरुवामा पानी सुकेका कारण वन्यजन्तु मर्कामा परेपछि विभागले निकास दिन निर्देशन दिएको हो । पहिले गेरुवामा प्रशस्त पानी बग्थ्यो ।

एक दशकयता विभिन्न समयमा आएको बाढीले गिटी–बालुवा थुपार्न थालेपछि त्यसको प्रभाव अहिले देखिन थालेको हो । गत वर्षबाट गिट्टी र बालुवा हटाउन थालिएको निकुञ्जका रेन्जर सन्देश पौडेलले बताए । ‘ठूलो परिमाणका गिट्टी, ढुंगा र बालुवा हटाउन सम्भव भएन,’ उनले भने, ‘निकुञ्जका कर्मचारीको प्रयासले मात्र सम्भव छैन । यसका लागि ठेक्कामार्फत हटाउनु पर्छ ।’ गेरुवाको तटीय क्षेत्रमा बाघ, गैंडा, चित्तल, हात्तीलगायत वन्यजन्तुको बासस्थान रहेको उनले सुनाए ।

एक दशकअघिसम्म गेरुवामा धेरै पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । गेरुवाअन्तर्गत कोठियाघाटमा एक हजार मिटर लामो पुल निर्माण गरिएको छ । अहिले पुलमुनि पानी छैन । राजापुरलाई बाँकी जिल्लासित जोड्न कोठियाघाटमा हिउँदमा पन्टुन पुल जडान गरिन्थ्यो । अहिले त्यहाँको पानी हेर्दा कर्णाली नदी भएको पत्याउन मुस्किल पर्छ । जलस्तर उच्च हुँदा डल्फिन विचरण गरेको देखिन्थ्यो । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार मनाउघाट, गोलाघाट र कोठियाघाटमा डल्फिन विचरण गर्थे । अहिले यहाँ रहेका चारवटा डल्फिन कर्णालीको दौलतपुर र पाताभार क्षेत्रमा विचरण गर्न थालेको निकुञ्जले जनाएको छ ।

विगतमा गेरुवामा र्‍याफटिङ सञ्चालन हुँदै आएको थियो । जलस्तर घटेपछि बन्द भएको छ । अहिले पश्चिम कर्णालीमा सञ्चालनमा रहेको निकुञ्जले जनाएको छ । गेरुवामा पानी कम भएपछि निकुञ्जले एक दर्जनभन्दा बढी ठाउँमा सोलार प्रविधिबाट वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरेको छ ।

कैलालीको रानीजमरा सिँचाइ आयोजना सम्पन्न भएपछि हिउँदमा गेरुवामा पानी सुक्ने र त्यसले वन्यजन्तु उच्च जोखिममा पर्ने वन्यजन्तु विशेषज्ञ डा. शान्तराज ज्ञवालीले बताए । हिउँदमा आवश्यक पर्ने पानीका बारेमा अध्ययन गर्न जरुरी भएको उनले बताए ।
कटान रोक्न, पर्याप्त सिँचाइ सुविधा पुर्‍याउन र वन्यजन्तुलाई पानीको असुविधा हुन नदिन अहिलेको धार परिवर्तन गर्न जरुरी रहेको नदी व्यवस्थापन आयोजना प्रमुख केदार श्रेष्ठले बताए । कटान र बाढीको समस्या समाधान नगरे जोखिम बढ्ने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सुनाए ।

प्रकाशित : माघ ६, २०७६ १२:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×